अन्तर्वार्ता/विचारसोमबार, माघ १२, २०७१
‘फूटबलको स्तर बढ्छ’
पहिलोपटक ‘होम एण्ड अवे’ संरचनामा ७ माघदेखि शुरु भएको कुल पुरस्कार राशि रु.२ करोड पुर्याइएको राष्ट्रिय लीग फूटबलबारे आयोजक अखिल नेपाल फूटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठसँग गरिएको कुराकानीः
निर्धारित समयभन्दा ढिलो गरी लीग शुरु हुनुको कारण के हो ?
गृहकार्यमै धेरै समय लाग्यो । जिल्ला जिल्लामा गएर भौतिक पूर्वाधार, टीम, खेल्ने वातावरण जस्ता न्यूनतम मापदण्डबारे अध्ययन र छनोटमा परेका टीमको अनुगमनपछि मात्र लीग खेल्ने टीमको टुंगो लागेको हो । दशरथ रंगशालाको मर्मतले गर्दा पनि केही ढिलो हुनपुग्यो ।
यो लीग पहिलेभन्दा के फरक छ ?
यसअघिका लीगमा राजधानीका टीम बढी थिए, खेल पनि सबै राजधानीमै खेलाइन्थ्यो । अब राजधानीका थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, सेना, प्रहरी र सशस्त्र प्रहरीका तीन विभागीय टीमसहित झापा, मोरङ, रुपन्देही र कैलालीले समेत प्रतिस्पर्धा गर्नेछन् । राजधानीमा ४० र चार जिल्लामा ८–८ का दरले ३२ खेल हुनेछन्, राजधानीमा खेल भइरहँदा जिल्लामा पनि प्रतिस्पर्धा हुने गरी तालिका बनाइएको छ । राजधानीका क्लब प्रतिस्पर्धा गर्न जिल्लामा जानेछन्, जिल्लाका क्लब राजधानी आउने छन् ।
यसले घरेलु फूटबलको संरचना र विकासमा के फरक ल्याउँछ ?
अब लीगबाट जन्मने नयाँ प्रतिभालाई समेत राष्ट्रिय टीममा छनोटको अवसर मिल्नेछ । जिल्लामा रंगशाला लगायतका भौतिक संरचना विकासमा मद्दत पुग्नेछ । यसबाट समग्र फूटबल खेलकै स्तरवृद्धि हुने हाम्रो विश्वास छ ।
यस्तो लीगका लागि अहिले सबैतिर पूर्वाधार छ र ?
सबै ठाउँमा गएर अनुगमन गरेको प्राविधिक टोलीको सिफारिशकै आधारमा ती जिल्लामा लीग शुरु गर्न लागिएको हो । अवे खेलका लागि राजधानी आउने तथा बाहिर जाने टीमलाई यातायात, खाने–बस्ने लगायतको व्यवस्था एन्फाले नै गर्नेछ ।
फूटबल विकासका लागि एन्फासँग नयाँ योजना के छन् ?
लीगपछि हामी युवा खेलाडी लक्षित परियोजनामा केन्द्रित हुनेछौं । राष्ट्रिय खेलाडीलाई बढीभन्दा बढी एक्स्पोजर दिलाउने कुरामा जोड दिनेछौं ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
