खेलकुदआइतबार, माघ ४, २०७१
नेपालले नेदरल्याण्डसलाई हरायो
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले नेदरल्याण्डसलाई हराएको छ । नामिबियामा ४ माघमा भएको खेलमा नेपालले नेदरल्याण्डसलाई २ विकेटले हराएको हो ।
डिभिजन–२ को लिग चरणमा नेपालले पहिलोपटक जीत हात पारेको हो । अघिल्लोपटक डिभिजन–२ को लिग चरणका कुनै पनि खेल नजितेको नेपाल ३ माघ २०७१ मा युगाण्डासँग २ रनले पराजित भएको थियो ।
नेदरल्याण्डसले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदै भेट्टायो । नेपालले ४९.३ ओभर खेल्दै ८ विकेटको क्षतिमा १५९ रन बनायो ।
नेपाललाई जिताउन शरद भेष्वाकरले महत्वपूर्ण योगदान दिए । अन्तिम ओभरसम्म टिकेर खेलेका उनले महत्वपूर्ण २४ रन बनाए ।
सातौं नम्बरमा आएका सोमपाल कामीले धरमराएको नेपाली ब्याटिङलाइनलाई जीततर्फ अग्रसर गराएका थिए । उनले २४ रनको योगदान गरे ।
नेपालका लागि सर्वाधिक विनोद भण्डारीले ३५, कप्तान पारस खड्काले १९ रन, सुवास खकुरेल १५ र सागर पुनले १३ रन बनाए ।
बसन्त रेग्मीले ६, शक्ति गौचनले नटआउट २ र नरेश बुढाऐरले १ रन जोडे । ज्ञानेन्द्र मल्लले रन जोड्ने मौका नै पाएनन् ।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डसले ४९.५ ओभरमा अलआउट हुँदै १५८ रन जोडेको थियो । नेपालका सोमपाल कामी, कप्तान पारस खड्का, बसन्त रेग्मी र शक्ति गौचनले दुई–दुई विकेट लिए ।
नेदरल्याण्डसका दुई खेलाडी रन आउट भए । प्रतियोगितामा दुई विकेट झारेका बसन्त रेग्मीले आईसीसी विश्व लिग क्रिकेटमा किर्तिमानी १०० विकेट लिएका छन् ।
जीतसँगै नेपालले प्रतियोगितामा २ अंक जोडेको छ । नेपालले ६ माघ दिउँसो सवा एक बजे क्यानडासँग खेल्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
