थप समाचारबुधबार, माघ १४, २०७१
यातना दिने आमाविरुद्ध छोरीको उजुरी
चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिएकी छिन् ।
तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी हुन् । उजुरीका आधारमा प्रहरीले १४ माघमा तीनजनालाई पक्राउ गरेको छ ।
तल्लो जातको केटासँग गएको भन्दै विगत तीन वर्षदेखि यातना खप्दै आएकी जुटपानी–७ सूर्यपुरकी २१ वर्षीया सङ्गीता लामालाई आमाले कुटपिट गरी घाइते नै बनाएपछि उनले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बताइन् ।
सङ्गीतालाई आमा धनमायाँ तामाङ, दिदी शर्मिला र गाउँकी अर्की एक महिलाले सामूहिक रुपमा १२ माघ साँझ कुटपिट गरेको सङ्गीताले बताएकी छन् ।
त्यसपछि १३ माघमा उनलाई उपचारका लागि भरतपुर मेडिकल कलेज ल्याइएको थियो ।
चिकित्सकले उनको खुट्टाको गोलीगाँठामा हड्डी फुटेको भन्दै एक महिना आराम गर्नुपर्ने बताएका छन् । उनको टाउकोमा समेत चोट लागेको छ ।
चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले उजुरी दर्ता भएको र घटनामा संलग्न भनिएका तीनजनालाई पक्राउ गरिएको जानकारी दिए ।
चार वर्षअघि पदमपुर–४ की सङ्गीताले जुटपानी–७ का मनोज परियारसँग प्रेमविवाह गरेकी थिइन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
