खेलकुदशुक्रबार, माघ ९, २०७१
क्रिकेटमा नेपाली टाेलीलाई कीर्तिमानको ओइरो
नेपाल अाजकाे खेलमा केन्यालाई हराउन सके सजिलै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन एकमा पुग्नेछ भने पराजित भए अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
डिभिजन एकमा पुगेपछि नेपालका लागि विश्वकप खेल्ने र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने ढोका खुल्नेछ। विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल नखेले पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानको भने ओइरो लगायका छन्।
एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा विपक्षीलाई सबैभन्दा कम योगफलमा समेट्ने र सबैभन्दा थोरै बलमा विजय लक्ष्य पूरा गर्ने कीर्तिमान नेपालको नाममा छ।
सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यान्मारलाई १० रनमा अलआउट गरी दुई बलमा लक्ष्य पूरा गरेको थियो। यी दुवै प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेट (दुई देशबीच हुने) मा विश्व कीर्तिमान हो।
यसैगरी, सन् २००८ मा जर्सीमा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन पाँचमा नेपालका महबुब आलमले मोजाम्बिकविरुद्ध एउटै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।
एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म अरू कुनै पनि बलरले एउटै पालीमा १० विकेट लिन सकेका छैनन्।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा एउटै पालीमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान श्रीलंकाका चामिन्दा भासको नाममा छ।
सन् २०१२ मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन चारमा नेपालका स्पिनर शक्ति गौचनले डेनमार्कसँगको खेलमा १० ओभर बलिङ गर्दै आठ मेडन राखी दुई रनमात्र खर्चिएर तीन विकेट लिएका थिए।
एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय खेलमा शक्तिको यो बलिङ इकोनोमी (कम्तीमा पाँच ओभर बलिङ गरेर प्रतिओभर दिएको रन औसत) विश्व कीर्तिमान हो। त्यो खेलमा शक्तिको बलिङ इकोनोमी ०.२० थियो।
यसैगरी, सन् २०१४ को आईसीसी टीट्वेन्टी विश्वकपमा नेपालले प्रतियोगिताभर एउटा पनि वाइड र नो बल फ्याँकेन। यो आफैंमा विश्व कीर्तिमान थियो।
नेपालले टीट्वेन्टी विश्वकपमा तीनवटा खेल खेलेको थियो। सोमपाल कामी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा १० औं नम्बरमा आएर सर्वाधिक रन जोड्ने खेलाडी हुन्।
उनले केहीअघि भएको हङकङविरुद्धको प्रतियोगितामा १० औं नम्बरमा आएर ४० रन जोड्दै यस्तो कीर्तिमान बनाएका थिए।
गत वर्ष बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको थियो।
नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन दुईमा नेपालका स्पिनर वसन्त रेग्मीले विश्वस्तरको सफलता हात पारे।
टेस्ट मान्यताप्राप्त १० टोलीबाहेक विश्वभरका विभिन्न देशले खेल्ने वल्र्ड क्रिकेट लिगमा एक सय विकेट पूरा गर्ने उनी पहिलो बलर बने।
यसबाहेक एसियाली स्तरको प्रतियोगितामा पनि नेपालले थुप्रै कीर्तिमान राखेको छ। एसीसीले सञ्चालन गर्ने उमेर स्तर र सिनियर प्रतियोगिता जित्ने नेपाल एकमात्र टोली हो।
यसैगरी लगातार चारपटक एसीसी यू-१९ विजेता बनेर नेपालले कीर्तिमान बनाएको छ। अहिले विश्वमा आईसीसीका १० पूर्ण सदस्य, ३८ एसोसिएट सदस्य र ५८ वटा एफिलियट सदस्य छन्।
अन्नपूर्णपाेष्टबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
