रमझमशनिबार, माघ १०, २०७१
अमिताभ भेटिए कि उनको क्यारेक्टर ?
होटेल सन–एण्ड–स्याण्डको ढूसी गन्हाउने ठूलो हलभित्र पसेपछि लाग्यो, यहाँका पर्दा र गलैंचा नफेरिएको वर्षौं भइसकेको छ, न त यहाँ लामो समयदेखि ताजा हावा र घाम नै पसेको छ ।
यद्दपी बाहिर मुम्बईको न्यानो घाम र सामुन्ने विस्तृत अरब सागर फैलिएको थियो । तर, भित्र उदास अँध्यारो ।
अवसाद उत्पन्न गराउला जस्तो घुप्प अँध्यारो ठाउँमा ‘शताब्दीका महानायक’ सँग मेरो भेटघाट तोकिएको थियो ।
तर उनीसँग भेट्ने म एक्लो भने थिएन । हलका विभिन्न स्थानमा ‘षमिताभ’ फिल्मको पोष्टर भएका ‘पार्टिसन’ राखेर अस्थायी टेलिभिजन स्टूडियो बनाइएको थियो । भिडियो क्यामरा तम्तयार थिए ।
इन्टरभ्यू गर्नेहरु र उनका सहयोगी यताउता गर्दै ‘उनको’ प्रतिक्षामा थिए ।
प्लीज कीपक्वायट !
एउटा कुनामा बनेको काउण्टरपछि चिया सर्भ गर्ने दुईजना केटा (इलाहाबादी) आपसमा जिस्किंदै थिए । मैले सोधें, “तिमीहरु उनलाई भेट्दैनौ ?”
दुवै केटाहरुल कसलाई वा के भनेर सोध्ने आवश्यकता ठानेनन् । स्पष्ट थियो मैले कसका बारेमा भनेको हुँ । जवाफ आयो, “यहाँ दिनकै हजारौं आउँछन्, दिक्क लाग्छ अब त ।”
त्यसैबेला अर्को कुनाबाट कसैले हप्काएको जस्तो स्वरमा भन्यो, “प्लीज कीप क्वायट!”
महानायक अझै आइपुगेका थिएनन् तर, उनी आउने बेला भयो भन्ठानेर सतर्क माहोल बनाउने कोशिस गरिएको थियो ।
पब्लिक रिलेसन्सका नर्भस युवतीहरु मुस्काउने कोशिसमा थिए र त्यही बेला पूरै हलमा एउटा हलचल भयो– जस्तो कसैले एउटा कुनाबाट अर्को कुनासम्म करेन्ट प्रवाह गरेको होस ।
“हि इज कमिंग,” पीआरकी एउटी केटीले सुसेलीको भाकामा भनी । चारैतिर मौनता फैलियो । तर यो ‘फल्स अलार्म’ साबित भयो ।
तौलेर बोल्ने शैली
फेरी शुरु भएको गुनगुन त्यसबेला शान्त भयो, जब चहकिलो सेतो पठानी सूट लगाएका, एउटा काँधमाथि कालो शल, अंगरक्षकहरुबाट घेरिएका, सेता फ्रेन्च दाह्री, चश्मा लगाएका अग्लो कदका ती व्यक्ति अँध्यारो लाग्ने हलमा प्रवेश गरे ।
त्यसपछि सबै कुरा मसिनकोे शैलीमा हुन थाल्यो । राम्रो रिहर्सलपछि मञ्चमा प्रस्तुत गरिएको नाटक जस्तै । युवाअवस्थाबाट शुरु भएको एउटा यस्तो नाटक जुन मञ्चन गर्दा गर्दै ऊ, बुज्रुक हुनपुग्योे ।
म अमिताभ बच्चनलाई भेट्दै थिएँ । उनी आए र हाम्रो अन्तर्वार्ताका लागि राखिएको सोफामा बसे । सामुन्ने टिभी क्यामरा तयार थियो , उनी ‘शट’ दिन तयार थिए ।
त्यसदिन अमिताभ बच्चनलाई ‘षमिताभ’ को प्रमोशनका लागि एकपछि अर्को गर्दै धेरै अन्तर्वाता दिनु थियो । र उनी त्यती मात्रै बोले जती फिल्मका प्रोड्यूसरले तय गरेका थिएः कथाको झलकमात्रै भन्नु, के भयो, र किन भयो यस्ता प्रश्नमाथि कुनै चर्चा नगर्नु ।
म प्रश्न गर्दैछु र उनी उत्तर दिंदै छन् । निकै सोचेसम्झेकोे शैलीमा । तौलेर बोलिएका वाक्य, अनुहारमा लगातारको गम्भीरता । अन्य कुनै भाव गल्तीले पनि आउँदैन । एकदम सपाट अनुहार ।
मेरो प्रश्न जारी छः ‘षमिताभ’ मा तपाइँ सेतो छरपस्ट दाह्री–कपालमा देखिनु भएको छ, यो चरित्रलाई तपाइँले कसरी निर्वाह गर्नुभयो ? एउटा दृष्यमा तपाइँ कमोड सीटमा बसेर गीत गाउँदै गरेको देखिनुहुन्छ, यो दृष्य कुन सन्दर्भमा हो ? तपाइँले आफूलाई ‘एंग्री यंगम्यान’ को इमेजबाट बाहिर निकाल्न के गर्नुभयो ?
आफूलाई एउटा कलाकारका रुपमा कसरी ‘री डिफाइन’ गर्नुहुन्छ ? अमर सिंहसँग तपाइँको सम्बन्धमा चिसो किन आयो ? मिडियाँसँग चिसो–तातो सम्बन्धको कारण ? इलाहबाद छँदा बाल्यकालका यादहरु ?
प्रोग्रामिङ गरिए जस्तो जवाफ
उनका उत्तरहरु पनि कम्प्यूटरको शैलीमा जारी छनः आज यो फिल्मकै बारेमा कुरा गर्दा राम्रो होला । कमोड सिटमा बसेर गाएको दृष्य निरर्थक छैन, फिल्म हेर्नुभयो भने बुझ्नुहुन्छ । अब उमेर भैसक्यो, जस्तो रोल पाइन्छ त्यस्तैमा चित्त बुझाउँछु । अमर सिंह मेरा मित्र हुन र सँधै रहिरहनेछन् । राजनीति मलाई आउँदैन । मिडियासँग सँधै न्यानो सम्बन्ध छ । बाल्यकालका सम्झना त हुन्छन् नै ।
कहींकतै कुनै आवेश छ्रैन, न त उत्तेजना नै । न नोष्टालजिया । न खुशी न त हाँसो नै । न कुनै कठोरपना । न उतार, न चढाउ । लाग्छ सबै कम्प्युटरले तय गरिदिएको होस, प्रोग्रामिङ गरिएजस्तो ।
म सोचिरहन्छु, के अमिताभ बच्चनले जिउँदा मानिसहरुसँग कहिल्यै पनि आफ्ना मानवीय भाव ल्याउँदैनन् होला ? के आफ्ना मानवीय भावना जोगाएर राखेका होलान– क्यामरा सामू प्रकट गर्नका लागि ?
क्यामरा अगाडि उनले के के मात्रै गरेनन– रोए, कराए, गाए, चिल्लाए, प्रेम गरे, छेडछाड गरे, चोरी गरे, हत्या गरे, फिल्मी आमा–बाबुको मृत्युमा बिलाप गरे, अझ भनूँ आफ्नै मृत्युलाई पनि क्यामरासामू बाँचे । एकपटक होइन कैयौं पटक ।
आजसम्म मैले अरुजस्तै सिनेमाको पर्दामा त्यो मानिसलाई देखेको थिएँ जो अमिताभ बच्चन हुँदैनथ्यो । ऊ एउटा चरित्र हुन्थ्यो जसलाई अमिताभ बच्चन नाम भएको कलाकारले जिउने कोशिश गरिरहेको छ । हामी धेरैजसो त्यो कलाकारको व्यक्तित्व र उसको चरित्रमा मिसमास गर्छाैं । र अपेक्षा गर्छौ, त्यो व्यक्ति पर्दा बाहिर निक्लेर पनि आफ्नो कुनै फिल्मी चरित्रको जस्तो व्यवहार गरोस– हाम्रा अगाडि नाचोस, गाओस, रोओस, चिल्लाओस वा कुनै न कुनै रुपमा ‘परफरमेन्स’ गरिरहोस ।
अफशोच यस्तो हुँदो हो
एउटा सुपर स्टार फिल्मको पर्दाबाट बाहिर निक्लेर कलाकारको जस्तो नभई एउटा मानिसको जस्तो व्यवहार ग¥यो भने दर्शकहरुका लागि त्यो स्वीकार्य हुँदैन । पत्रकार पनि मूलतः फिल्मको दर्शक नै त हुन्छ ।
म चाहन्थें अमिताभ बच्चन मेरो पाँच सेकेन्डको प्रश्नमाथि दुई मिनटसम्म बोलुन् । आफ्नो मन–मुटु खोलिदिउन् । उनले मेरो पुठ्ठामा प्याट्ट हान्दै भनुन्– ओ हो भाई, इलाहाबादको त कुरै अर्को !! आफ्नो सुखदुख बाँडुन् ।
ओहो, मैले यो के सोचें ?
मसँग अरु पनि समय थियो तर, अमिताभ बच्चनको तौलिएकोे (र कैयौंपटक उनले बोलीसकेको ) जवाफ आखिर कती सुन्नु ? मैले २० मिनटमा नै टुंग्याउँदै ‘शताब्दीका महानायक’ सँग विदा भएँ । पीआरकी केटी अचम्भित थिई– मैले किन पूरा समय लिएन भनेर ।
होटेल सन–एण्ड–स्याण्डको त्यो हलमा ढुसीको गन्ध र अँध्यारो अँझै पनि उस्तै थियो । म बाहिर आएँ जहाँ माघ महिनाको पारिलो घाम र सामुन्ने अरबसागरको खुल्ला विस्तार थियो ।
राजेश जोशी, बीबीसी हिन्दीबाट अनुदित