खेलकुदमंगलबार, माघ ६, २०७१

नेपालको शानदार जीत

हिमालखबर

नेपालको शानदार जीतआईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले क्यानडालाई हराएको छ । नामिबियामा ६ माघमा भएको खेलमा नेपालले क्यानडालाई ७ विकेटले हराएको हो ।

टस जितेर क्यानडाले दिएको ११५ रनको लक्ष्य नेपालले २३.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले शानदार जीत हात पार्‍यो ।

पारसले ७७ रनमा आउट भए भने ज्ञानेन्द्र ३२ रनमा नटआउट रहे । नटआउट रहेका विनोद भण्डारीले एक रनको योगदान गरे ।

नेपालले शुरुवातमै दुई विकेट गुमाएको थियो । नरेश बुढाएर र सुवास खकुरेल रन नै नबनाइ आउट भएका थिए ।

जीतसँगै नेपालको चार अंक भएको छ । यसअघि ४ माघमा नेपालले नेदरल्याण्डसलाई २ विकेटले हराएको थियो ।

नेपालले ७ माघ दिउँसो नेपाली समय अनुसार सवा एक बजे आयोजक नामिबियासँग भिड्नेछ ।

———————————————————————————————–

 

क्यानडाद्वारा नेपाललाई ११५ रनको लक्ष्य

डिभिजन टुः नेपालको राम्रो प्रदर्शन, क्यानडा दबाबमाआईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जीतका लागि ११५ रनको लक्ष्य पाएको छ । नामिबियाको विन्डहोकमा चलिरहेको खेलमा ४९.२ ओभरमा अलआउट हुँदै क्यानडाले ११४ रन बनायो ।

वानडे विश्वकप खेलिसकेको क्यानडालाई रोक्ने क्रममा सबै नेपाली बलरले कसिलो बलिङ गरेका थिए । नेपालका लागि करन केसीले महत्वपूर्ण पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै २६ रन खर्चिए ।

कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दै एक विकेट लिए । दुई मेडन बलिङ गरेका उनले १७ रन मात्र खर्च गरे ।

पहिलो ओभरमै विकेट खसाएका सोमपाल कामीले दुई विकेट लिए । १० ओभरमा दुई मेडन राखेका उनले २८ रन दिए ।

बसन्त रेग्मीले १० ओभर बलिङ गरेर एक मेडन राख्दै २४ रन खर्चिए । सागर पुन र शक्ति गौचनले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

नेपाली बलरहरुले शुरुवातमा कसिलो बलिङ गरेपछि क्यानडाली ब्याट्सम्यानले टिकेर खेलेका थिए ।

केहिबेरमै नेपालले जबाफी ब्याटिङ गर्दैछ । नेदरल्याण्डसलाई २ विकेटले जितेको नेपाल क्यानडालाई पनि हराएर महत्वपूर्ण अंक बटुल्ने दाउमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>