खेलकुदआइतबार, माघ ११, २०७१
‘ब्याड लक’ ब्याटिङ
–सन्त गाहा मगर
३ माघमा नामिबियाको विन्डहोकमा प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको युगाण्डासँग भोगेको दुई रनको पराजय नेपाली क्रिकेट टीमका लागि निकै महँगो सावित भयो । तीन महीनाअघि मलेशियामा सम्पन्न डिभिजन–थ्रीको फाइनलमा ६२ रनले पराजित युगाण्डा नै नेपालका लागि आईसीसी विश्व क्रिकेट लीग डिभिजन–वान यात्रामा बाधक बन्यो । समूह चरणमा नेपालले आयोजक नामिबियालाई तीन, नेदरल्याण्डस्लाई दुई र क्यानाडालाई सात विकेटले हराएको थियो । ९ माघमा केन्यासँग पाँच विकेटले पराजित भएपछि समान ६ अंक भए पनि नेपाल ‘नेट रनरेट’ मा नेदरल्याण्डस् भन्दा ०.२५४ ले पछाडि पर्यो । र, दोस्रो पटक डिभिजन–टु खेलेको नेपालका लागि रेलिगेसनमा नपर्नु नै उपलब्धि हुनपुग्यो ।
यसअघि डिभिजन–थ्री च्याम्पियन बनेर न्युजिल्याण्डमा भएको ‘वल्र्डकप क्रिकेट क्वालिफायर २०१४’ मा सहभागी १० टीममध्ये नेपाल नवौं स्थानमा रहेको थियो । त्यस आधारमा हेर्दा यसपटक समूह चरणको एउटा खेल मात्र जित्दा पनि नेपालका लागि ऐतिहासिक उपलब्धि हुन्थ्यो । तर नेपाल डिभिजन–वान लक्ष्यसहित नामिबिया पुगेको थियो । राष्ट्रिय टीममा सहायक प्रशिक्षक रहिसकेका जगत टमटा नेपालको ब्याटिङ लाइनमा पर्याप्त सुधार आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, “खेलाडीको पर्फमेन्स नराम्रो भन्न मिल्दै मिल्दैन, तर ब्याट्सम्यानहरूले अझै कडा परिश्रम गर्नुपर्छ ।”
केन्या विरुद्धको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लको ९१ र पारस खड्काले क्यानाडा विरुद्ध बनाएको ७७ र नामिबिया विरुद्ध जोडेको ६४ रन नै नेपाली ब्याट्सम्यानका उच्चस्कोर हुन् । केन्यालाई १९५ रनको विजय लक्ष्य दिएको नेपाललाई क्यानाडाले ११५, नामिबियाले १४३ र नेदरल्याण्डस्ले १५९ र युगाण्डाले १४७ रनको लक्ष्य दिएका थिए । प्रशिक्षक टमटाको बुझाइमा नेपालले केन्या विरुद्ध जोडेको १९४ रन बाहेक बाँकी सबै लक्ष्य सम्मानजनक थिएनन् । जबकि, नेपालले त्यसमध्ये युगाण्डासँग पाएको १४७ रनको लक्ष्य पनि भेट्टाउन सकेन । उनी बलिङ–फिल्डिङ राम्रो भएकैले विपक्षीले ठूलो स्कोर बनाउन नसकेको बताउँछन् ।
हुन पनि समूह चरणका पाँच खेलमा विपक्षी टीमलाई सस्तोमा समेट्ने क्रममा यही प्रतियोगिता मार्फत राष्ट्रिय टीममा डेब्यु गरेका करण केसीले नौ, सोमपाल कामीले आठ, बसन्त रेग्मीले सात, पारस खड्का र शक्ति गौचनले ६÷६ र सागर पुनले दुई विकेट लिएका थिए । नेपालले पाँच खेलमा विपक्षी टीमका सातजना खेलाडीलाई रनआउट ग¥यो । नेदरल्याण्डस् विरुद्धको खेलमा प्रतियोगितामा आफ्नो छेटौं विकेट लिएका बसन्त रेग्मीले विश्व क्रिकेट लिगमा १०० विकेटको कीर्तिमान बनाए । यस्तै क्यानडा विरुद्धको खेलमा कप्तान खड्काले एक हजार रन पु¥याए ।
नेपाल क्रिकेट संघ (क्यान) मा आवद्ध रेफ्री विजयकुमार झा यसपटक ओपनिङ ब्याट्सम्यानहरू जम्न नसकेको बताउँछन् । सागर पुन, सुवास खकुरेल, विनोद भण्डारी, शरद भेषवाकर जस्ता खेलाडीप्रति राखेको अपेक्षा पूरा हुन नसकेको उनको बुझाइ छ । ब्याटिङबाटै आएका बलर शक्ति गौचन र गत मंसीर पहिलो साता कोलम्बोमा हङकङ विरुद्धको खेलमा कीर्तिमानी ४० रन जोडेका सोमपाल कामी पनि ब्याटिङमा सपोर्टर बन्नुपर्ने रेफ्री झाको सुझाव छ ।
डिभिजन–टुको दोस्रो स्थानमा समेत नपुगेपछि प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहादेशीय चार दिवसीय खेलबाट बन्चित भए पनि टीम नेपालले प्रशस्त संभावना देखाएको प्रशिक्षक टमटा बताउँछन् । उनी खेलाडीहरूलाई आफूभन्दा बलियो टीमसँग पटक–पटक अभ्यास खेल खेलाउनुपर्नेमा जोड दिंदै भन्छन्, “खेलाडीले अझै पनि पर्याप्त एक्सपोजर पाएका छैनन् । सँगसँगै क्यानले घरेलु प्रतियोगिता र भौतिक पूर्वाधारमा जोड दिनुपर्छ ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
