थप समाचारसोमबार, माघ १९, २०७१
यातना दिने प्रहरीलाई कारबाही सिफारिश
बाँके जिल्ला अदालतले यातनापीडितको पक्षमा हदैसम्मको क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको छ । प्रहरीद्धारा चरम यातना पाएका झुपबहादुर बिष्टको यातना क्षतिपूर्ति सम्बन्धी मुद्दामा अदालतले १८ माघमा पीडितलाई रू.१ लाख क्षतिपूर्ति दिने र यातना दिने प्रहरीलाई विभागीय कारबाहीका लागि लेखी पठाउने फैसला सुनाएको हो ।
न्यायाधीश अम्मरराज पौडेलेको एकल इजलासले प्रहरी चौकी गाभरपुर अगैयाका तत्कालीन प्रमुख प्रहरी सहायक निरीक्षक बुद्धिप्रसाद शर्मा, हवल्दार धनबहादुर चन्द र जवान मानबहादुर थापालाई यातना दिने कार्यमा संलग्न भएको ठहर गरेको छ ।
१ साउन २०७० मा अगैयास्थित एक होटलमा साँझ नाचगान भैरहेको स्थानबाट प्रहरीले पक्राउ गरी रातभर हत्कडी लगाई गैरकानूनी थुनामा राखेर चरम यातना दिएको भन्दै कचनापु–७ टीकुलीपुरका ३७ वर्षीय झुपबहादुर बिष्टले मुद्दा दायर गरेका थिए ।
प्रहरीद्धारा दिएको यातनाका कारण उनको आखाँ, ओठ, पिठ्यू, दुवै खुट्टासँगै शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । पीडितको तर्फबाट मुद्दा लडेका अधिवक्ता वषन्त गौतमले पीडकलाई कारबाही सिफारिश गर्दै पीडितलाई क्षतिपूर्ति भराउने फैसला अदालतले जिल्लामा पहिलो पटक गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
