ब्लगशनिबार, माघ १७, २०७१

मजलिसको आँखा–७ (१९९० को भैंचालो)

कमल दीक्षित

नेपालको इतिहास खोतल्ने काममा लागेको यो स्तम्भ आज एक पटक नितान्त निजी जस्तो कुराको उल्लेखबाट शुरू गर्दैछु।

२०३९ वैशाख २४ गतेको ‘गोरखापत्र’ को जन्मजयन्ती विशेषाङ्कमा मेरो यौटा लेख छापिएको थियो नब्बे साल माघ २ गतेको ‘गोरखापत्र’ कसरी छापियो होला भन्नेमा शङ्का गरेर लेखिएको।

त्यो लेख मेरै ‘चार कन्था’ भन्ने कितापमा फेरि छापियो २०५३ सालमा। इतिश्री यत्ति नै हो त्यसको भन्ठानेको थिएँ मैले। नभन्दै, कतै त्यस लेखको या त्यसले उठाएका प्रश्नको चर्चै भएन।

१९९० सालको भूकम्पले क्षतिग्रस्त काठमाडौं, भोटाहिटीका घरहरू।

१९९० सालको भूकम्पले क्षतिग्रस्त काठमाडौं, भोटाहिटीका घरहरू।

कसैले पनि पढेनछ त्यो भैहाल्यो भन्ने लागेको थियो। तर, आशै नगरेको ठाउँ, कल्पनै नगरेको दिशाबाट अस्ति मैले यौटा ‘मेल’ पाएँ “दीक्षितजी, तपाईंको शङ्का एकदमै जायज छ” भन्ने आशयको।

मलाई आश्चर्यमिश्रित आनन्द आयो! पढ्नेहरूलाई पनि खुलदुल लाग्यो होला– के रहेछ त्यो त्यस्तो शङ्का? भन्ने। त्यही भनूँ भनेर लागेको हुँ।

नब्बे सालमा त्यत्रो भूकम्प आयो, काठमाडौं खाल्टामा मात्र चार हजारभन्दा बढी मान्छे मरे। साप्ताहिक गोरखापत्रमै काम गर्ने पनि त यसमा कोही परे होलान् तर त्यसको दुई हप्ताभित्रै १६ गतेको गोरखापत्र निस्केरै छाड्यो, अझ् ९ गतेको अङ्कलाई पनि समेटी संयुक्ताङ्क भएर।

त्यही समाचार र त्यही सम्पादकीय जस्तो गरी गोरखापत्रले लेख्यो “प्रिय ग्राहक महाशय दैवको प्रभाव चर, अचर, जड, चेतन सबैमा पर्दोरहेछ। यो माघ २ गते २ बजेको महाभयङ्कर दुर्घटनाको प्रभाव यस ‘गोरखापत्र’ मै पनि पर्न गै गोरखापत्र छापाखाना अफिस घरैसमेत भत्की प्रेस, केस आदि थिचिई मिचिई सो घरले भयङ्कर रूप धारण गरी सोभित्र पस्न, जानै समेत नभै प्रेस, कम्पोजिङका काम सबै रोकिन गएको हुनाले ३९–४० संख्याका ‘गोरखापत्र’ प्रत्येक रूपमा ग्राहक पाठकहरूका करकमलमा ठीक ठीक समयमा सुशोभायमान हुन सकेन। एकै रूपमा अहिले सेवामा प्राप्त भै ईश्वरसँग भक्तिपूर्वक शान्ति–प्रार्थना गरौं भनी सबैसँग संजलिक प्रार्थना गर्दछ।”

यति मात्र होइन, गोरखापत्र संस्थानमा खुद माघ २ गतेको मिति परेको संख्या ३८ को ‘गोरखापत्र’ समेत मौजूद थियो। त्यही देखेर मैले शङ्का उठाएको थिएँ २०३९ सालमा। यसरीः

१९९० साल २ माघमा प्रकाशित गोरखापत्रले २ माघकै दिउँसो २ बजे आएको महाभूकम्पको समाचार छापेको अंक!

“गोरखापत्रको नियमितता, अङ्क नटुटाउने सेवाभावको मनग्ये तारीफ गरिसकेपछि अब यो माघ २ गतेको ‘न्यूज आइटेममा चाहिं अलि मीनमेख गरिहेर्न मन लाग्छ। त्यो ‘आज’ भनेर गोरखापत्रले लेखेको कति सद्दे कति कीर्ते हो? आज २ बजे भैंचालो गयो। शहरभर हाहाकार छ।

गोरखापत्रका संवाददाता पश्चिमा दैनिकहरूका ‘न्यूज रिपोर्टरहरू’ जस्तै समाचारको खोजीमा दौडिहाले त? शङ्का लाग्छ। नेपालको काठमाडौंको सयौं वर्ष पुराना दरबार, मन्दिरहरू भत्केका आफैंले देखे त उनले? घुमेर पशुपति आदि केही मन्दिरहरू चाहिं नभत्केका पनि फेला पारे? कुन बेलासम्म समाचार संकलन गर्दै हिंडे उनी? अचम्म लाग्छ। समाचार कसलाई बुझाए उनले? कल्ले कम्पोज गरुर्‍यो? ‘अफिस घर भत्की… सो घरमा भित्र पस्न जानै समेत नभै प्रेस कम्पोजका काम सबै रोकिन गएको’ अवस्थामा यो त्यही दिन छापियो कसरी यस्ता प्रश्नले पिरोल्न थाल्छन्।

नियमित देखिने उत्साहमा केही कीर्ते काम पनि भयो कि ‘गोरखापत्र’ मा भन्ने शङ्का लाग्न थाल्छ। ‘गोरखापत्र’ को त्यसपछिका अरू ६ अङ्क तीनौटा अङ्क संयुक्ताङ्कका रूपमा (३९–४०, ४१–४२ र ४३–४४) निस्केको देख्दा पनि यो शङ्काले टाउको अलि माथि उठाउन खोज्छ। शङ्काले उठाको टाउको लट्ठीले बस्दैन, समाधान दिनुपर्छ। तर त्यो कल्ले दिन्छ अहिले? यस्तो यस्तो भएको थियो भनिदिने को छ होला?”

मैले ‘नियमितताको त भूतै लागेको हो गोरखापत्रलाई’ पनि भनेको हुँ, अझ् अघि २२ सालमै ‘गोरखापत्र’ को जन्मजयन्ती विशेषाङ्कमा। त्यो कुन सन्दर्भमा भनिएको थियो भन्ने थलो यो होइन। बुझनै चाहनेले त मेरो गोरखापत्र सम्बन्धी पुस्तक ‘कागतीको सिरप’ (२०२६) हेरे हुन्छ।

अन्त्यमा अब एक पटक माथि शुरूमा भनेको कुरातिर फर्केर मलाई त्यो मेल पठाउने व्यक्तिलाई सम्झू। आफूलाई ‘केटो’ भन्ने बुटवलका ती युवकको नाम रहेछ किरण बिक। आफ्नो नातिजस्तो एक जना मान्छेले त्यति टाढाबाट यति माया र श्रद्धा गरी मेल पठाएको देख्दा कृतकार्य भएजस्तो लागेको छ, लेखेको कुरा कसैले कुनै बेला त पढ्दो रहेछ नि भनेर सन्तोष पनि!


(यस स्तम्भको नाम दरबार हाईस्कूलको दक्षिणपट्टि रहेको ‘मजलिसघर’ बाट लिइएको छ। यसमा आउने तस्वीरहरू मपुपु–का हुन्। – सं.)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...