अन्तर्वार्ता/विचारसोमबार, माघ १९, २०७१

‘हाम्रो पार्टी एमाओवादी जस्तो जनमतको कदर नगर्ने अप्रजातान्त्रिक छैन’

हिमालखबर

अन्तरिम संविधानले स्थापित गरिसकेको संघीयतामाथि नै असहमति जनाउँदै आएको राष्ट्रिय जनमोर्चाले दोस्रो संविधानसभामा पनि आफ्नो अजेण्डा छोडेको छैन । तर, संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्ने मागसहित संविधानसभामा सक्रिय सहभागिता जनाइरहेको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी भन्छन्, ‘‘आफ्नो अजेण्डाका लागि देश साट्न सकिन्न ।’’ उनीसँग हिमालखबरले गरेको कुराकानीः

ccchतपाईँको पार्टी सहभागी भएको प्रश्नावली समितिले संघीयताबारे प्रश्नावली नै बनाएन । अव के गर्नुहुन्छ ?

राष्ट्रिय जनमोर्चाले संघीयताबारे पहिलेदेखि नै असहमति जनाउँदै आएको हो । प्रश्नावली समितिमा पनि प्रश्नावली बनाऊ भनेर प्रस्ताव राख्यौं । तर, बहुमतले मानेनन् । संघीयताको विवादले संविधान बन्न सकेको छैन । जातीय क्षेत्रीय कुराले देश नै नरहने अवस्था आइसक्यो । तर, पनि यसबारे संविधानसभामा प्रश्न नै उठाउन नपाइने भनेपछि मैले असहमति दर्ता गराएको छु ।

संविधानसभाबाट पनि तपाइँको प्रस्ताव स्वीकृत हुने देखिदैन । किन असहमति मात्रै राखिरहनु हुन्छ ?

अहिलेको संविधानसभाबाट हामीले राखेको विषय पारित नहुनु ठूलो कुरो होइन । हाम्रो पार्टीले उठाएको अजेण्डा देशको हितमा छ भने भोलि कार्यान्वयन हुन्छ । हाम्रो पार्टी एमाओवादी जस्तो जनमतको कदर नगर्ने अप्रजातान्त्रिक छैन । जनमतको कदर गर्छाै ।

आफ्नो अजेण्डा नै स्थापित नहुने प्रक्रियामा किन सहभागी हुनुहुन्छ त ?

अन्तरवस्तु भन्दा ठूलो देश हो । अहिलेको विवादित विषय भन्दा ठूलो गणतन्त्र, धर्म निरपेक्षता, समावेशी प्रणाली हो । यो हामी आन्दोलनकारी शक्तिहरुको अजेण्डा हो । जसमा विवाद छैन ।

जनआन्दोलनबाट प्राप्त यी प्रमुख अजेण्डा स्थापित गराउन संविधान चाहिएको छ । संघीयता भनेको प्रणाली हो, प्रणालीमा अल्मलिएर महत्वपूर्ण उपलब्धी गुमाउने पक्षमा छैनौं । बरु, अहिलेका ठूला दलहरु पो किन संविधान नै बन्न नदिएर उपलब्धी गुमाउन खोज्दैछन् मैले बुझ्न सकेको छैन ।

यसको अर्थ संघीय संविधान पनि स्वीकार्नुहुन्छ ?

स्वीकार्छु भनेको होइन । नयाँ संविधानकाे संघीयतामा मेरो विमति हुन्छ । अन्य उपलब्धीहरु संस्थागत हुने संविधान अाउँदैछ । अन्तरवस्तुमा विमति रहदैमा संविधान नै बन्न नदिने कुरो ठीक होइन । म आफ्नाे अजेण्डासँग देश साट्न सक्दिन ।

तर, एमाओवादी मोर्चा आफ्नो अजेण्डा नभए संविधानसभाबाटै बाहिरिने कुरा गर्दैछ ?

एमाओवादीले वर्गीय कुरा छाडेर जातीय राज्य बनाउन खोज्दैछ । मधेशवादी सम्म परेको ठाउँको जमिन्दार बन्ने प्रयत्नमा छन् । यो माग कस्को निर्देशनमा भइरहेको छ बुझ्नै सकिंदैन । संविधानसभाबाट बाहिरिन्छौं भन्यो भन्दैमा यस्ता मागहरु पूरा गर्न सकिदैन ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संविधान आउन नदिन प्रयासरत छन्, ८ माघमा संविधान आउन नदिएपछि विजयी भएको संकेत गर्दै बाहिरिएको सवैले देखैकै छौं । उनी देशमा प्रतिक्रान्ति निम्त्याउन लागि परेका छन् ।

एमाओवादी मोर्चा संविधानसभाबाट बाहिरियो भने ?

मलाई मोर्चाको विश्वास लाग्दैन । कुरा बदल्नु दाहाल सिपालु छन् । माओवादीको विगत हेर्दा दाहालले भोलि ८ माघमा हामीले ठूलो गल्ती गर्‍यौं भन्ने पक्कापक्की छ । भर्खरै मात्रै जातीय नारा लगाउनु गल्ती थियो भनेका थिए । केही अघि निर्वाचन बहिष्कार गर्नु गल्ती भने, त्यसअघि प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु गल्ती भने । यस्तो गल्ती गर्‍यौं भनेको कति छन् कति ।

साँच्चै बाहिरियो भने नि ?

बार्गेनिङका लागि भनेको हो भने यसको अर्थ छैन । अरुकै योजना र निर्देशनमा यस्तो अभिव्यक्ति दिएको हो भने के गर्नु । अहिले देशलाई संविधान चाहिएको हो, परिवर्तनको अजेण्डा त फेरि पनि उठाउन सकिन्छ । मैले जनअान्दाेलनबाट प्राप्त उपलब्धीलाई मात्रात्मक मात्रै भनेकाे छु, गुणात्मक परिवर्तन अझै भएकै छैन । देशका अाधारभूत समस्या समाधान भएकै छैन ।

संविधानसभाले संविधान बनाउँछ जस्तो लाग्छ ?

कांग्रेस र एमाले अहिले चाँही संविधान बनाउन खोज्दैछन् । मैले त एमाओवादीको माग पूरा गर्न सकिदैन, थकाउन पनि सकिदैन । त्यसैले सहमति संभव छैन, प्रक्रियामा गएर संविधान बनाउनुपर्छ भनेर मंसीर पहिलो हप्ता नै भनेको थिए । जुन काम ५ माघमा अघि बढ्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>