थप समाचारशुक्रबार, माघ १६, २०७१
सुदुरको गाविस व्यास जहाँ मानिस छैनन्
दार्चुलाको सदरमुकाम खलङ्गाबाट २८ कोष उत्तरमा पर्ने नेपाल, भारत र चीनको त्रिदेशीय सिमानामा रहेको व्यास गाविस अहिले मानव बस्तीविहीन भएको छ ।
मौसमअनुसार मानव बस्ती बस्ने व्यास गाविसमा अहिले हिउँ पर्ने तथा बढी चिसो हुने हुँदा यहाँका बासिन्दा दार्चुला सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्छन् । व्यास गाविसमा रहेका मुख्य तिङ्कर र छाङ्रु गाउँमा अहिले मानिस छैनन् ।
जम्मा १७४ घरधुरी रहेको व्यास गाविसको राष्ट्रिय जनगणना २०६८ का अनुसार कुल जनसङ्ख्या ५५६ छ ।
व्यास गाविसमा रहेका मुख्य तिङ्कर तथा छाङ्रु गाउँका बासिन्दा गत कात्तिक अन्तिम तथा मङ्सिर पहिलो साता व्यासबाट सदरमुकाम खलङ्गामा झरिसकेका छन् ।
सौका समुदायको बसोबास रहेको तिङ्कर गाउँ छाङरु गाउँभन्दा पनि माथि पर्छ । मानिस नै नभएपछि हिउँदमा त्यहाँ खेति हुने कुरै भएन ।
गाउँलेहरुले गाउँ छाडेसँगै प्रहरी चौकीका प्रहरीहरु पनि सदरमुकाम झर्छन् ।
उक्त गाविसमा रहने प्रहरी अहिले तल झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
तिङ्करका स्थानीयवासी आमप्रकाश तिङ्करीले कात्तिक महिनाको अन्त्यतिरै चिसो बढ्ने भएकाले गाईवस्तु, भाँडाकुँडा तथा लत्ताकपडासहित सौका समुदाय सदरमुकाम झरेको बताए ।
उनका अनुसार वैशाख पहिलो सातातिर सदरमुकाम खलङ्गाबाट व्यासतिर मानव बस्ती सर्ने गर्छ । यसरी आउने जाने क्रमलाई सौका समुदायको भाषामा ‘कुञ्जा सार्ने’ भनिन्छ ।
नेपालका जनजातिमा पर्ने सौका समुदायको आफ्नै पहिचान, भाषाशैली, संस्कृति तथा रहनसहन भए पनि व्यास गाविसका सौका समुदायको पीडा अझै कष्टकर छ ।
नेपालबाट व्यास गाविसलाई जोड्ने बाटोघाटो त छैन भने अन्य सुविधाको कुरा गर्नु व्यर्थ जस्तै हुन्छ । सौका समुदायले सदरमुकाम आउन जान पनि महाकाली तरेर भारतको बाटो भएर आउनुपर्ने बाध्यता छ ।
यसरी पूरै गाउँ नै गाईवस्तुसहित कुञ्जा लिएर दार्चुला सदरमुकाम आउनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर भारतको बाटो भएर आउनुपर्ने बाध्यता रहेको तिङ्करीले बताए ।
हाल जिविस र भारतका भन्सारले ६ महिनाका लागि अनुमति दिने गरेको उनले बताए । व्यासका सौका समुदायले वर्षेयाममा फापर, आलु र उवाको खेती गर्छन् भने भारी बोक्नका लागि भेडा र चौँरीगाई पाल्ने गर्छन् ।
उनीहरु चीनको स्वशासित क्षेत्र तिब्बतसँगै जोडिएको ताक्लाकोट बजारबाट व्यापार पनि गर्ने गरेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
