अन्तर्वार्ता/विचारसोमबार, माघ १९, २०७१

‘केही महीनामा संविधान जारी हुन्छ’

हिमालखबर

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग हिमालखबरले गरेको कुराकानीः

तस्वीरः बिक्रम राई

तस्वीरः बिक्रम राई

प्रस्ताव निर्माण समिति गठन गर्ने प्रस्ताव आफैंले किन राख्नुभयो ?

सहमति गर्न नसकेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका अन्तरवस्तुमा प्रश्नावली पनि नबनाई प्रतिवेदन बुझायो । त्यसपछि दलहरूलाई सहमति गराउन म आफैं खटिंदा पनि निष्कर्ष ननिस्किएपछि प्रस्ताव समितिको अवधारणा आयो । केही दलले आफैंले गरेको प्रतिबद्धता विपरीत संविधानसभा अवरुद्ध गरिरहेपछि म आफैंले प्रस्ताव राख्नु पर्‍यो ।

विपक्षीहरू संविधानसभा अध्यक्षले सत्ताधारी दलको निर्देशनमा काम गरे भन्दैछन् नि ?

समिति गठनको प्रस्ताव मेरै हो, तर संवाद समितिको प्रतिवेदनलाई कांग्रेस–एमालेले मस्यौदा समितिमा र एमाओवादी–मधेशी दलहरूले पुनः संवाद समितिमै पठाउन चाहेको बेला मैले मध्यमार्ग पहिल्याएको हुँ । कांग्रेस–एमालेलाई संवाद समितिको बैठकका संयुक्त प्रस्ताव लैजानु हुँदैन, समितिमा ४३ जनाको हस्ताक्षर गलत हो, पुष्पकमल दाहालले बोलाएको राजनीतिक समितिको बैठक बहिष्कार गर्नु राम्रो होइन भनेर मैले नै भनेको थिएँ । एमाओवादीलाई मोर्चा बनाएर आन्दोलन नगर्नु मात्र भनेको थिएँ । एमाओवादीले भनेको नमान्दैमा म एकपक्षको हुन्नँ ।

संसदमा जस्तो अल्पमत–बहुमत हुने गरी संविधानसभामा समिति गठन गर्नु राम्रो हो र ?

अन्तरिम संविधान, संविधानसभा नियमावली र स्थापित मान्यता बमोजिम नै समिति गठनको प्रस्ताव गरेको हुँ । सहमति नभए प्रक्रियाबाट संविधान बनाउने भनेर दलहरूले संविधान, नियमावली, कार्यतालिका बनाएका हुन्, मैले होइन । मैले उहाँहरूले बनाएको कानून पालना गरेको हुँ । अर्को कुरा, मैले सहमति पहिलो प्राथमिकता हो भन्दै आएको छु । सहमतिको संभावना समाप्त भइसक्यो भन्ने पनि होइन ।

एमाओवादी र मधेशकेन्द्रित दलले मागेको १० दिन थप समय दिंदा के फरक पर्थ्यो ?

दलहरूले सहमति गरेनन् भन्दैमा संविधानसभा अध्यक्षले बैठक नबोलाई बस्न मिल्दैन । अध्यक्ष ३१ दलको हो, कुनै दलको चाहनामा बैठक रोक्ने कुरा हुँदैन । संविधानसभाका सबै दलको सभाध्यक्ष भएकैले समिति गठनको प्रस्ताव लगेको हुँ । यसलाई सकारात्मक रुपमा हेर्ने हो भने समिति बनेपछि सहमतिलाई पनि अप्रत्यक्ष सहयोग पुगेको छ । दिनकै कुरा पनि १० मागेकोमा ११ दिएको छु । समितिको म्याद पाँच दिन छ भने छैटौं दिनमा बैठक बोलाएँ । दलहरूले सहमति गरे भने समितिको काम जहाँ पुगेको छ, त्यहीं रोकिन्छ ।

अब प्रक्रिया कसरी अगाडि बढ्छ ?

नयाँ कार्यतालिका बनाउनुपर्छ, तर सहमति भएन भने पनि संविधान निर्माण प्रक्रिया अब रोकिंदैन । जनताको धारणा लिने, छलफल गर्ने पर्याप्त समय छ । केही महीनामा सबै प्रक्रिया पूरा गरेर संविधान जारी हुन्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>