खेलकुदमंगलबार, माघ २०, २०७१
विश्व लिग च्याम्पियनसिपः ‘एक्स्पोजर’ को अवसर
– तुफान न्यौपाने
जनवरी २०१५ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता नेपालका लागि उत्साहप्रद रहेन। डिभिजन–१ मा पुग्ने लक्ष्य राखेको नेपाल चौथो हुँदै डिभिजन–२ मै रोकिन बाध्य भयो।
तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को १४ माघमा बसेको बैठकले नेपालले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भाग लिन पाउने निर्णय गर्यो। आईसीसीले सन् २०१९ को विश्वकप छनोटमा डिभिजन–१ का शीर्ष दुई अफगानिस्तान र आयरल्याण्डलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपालले सुनौलो मौका पाएको थियो। यी दुई देशको ‘प्रमोशन’ पछि डिभिजन–२ मा तेस्रो र चौथो भएका केन्या र नेपालले डिभिजन–१ का टोलीले मात्र खेल्न पाउने लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने भएका हुन्।
विश्वकपको ढोका खुल्लै

बलिया र अनुभवी टीमसँग दुई वर्षसम्म खेल्न पाउनु ठूलो अवसर हो।
जगत टमटा
पूर्व सहायक प्रशिक्षक
राष्ट्रिय क्रिकेट टीम
२०१५ को मध्यदेखि अप्रिल २०१७ सम्म चल्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले डिभिजन–१ मा रहेका हङकङ, पपुवान्यूगिनी, स्कटल्यान्ड, युएई, नामिबिया, नेदरल्यान्ड्स र केन्यासँग खेल्नेछ। ‘होम एण्ड अवे’ आधारमा सात देशसँग एक–एक पटक गरी १४ वटा एकदिवसीय खेलमा नेपालले सहभागिता जनाउनेछ। राष्ट्रिय क्रिकेट टोलीका पूर्व सहायक प्रशिक्षक जगत टमटा लिग च्याम्पियनसिप नेपाली क्रिकेटका लागि गतिलो ‘प्लेटफर्म’ भएको बताउँछन्। “राम्रा टीमसँग दुई वर्षसम्म खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो”, उनी भन्छन्।
लिग च्याम्पियनसिप खेल्ने आठ टीममध्ये शीर्ष ६ भित्र पर्न सके नेपालले २०१९ मा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ। पूर्ण सदस्य राष्ट्र सम्मिलित वरियता प्रणालीमा रहेका १२ (अष्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, श्रीलंका, ईङ्गल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, वेष्टइन्डिज, बाङ्लादेश, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड) मध्ये ३० सेप्टेम्बर २०१७ सम्म आठौं वरियतासम्म रहने टीम विश्वकपका लागि सोझै छानिनेछन् भने पुछारका चार टीमले लिग च्याम्पियनसिपका शीर्ष ६ सँग मिसिएर विश्वकप छनोट खेल्नेछन्। शीर्ष दुईमा पर्ने टोलीसहित १० मुलुकले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्।कठिन देखिए पनि अहिलेका लागि नेपाल एकदिवसीय विश्वकपसम्म पुग्ने बाटो यही हो। “अहिले च्याम्पियनसिप खेल्न पाउनुको अर्थ विश्वकपको ढोका खुल्लै छ भन्नु हो”, टमटा भन्छन्। लिग च्याम्पियनसिप खेल्न पाए पनि डिभिजन–१ का टोलीले खेल्ने प्रथम श्रेणीको चार दिवसीय अन्तरमहादेशीय कपमा भने नेपाल सहभागी हुन पाउने छैन।

लिग च्याम्पियनसिप तयारीका लागि खेलाडीलाई श्रीलंका पठाउने तयारी भइरहेको छ।
भावना घिमिरे
प्रमुख कार्यकारी अधिकृत
नेपाल क्रिकेट संघ
नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरे लिग च्याम्पियनसिप तयारीका लागि खेलाडीलाई श्रीलंका पठाउने तयारी भइरहेको बताउँछिन्।
संरचना सुधार
परिणाम जस्तो आए पनि लिग च्याम्पियनसिपमा छनोट भएपछि नेपाली खेलाडी दुई वर्षसम्म व्यस्त हुनेछन्। त्यसपछि नेपाली क्रिकेटको भविष्य कस्तो हुनेछ? राष्ट्रिय टोलीका पूर्व कप्तान एवं सहायक प्रशिक्षक विनोद दास दुई वर्षपछिको अवस्थाबारे अहिल्यै नसोच्ने हो भने नेपाली क्रिकेट ओरालो लाग्ने बताउँछन्। खेलाडी संख्या वृद्धि, वर्षमा ६ महीनासम्म खेल्ने अवस्था, लिग संरचना, हरेक विकास क्षेत्रमा कम्तीमा एउटा र राजधानीमा अन्तर्राष्ट्रियस्तरका तीन वटा मैदान र वार्षिक क्यालेन्डर निर्माण तत्काल आवश्यक कार्यसूची हुन्। “यसमा काम थालिहाले मात्र हाम्रो यात्रा उकालो लाग्नेछ”, उनको सुझाव छ।
नियमित १५/२० खेलाडीले मात्र राष्ट्रिय टोली नटिक्ने भनाइमा पूर्व सहायक प्रशिक्षक टमटा पनि सही थाप्छन्। लिग च्याम्पियनसिप खेल्ने बेला पनि घरेलु क्रिकेट संरचना उस्तै रहनु दुःखद् भएको बताउँदै उनी भन्छन्, “यो स्तरको टोलीका लागि अहिलेभन्दा तीन गुणा खेलाडी चाहिन्छन्।”
टमटा नेपाली टोली टी–२० र एकदिवसीय खेलमा मात्र अभ्यस्त रहेकोले अब दुई दिवसीय प्रतियोगिता सञ्चालन गर्नुपर्ने, यू–१९ मा राम्रो प्रदर्शन गरेका तर राष्ट्रिय टोलीमा पर्न नसकेका खेलाडीलाई खेल जीवनमा राखिराख्नुपर्ने, लिग प्रतियोगितामा निश्चित संख्यामा अनुभवी विदेशी खेलाडी समेत सहभागी गराउनुपर्नेमा जोड दिन्छन्।
क्यानले ९ वटा क्षेत्र गठन गरी राष्ट्रिय लिग सञ्चालन गर्दै आए तापनि ती प्रतियोगिता क्षेत्रगत तहमा हुनसकेका छैनन्। क्यानकी सीईओ घिमिरे लिग च्याम्पियनसिपलाई लक्षित गरी तत्काल घरेलु प्रतियोगिताको तालिका सार्वजनिक गर्ने तयारीमा रहेको दाबी गर्छिन्। भन्छिन्, “चाँडै नै वान डे, टी–२० र विद्यालयस्तरका प्रतियोगिताको कार्यतालिका सार्वजनिक गर्ने तयारीमा छौं।”
लिग च्याम्पियनसिपमा ८ टीम ‘होम एण्ड अवे’ आधारमा खेल्ने हुँदा नेपालसँग खेल्नका लागि हङकङ, नामिबिया, नेदरल्यान्ड्स, पपुवान्यूगिनी, स्कटल्यान्ड, केन्या र युएई नेपाल आउने छन्। ती टोली आउँदा स्तरीय क्रिकेट मैदानको आवश्यकता खट्किन नदिन अहिलेदेखि नै काम थालिहाल्नुपर्नेछ। घिमिरे तत्काल नयाँ मैदान बनाउन सम्भव नभएकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको र पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानको स्तरवृद्धि गर्ने र पोखराको मैदान खेल्नयोग्य बनाउने काम थालेको बताउँछिन्।
संयोगले पाएको लिग च्याम्पियनसिपको मौकालाई अविस्मरणीय बनाउन लाग्ने हो भने नेपाली क्रिकेटले दुई वर्षपछि अर्को ऐतिहासिक उपलब्धि हासिल गर्नेछ। यसको जस लिन क्यान, खेलाडी र राष्ट्रिय खेलकुद परिषद्ले पहिलेभन्दा गम्भीर भई अघि बढ्नुपर्छ। क्रिकेटलाई राजनीतिमुक्त बनाउनुपर्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
