थप समाचारशनिबार, माघ ३, २०७१
कोइरालाले भने, ‘दाहालजीले धेरै कुराउनुभयो’
संविधानका विवादित अन्तरवस्तुमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।
संविधानसभा भवन नयाँबानेश्वरमा छोटो अवधि बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित भएका कारण बैठक लामो समयसम्म बस्न सकेन ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले बैठकपछि सञ्चारकर्मीलाई बैठकमा दाहाल अनुपस्थित भएका कारण धेरै बेर चल्न नसकेको बताए ।
उनले भने, “हामीले दाहालजीलाई धेरै समय कुर्यौँ, उहाँ नआउनुभएपछि हामी राष्ट्रपति कहाँ जान हिड्यौँ । ”
राष्ट्रपति रामवरण यादवले संविधान लेखनका बारेमा भइरहेका प्रयासका बारेमा नेका, नेकपा एमाले, राप्रपालगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमाओवादी र मधेशकेन्द्रित दलका शीर्ष नेतासँग परामर्श गर्दैछन् ।
संविधानका मुख्य अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बारेमा सहमति खोज्न भन्दै तीन दलको बैठक अपराह्नका लागि तय भएको थियो ।
बैठकमा एमाओवादीका तर्फबाट नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित थिए ।
बैठकमा नेकाका तर्फबाट सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णवहादुर खड्का, नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावलको सहभागिता थियो ।
बैठकपछि एमाओवादीका नेता भट्टराईले बैठक भोलि ४ माघ बिहान ८ बजे बस्ने गरी स्थगित भएको सञ्चारकर्मीलाई जानकारी दिए ।
दलहरुबीच संविधानका अन्तरवस्तुमा सहमति जुट्न नसक्दा ८ माघमा संविधान जारी हुने सम्भावना न्यून हुँदै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
