खेलकुदशनिबार, माघ ३, २०७१
धावक सञ्जयलाई सरकारको ७ लाख सहयोग
लामो दूरीका अल्ट्र म्याराथन धावक एवम् कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितलाई सरकारले रु ७ लाख दिने निर्णय गरेको छ ।
दौडका माध्यमबाट विश्वका सातै महादेशका सातै उच्च पर्वत आरोहण गर्ने तयारीमा रहेका पण्डितलाई २ माघमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।
उनी २५ फेब्रुअरी २०१५ मा दक्षिण अमेरिकाको सर्वोच्च शिखर माउन्ट आकान्कागुवा आरोहण गर्ने तयारीमा छन् । उनले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमान्जारो, युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रुस तथा अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजिएस्कोको सफल आरोहण सम्पन्न गरिसकेका छन् ।
नेपाली खेलाडीहरु तथा आरोहीको प्रतिनिधित्व गर्दै विश्वका सबै अग्ला टाकुराको आरोहण गरी कीर्तिमान कायम गर्न लागेको हुँदा नेपाल सरकारले प्रोत्साहनस्वरुप उक्त रकम प्रदान गरेको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए ।
पण्डितले यसअघि दौडिएरै ६ घन्टा १३ मिनेटमा अफ्रिकाको सर्वोच्च शिखर आरोहण गरेका थिए । दक्षिण एशियाली तीव्रगतिका धावक आरोहीका रुपमा कीर्तिमान कायम गर्दै उनले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रुसको टाकुरोमा ६ मिनट ०३ सेकेन्डसम्म अर्धनग्न भएर अारोहण गरेका थिए भने अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्कोमा दौरासुरुवालसहित आधार शिविर थे्रडबोदेखि चुचुरोसम्म उल्टो हिँडेर आरोहण गर्दै अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका थिए ।
सरकारको सहयोगसँगै नेपाल सरकारलाई धन्यवाद दिँदै कीर्तिमानी आरोहणमा थप हौसला मिलेको भन्दै धावक सञ्जयले खुसी व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
