थप समाचारसोमबार, माघ १९, २०७१
नेपाली सन्दर्भमा गान्धी
–शंकर तिवारी
हिन्दू कट्टरपन्थी नाथुराम गोड्सेले महात्मा गान्धीको प्राणान्त गरिदिएको १६ माघ २०७१ मा ६७ वर्ष पुग्यो । जीवनभर सत्य र अहिंसाको प्रतीक बनेका गान्धीलाई जबर्जस्त हिंसाको शिकार बनाइयो । गान्धीले भारत स्वतन्त्र नहुँदै सय वर्षभन्दा धेरै बाँच्ने इच्छा व्यक्त गरेका थिए, तर धार्मिक वैमनस्यताको जगमा प्राप्त स्वतन्त्रताले उनलाई लग्यो ।
विशाल भारतबाट पाकिस्तान छुट्टियो । पाकिस्तानका हिन्दूहरू भारत आउन चाहे भने भारतका मुसलमानहरू पाकिस्तान जान चाहे । यो बाध्यताको रोजाइ थियो । अघोषित नरसंहारबाट लाखौं मान्छे मारिए । नियन्त्रण बाहिरको यस्तो अवस्थाबाट गान्धी धेरै आहत र निराश थिए । त्यही माहोलमा भएको गान्धीको हत्याले विश्वलाई स्तब्ध बनायो । गान्धी हत्यापश्चात् धार्मिक दंगाहरू विस्तारै साम्य हुन थाले । उनका उत्तराधिकारीहरू बढी गम्भीर बनेर प्राप्त स्वतन्त्रतालाई संस्थागत गर्नेतिर लागे ।
संसारभर मनाइने गान्धीको ६७औं स्मृति दिवस नेपालको लागि अहिले बढी सान्दर्भिक बनेको छ । गान्धीले सशस्त्र विद्रोह विनै राजनीतिक परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेका थिए । अहिंसालाई शक्तिको स्रोत बनाएका उनले अंग्रेज साम्राज्यलाई शान्त–भद्र रूपमा भारत छोड्न आह्वान गरे । भारतीय स्वाधीनता संग्राममा सन् १९२० देखि हस्तक्षेप थालेर १९४७ सम्म अविच्छिन्न नेतृत्वमा रहेका गान्धी १५ अगस्त १९४७ मा भारत स्वतन्त्र भएको घोषणा हुँदा दिल्लीको लालकिल्लामा भाषण गर्न उपस्थित नभई धार्मिक दंगा भड्किएको कलकत्तामा हिंसाको डढेलो रोक्न खडा थिए । उनका लागि भारतको स्वाधीनताभन्दा धार्मिक दङ्गा रोक्नु ठूलो कुरा बनेको थियो ।
नेपाली राजनीतिको सन्दर्भमा गान्धीलाई २००७ सालको सेरोफेरोबाट सम्झनुपर्छ । बीपी कोइरालालाई काठमाडौंको जेलबाट छुटाउनु पर्यो भनेर कृष्णप्रसाद भट्टराईले गान्धीलाई तीन पटक भेटेका थिए । तर, गान्धीले लेखेको चिठी नेपाल पठाउनु पहिले नै बीपी रिहाइको खबर दिल्ली पुगेको थियो । २००७ सालको क्रान्तिको तयारीका क्रममा बीपीले आशीर्वाद लिन गान्धीलाई भेटेको प्रसंग पनि उल्लेख्य छ । बीपीले नेपाली प्रजातान्त्रिक आन्दोलनको लागि सहयोग माग्दा गान्धीले ‘भारतका शासक त मेरा कुरा सुन्दैनन् भने नेपालका राजाहरूले के मान्लान् र !’ भनेका थिए । बीपीले ‘हामीलाई तपाईंको नैतिक समर्थन भए पुग्छ’ भनेपछि गान्धीले ‘त्यो त प्रचुर मात्रामा छ’ भनेका थिए ।
भारतीय आकाशवाणीबाट गान्धी हत्याको समाचार प्रसारित हुँदा बीपीको हातमा ग्रिनेड थियो । दुई वटा सत्याग्रहको असफलतापछि कांग्रेस पार्टीले सशस्त्र विद्रोह गर्ने निश्चय गरिसकेको थियो । नेपालको राजनीतिक इतिहासमा उच्च स्थानमा रहेको २००७ को सशस्त्र क्रान्तिमा कहीं पनि सर्वसाधारण निशाना बनेनन्, कसैले मानवढाल बन्नुपरेको थिएन । तर, बीपीले क्रान्तिको छोटो बाटो रोजेर आफूले गल्ती गरेको बताएका छन् । तर, नेपाली कांगे्रसले २०१८ र २०२८ सालमा पनि सशस्त्र विद्रोहको असफल कोशिश गर्यो । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्केपछि भने हिंसाको राजनीतिलाई तिलान्जली दियो ।
राजनीतिमा साधन र साध्यको बहस निरन्तर जारी छ । गान्धीले आफ्नो राजनीतिक जीवनमा साधनको पवित्रतालाई अक्षुण्ण राखे । गान्धीले लेखेको एक मात्र पुस्तक हिन्द स्वराज हो, जसमा उनले अहिंसा र सत्याग्रह मात्र स्वतन्त्रता प्राप्तिको बाटो हुनसक्ने ठोकुवा गरे । प्रायशः विद्रोहीसँग भन्दा राज्य पक्षसँग धेरै हतियार हुन्छ । राज्यसँग नभएको हतियारले मात्र राज्यलाई हटाउन सकिन्छ भन्ने गान्धीको विश्वास थियो । गान्धीको त्यही विश्वासबाट अंगे्रजहरू हायलकायल थिए ।
गान्धी राजनीतिक नेतृत्वमा अल्पसंख्यक/उत्पीडितहरू प्रतिनिधित्व हुनुपर्छ भन्नेमा सचेत थिए । स्वतन्त्र भारतको पहिलो मन्त्रिपरिषद्मा हिन्दू महासभाका श्यामाप्रसाद मुखर्जीसँगै दलितहरूको तर्फबाट डा. भीमराव अम्बेडकरलाई मन्त्री बनाइयो । अम्बेडकर त गान्धीकै सिफारिशमा संविधान मस्यौदा समितिका अध्यक्ष नै भए । संयोगबाटै किन नहोस्, नेपालमा पनि डा. रामवरण यादव राष्ट्रपति र सुवास नेम्वाङ संविधानसभा अध्यक्ष छन् । नेपाली कांग्रेस र नेकपा एमालेले यो कुराको हेक्का राखेर मधेशकेन्द्रित दलहरूलाई सरकारमा सहभागी मात्र गराउन सकेको भए विपक्षी मोर्चाको आवाज अहिले जति चर्को हुने थिएन । संविधान निर्माण प्रक्रिया पनि फराकिलो हुन्थ्यो ।
मतभेद र मनभेद
आजकल आन्दोलन गर्नेहरूले विपक्षीलाई शत्रुको रूपमा लिने गर्छन् । कम्युनिष्ट पार्टीहरूमा त यो जन्मजात मनोरोग जस्तै भएको छ । गान्धी भने प्रतिपक्षी समूहलाई आदर र मित्रवत् व्यवहार गर्नबाट कहिल्यै चुकेनन् । उनले आन्दोलनमा घृणा होइन प्रेम र करुणाको पक्षलाई सामेल गरेका थिए । त्यही कारण सबैको आदरणीय बनेका गान्धीको द्वन्द्व निरुपण शैली ‘मतभेद’ र ‘मनभेद’ को सिद्धान्तमा आधारित थियो । उनी विपक्षीसँग मतभेद त राख्थे, तर मनभेद गर्दैनथे । उनी भन्थे, “पापीलाई घृणा गर, पापलाई होइन ।”
पाकिस्तानका संस्थापक जिन्नादेखि अंग्रेज भाइसराय माउन्टवेटनसम्म गान्धीका अभिन्न मित्र थिए । गान्धीले भगत सिंह, वीर सावरकर र सुवासचन्द्र वोसको राष्ट्रप्रेमको मुक्तकण्ठले प्रशंसा गरे । संक्रमणकालीन नेपालको नेतृत्व हाँकिरहेका नेताहरूले पनि गान्धीको ‘मतभेद’ र ‘मनभेद’ बुझेर अगाडि बढ्नुपर्छ, विपक्षीलाई निषेध होइन, सधैं स्वागत गरेर ।
जवाहरलाल नेहरूसँग थुप्रै मतभिन्नता हुँदाहुँदै पनि गान्धीले प्रधानमन्त्रीमा नेहरूलाई नै प्रस्ताव गरे । यसरी मतभेदका बाबजूद एउटा लक्ष्य प्राप्तिका लागि बृहत्तर समुदायलाई आफूसँगै हिंडाउँथे, गान्धी । धार्मिक दङ्गा फैलिरहँदा १९४८ जनवरीमा गान्धी अन्तिम पटक अनशन बसे– पाकिस्तान अलग हुँदा भारतले दिने भनेको ५५ करोड दिलाउन । गान्धी सिद्धान्ततः भारत विभाजनको विपक्षमा थिए, तर उनी कुनै पनि सरकार आफ्नो प्रतिबद्धताबाट हट्नु हुँदैन भन्थे ।
२०६२/६३ को जनआन्दोलन यता नेपाल सरकारले पनि थुप्रै समूहसँग अनेक सहमति गरेको छ । विशेषतः मधेशी, जनजाति, दलित, अल्पसंख्यक र पिछडा वर्गसँग गरिएका सहमतिहरूलाई सरकारले सत्यतथ्य, धरातलीय यथार्थ र सामाजिक सदभाव नखल्बलिने आधारमा ती समुदाय आश्वस्त हुने गरी कार्यान्वयन गर्नुपर्छ । दलित समुदायलाई अंग्रेज सरकारले दिएको अलग प्रतिनिधित्वको अधिकारले सामाजिक सद्भाव खल्बलिन्छ भनेर गान्धी त्यस विरुद्ध अनशन बसेका थिए । उनले सदैव मध्यमार्ग रोजे, कानून हातमा लिनेहरूको विरोध गरे ।
गान्धी ‘गाउँले सत्ताका’ पक्षपाती थिए । नेपालमा संघीयता र शासकीय स्वरुपको बहस चलिरहँदा गाउँ अर्थात् तल्लो इकाइलाई अधिकारसम्पन्न पार्ने मुद्दा ओझेलमा परेको छ । आफूले उठाएका मुद्दा भन्दा आफ्नो व्यक्तिगत सुरक्षा र लाभमा आसक्त नेपाली नेताहरूले गान्धीको सम्झना मात्र गरे राजनीतिक गतिरोध फुकाउन, संविधान लेख्न र तल्लो तहलाई अधिकारसम्पन्न बनाउन सहज हुनेछ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट