रिपोर्टबिहीबार, माघ १५, २०७१
व्यावसायिक घरानाको आधुनिक अस्पताल
व्यावसायिक घराना ज्योति समूहले काठमाडौंमा सुविधासम्पन्न ग्राण्डी सिटी हस्पिटल सञ्चालनमा ल्याएको छ।
काठमाडौंको जमलस्थित ज्योति समूहको व्यावसायिक भवनमै सञ्चालनमा ल्याइएको ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालि थाइल्याण्डको समितिभेज अस्पतालको व्यवस्थापन परामर्शमा शुरू गरिएको हो।
अस्पतालले सेवा दिन शुरू गरिसके पनि औपचारिक उद्घाटन भने समितिभेजकै आग्रहमा फागुनको अन्तिममा हुनेछ। ज्योति समूहका अध्यक्ष रूप ज्योति भन्छन्, “अत्याधुनिक उपकरणसहितको विशेषज्ञ सेवा र उचित शुल्क अस्पतालको विशेषता हो।”
यसअघि धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलको स्थापनामा सहकार्य गरिसकेका ज्योति लगानीकर्ताबीचको फरक विचारले गर्दा नयाँ अस्पताल शुरू गरेको बताउँछन्। भन्छन्, “मुनाफा कमाउने हाम्रा अरू धेरै व्यवसाय भएकाले अस्पतालबाट नाफाको अपेक्षा गरेका छैनौं, विदेशमा पाइने उच्चस्तरको स्वास्थ्य सेवा नेपालीले यहीं पाउन सकून् भन्ने उद्देश्य हो।”
देश–विदेशका थुप्रै अस्पतालको अनुभव बटुलेका उनले अस्पतालले दिने सुविधामा कुनै सम्झौता नगर्ने र बिरामीलाई अनावश्यक परीक्षण गराएर खल्ती रित्याउने काम पनि नहुने बताए।
अस्पतालमा रहेको फोर–डी अल्ट्रासाउण्ड मेशीनबाट गर्भमा रहेको बच्चाको तस्वीर नै प्रिन्ट गर्न सकिने, डिजिटल एक्सरेबाट शरीरका भित्री अंगको तस्वीर दुरुस्तै आउने र मिर्गौलाको पत्थरी फोडेर निकाल्ने अत्याधुनिक लिथोटि्रप्टर मेशीनले न्यूनतम क्षतिमा शतप्रतिशत सफल परिणाम दिने समूहको दाबी छ।
त्यसैगरी फोक्सो सम्बन्धी जाँचका लागि पीएफटी मेशीन, ‘बडी मास क्यालकुलेशन’ सहितको तौल लिने मेशीन, लेजर हेयर रिमुभर र आकस्मिक कक्ष पनि अत्याधुनिक उपकरणयुक्त रहेको ज्योति बताउँछन्। भन्छन्, “एउटा स्टेथेस्कोप वा थर्मामिटरमा पनि हजारौं खर्च गरेका छौं।” घर र जग्गाबाहेक अस्पतालमा अहिलेसम्म रु.३० करोड लगानी भइसकेको समूहले जनाएको छ।
विदेशका चिकित्सकको आकर्षण
समितिभेजको प्रत्यक्ष निगरानीमा सबै विभागमा अत्याधुनिक उपकरण, चिकित्सकका लागि आवश्यक सुविधा र अन्तर्राष्ट्रिय स्तरको साउण्डप्रुफ तथा सेन्ट्रल एसीसहितको अस्पताल भएपछि विदेशमा बसेर काम गरिरहेका कुशल चिकित्सक पनि अस्पतालमा आउन थालेका छन्।
“सुविधा नहुँदा राम्रा डाक्टरले आफ्नो पूर्ण क्षमता उपयोग गर्न पाइरहेका छैनन्, हामीले अस्पतालको निर्माण, उपकरण खरीद र चिकित्सकीय सुविधामा कुनै सम्झौता गरेका छैनौं”, ज्योति भन्छन्, “सिंगापुरदेखि अमेरिकासम्म रहेका नेपाली चिकित्सकहरूले चासो देखाएका छन्।”
यसअघि ग्रान्डी इन्टरनेशनल अस्पताल मातहत रहेको यो अस्पतालले स्वायत्त भएपछि आकस्मिक उपचार दिनुपर्ने बिरामीलाई घटनास्थल वा घरमै गएर सेवा दिन र काठमाडौंका साँघुरा गल्लीभित्र सेवा पुर्याउन मोटरलेन्स (मोटरसाइकलमा एम्बुलेन्स) सेवा पनि शुरू गरेको छ।
ठाउँको अभावमा २५ बेडमा सीमित अस्पताल विस्तार गर्ने योजना रहेको उनी भन्छन्, “अस्पताल विस्तारका लागि समितिभेजसँग प्रस्ताव गरेका छौं, उनीहरू नै यहाँ आइदिए झनै राम्रो हुनेछ।”
टेस्टट्यूब बेबीका लागि जर्मनीका चिकित्सक मार्फत सफलतादर उच्च रहेको सेवा दिइरहेको अस्पतालमा निसन्तान दम्पतीले टेस्टट्यूब मार्फत सन्तान जन्माउन रु.९५ हजार मात्रै खर्च गरे पुग्छ।
अस्पतालको आम्दानीलाई ट्रष्टमा राखेर त्यसबाट आवश्यक बिरामीलाई सम्पूर्ण खर्चमा ४० प्रतिशतसम्म छूट दिने व्यवस्था गरिएको ज्योतिले बताए। उनले भने, “कस्तो बिरामीलाई छूट दिने भन्ने निर्णय लिन छुट्टै समिति बनाएका छौं।”
सञ्जीव शर्मा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
