ब्लगमंगलबार, माघ ६, २०७१

हिसिलाकै अगाडि तथानाम गाली गर्दै परिचयपत्र थुतियो

dewaki

३० दलीय मोर्चाले ६ माघमा गरेको बन्दको रिपोर्टिङ्गका लागि बिहान ८ बजे नै घरबाट निस्कें । बन्दका दिनमा सञ्चारकर्मीका सवारी साधन निर्वाध आवागमन गर्न दिइने भनिए पनि मनमा केही संशय भने थियो– विहानै एउटा पत्रिका लुटिएको खबरले ।

बिजुलीबजारमा प्रहरीको घेरा तोड्दै आन्दोलनकारी ।

बिजुलीबजारमा प्रहरीको घेरा तोड्दै आन्दोलनकारी ।

पत्रकारको परिचय टाढैबाट स्पष्ट हुन सकोस भनेर फोटो पत्रकारले लगाउने हरियो ज्याकेट लगाएँँ, पत्रकार परिचयपत्र झुण्ड्याएँ र क्यामरा बोकेर स्कुटर हुइँकाएँ । बिहानको सडक सुनसान थियो ।

नयाँ बानेश्वर, संविधानसभा भवन वरपरको निषेधित क्षेत्रमा सशस्त्र प्रहरीको पहरा थियो । बिजुली बजारमा एमाओवादी नेता अग्नि सापकोटा र रेणु दाहालको नेतृत्वमा कार्यकर्ताहरु पर्यटकीय बस, कुटनीतिक नियोगका गाडीहरुलाई सोधपुछ गर्दै अघि बढ्न संकेत गरिरहेका थिए ।

माइतीघरबाट रत्नपार्क, त्रिपुरेश्वर, कलंकी सातदोवाटो हुँदै कोटेश्वर पुगें । सडकमा विस्तारै बन्दकर्ताको उपस्थिति बढ्दै थियोे । कोटेश्वरमा एउटा जुलुस देखियोे । ‘ए ढुङ्गा हान्, स्कुटर समात्’ भन्ने आवाज सुनिए पनि आक्रमणै गर्ने आँट भने गरेनन् ।

जुलुशमा कार्यकर्ताले सञ्चारकर्मीलाई तथानाम भन्दा हिसिला यमीले रोक्नुको साटो नारा लगाइरहिन् ।

जुलुशमा कार्यकर्ताले सञ्चारकर्मीलाई तथानाम भन्दा हिसिला यमीले रोक्नुको साटो नारा लगाइरहिन् ।

करिब ११ बजेतिर नयाँ बानेश्वरबाट कार्यालयतर्फ जाँदै गर्दा विजुली बजारमा देखिएको अघिको शान्त जुलुस उग्र भइसकेको रहेछ । नयाँ बानेश्वरतर्फ अगाडि बढ्न खोजेको जुलुसलाई प्रहरीले नियन्त्रण गर्न सडकको छेउमा काँडे तार राखेर रोकिरहेको थियो । त्यहाँ एमाओवादी नेतृ हिसिला यमी पनि थिइन् ।

नेताहरु पनि जुलुसमा भएकाले ढुक्क थिएँ, केही दिनअघि फ्रान्समा पत्रकारमाथि भएको आक्रमणको निन्दा एमाओवादी नेता बाबुराम भट्टराईले गरेका थिए, उनकै पत्नी र एमाओवादी नेतृ यमी पनि त्यहाँ भएकोले म ढुक्क हुँदै अघि बढें तर, जुलुस एक्कासी ममाथि जाइलाग्यो ।

‘ए समात् समात्’ भन्दै उनीहरुले स्कुटरमा लात्तीले हान्न थाले । त्यसपछि शुरु भयो उनीहरुको गाली र आक्रमण । एक जनाले मेरो घाँटीमा झुण्डाइएको परिचयपत्र थुत्यो र च्यातिदियो ।

६ माघमा पत्रकारमाथि आक्रमण र दुर्व्यवहार गर्ने एमाओवादी कार्यकर्ता राजन गौतम ।

६ माघमा पत्रकारमाथि आक्रमण र दुर्व्यवहार गर्ने एमाओवादी कार्यकर्ता राजन गौतम ।

“हिंडेर रिपोर्टिङ्ग गर्न सक्दैनस्, तेरो स्कुटर जलाउन पर्छ,” अर्को एकजनाले मेरो स्कुटरमा लाठी प्रहार गर्न थाल्यो । म अत्तालिएँ र चुपचाप रहें ।

त्यसपछि झन अराजक हुँदै गएका उनीहरुले यमीकै उपस्थितिमा अश्लिल गाली गर्न थाले ।

राष्ट्रिय झण्डा अंकीत टिसर्ट लगाएर नारा लगाइरहेकी यमीकै अगाडि माउण्टेन टिभीकी क्यामेरापर्सन सिर्जना कुईकेल र रिपोर्टर शर्मिला थापामाथि पनि त्यसैबेला दुर्व्यवहार भयो ।

त्यसअघि त्यहाँ दुईवटा मोटर साइकल जलाइएको रहेछ, दुई जना पत्रकारहरु कुटिइसकेका रहेछन् । एक जना पत्रकारलाई जोगाउन खोज्ने सशस्त्र प्रहरीका सइ खगेन्द्र भट्टको दाँत भाँच्चिएको र टाउको फुटेको पनि थाहा पाएँ ।

त्यहाँ थप पत्रकारहरु र सर्वसाधारण जम्मा हुन थालेपछि म फुत्किएर कार्यालय पुगें । तर मेरो घाँटीबाट परिचय पत्र थुत्ने त्यो मानिसको हेराई मैले विर्सन सकिन । उसले महिलाजाति माथि नै आक्षेप लगाएर गरेको गाली कानमा बजिरह्यो ।

अफिसमा रिपोर्ट गरेपछि म त्यो मानिस खोज्न फेरि निस्किएँ । शायद उसले मलाई विर्सिसकेको थियो कि, विजुली बजारमा नारा लगाउँदै गरेको उसको तस्वीर खिच्दा पोज दिइरह्यो ।

बन्दकर्ताले बिजुलीबजारमा जलाएको मोटरसाइकल ।

बन्दकर्ताले बिजुलीबजारमा जलाएको मोटरसाइकल ।

उनी तत्कालिन वाइसीएलका केन्द्रीय सदस्य र नुवाकोटका एमाओवादी कार्यकर्ता राजन गौतम रहेछन्– * अपहरण र ज्यान मुद्दामा जेल परिसकेका ।

केही वर्षअघि प्रहरीवृत्त बालाजुले उनलाई पक्राउ गरी सार्वजनिक गरेको उनलाई देखि जान्नेहरुले जानकारी दिए ।

त्यहाँबाट फर्कंदै गर्दा माइतीघरमा बन्द गराउनेहरुले बन्दको विरोध गर्नेमाथि ढुंगा प्रहार गर्दै लखेटन थालेका थिए । त्यसबेला प्रहरीले हस्तक्षेप गरी बन्दको विरोध गर्ने समूहलाई अर्को बाटो जान राजी गरायो ।

हामी रिपोर्टर र फोटो पत्रकारहरु यस्तो बेला यसै पनि जोखिममा त हुन्छौं नै । तर, आफूलाई परिवर्तनकारी र अग्रगामी दाबी गर्नेहरुले यस्तो बर्बर काम गरेको देख्दा भने उनीहरु राजनीतिक व्यक्तिहरु नै हुन ? शंका लाग्छ ।

* सम्पादित

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...