अर्थ/बजारसोमबार, माघ १२, २०७१
आयल निगममा नयाँ कार्यकारी निर्देशक
सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई हटाएर गोपालबहादुर खड्कालाई नियुक्त गरेको छ । १२ माघमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले निगममा नयाँ कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । पछिल्लो समय आपसी खट्पट बढेपछि मन्त्री थापाले भट्टलाई हटाउने प्रस्ताव अघि बढाएको स्रोतको भनाइ छ ।
थापाले नै सात महीना अघि खानी तथा भूगर्भ विभागका उपसचिव भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए । तर, भट्टले निगमभित्र सुधारको काम थालेपछि उद्योगी तथा व्यवसायी र निगम कर्मचारीको एक समूहले उनलाई हटाउन दबाब दिंदै आएको स्रोतले बतायो ।
भट्टले उद्योगीको दबाबका बाबजुद लामो समयसम्म ग्याँस कोटा नबढाउने अडान लिंदै आएका थिए भने अनियमितता गर्नेलाई कारबाही प्रक्रिया पनि अघि बढाएका थिए ।
नयाँ नियुक्त कार्यकारी निर्देशक खड्का भने सडक विभागका इन्जिनियर हुन् । विभागमा काज मिलाएर आएका निगम कार्यकारी निर्देशक खड्का मन्त्री थापा निकट मानिन्छन् ।
अर्थमन्त्री रामशरण महतले बोर्ड गठन आदेशको अनुसूचीबाट संस्थानहरुलाई हटाएपछि बिना प्रतिस्पर्धा संस्थानहरुमा राजनीतिक नियुक्तिका बाटो खुलेको हो ।
यस्तै, आपूर्तिमन्त्री थापाकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले नेशनल ट्रेडिङको महाप्रबन्धकमा पूर्णशंकर बसी र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धकमा कुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।