थप समाचारबुधबार, माघ २१, २०७१
ग्लोबल बन्दै ‘नमस्कार’
दक्षिणपूर्वी एशियामा संस्कारकै रुपमा रहेको अभिवादन शैली नमस्कार चूपचाप ‘ग्लोबल’ बनिरहेको छ।
सजना बराल
तीनदिने भ्रमणका लागि ११ माघमा भारत आएका अमेरिकी राष्ट्रपति बराक ओबामाले नयाँदिल्लीमा आतिथेय स्वीकार गर्दा हात उठाउँदै हेल्लो, हाइ भनेनन्। दुईहात जोडी, शिर झुकाउँदै अभिवादन गरे। ओबामा पत्नी मिसेल पनि दुईहात जोडेर मुस्कुराइन्।
नमस्कारसँग कुनै साइनो नभएका हलिउड स्टार ज्याकी चेन, सेलिब्रेटी पेरिस हिल्टन, गायिका केटी पेरी पनि अचेल प्रशंसकसामु नमस्कार नै गरिरहेका भेटिन्छन्। हुँदाहुँदा पश्चिमा खेलाडीहरू समेत रेफ्रीसामु माफी माग्न हात जोडिरहेका देखिन्छन्।
पूर्व मिस नेपाल इशानी श्रेष्ठसँग झनै रमाइलो सम्झना छ। मिस वर्ल्डमा सहभागी हुन दुई वर्षअघि इन्डोनेसिया पुग्दा उनले देखिन्, त्यहाँ सबै सुन्दरीहरू आपसमा नमस्कार गर्दै अभिवादन साटिरहेका थिए। भन्छिन्, “१२७ देशका प्रतियोगी हामी एक–अर्कालाई नमस्कार भन्दै अभिवादन गर्थ्यौं।”
समाजशास्त्री डा. गणेश गुरुङ अभिवादनको नमस्कार रीत संसारभर फैलँदै गएको बताउँछन्। भन्छन्, “भर्खरै सकिएको सार्क सम्मेलनमा पनि अफगानिस्तान, म्यानमार जस्ता देशका राष्ट्रप्रमुख नमस्कार गर्दै गरेका देखिए। नमस्कार सर्वस्वीकार्य देखियो।”
नमस्कारको प्रसार
विदेशमा रहेका नेपालीबारे अध्ययन गरेका समाजशास्त्री गुरुङ नमस्कार व्यापक बन्दै जानुमा संसारभर दक्षिण एशियालीको ‘मास–मोबिलिटी’ बढ्नु प्रमुख कारण भएको तर्क गर्छन्।
नमस्कारको प्रसारमा दक्षिणपूर्वी एशियाका एअरलाइन्सहरूको पनि भूमिका कम आँक्न सकिन्न। ओमन एअरकी विमान परिचारिका नम्रता झा जहाँसुकै उड्दा पनि यात्रुलाई नमस्कार भन्दै अभिवादन गर्ने बताउँछिन्। “सलाम गर्नु वा झुक्नुभन्दा नमस्कार गर्दा नै यात्रु खुशी भएको पाएकी छु”, उनको अनुभव छ।
नमस्कार व्यापक बन्दै गए पनि यसको इतिहासबारे भने एकमत पाइँदैन। इतिहासकार प्रा. दिनेशराज पन्त नेपालमा नमस्कार आदानप्रदान कहिले र कसरी शुरु भयो भन्नेबारे ठोस प्रमाण नभेटिएको बताउँछन्। उनका अनुसार मानव सभ्यताको विकाससँगै नमस्कार जन्मिएको हुन सक्छ।
समाजशास्त्री गुरुङ चाहिं नमस्कारको इतिहास तत्कालीन हिन्दुस्तानसँग जोडिएको बताउँछन्। “तर, भारत, पाकिस्तान वा बाङ्लादेशमध्ये कुन ठाउँबाट यसको शुरुआत भयो भन्न सक्ने आधार छैन”, उनी भन्छन्, “नेपालीले चाहिं हिन्दुस्तानबाट बसाइँ सर्दा नमस्कार साथै लिएर आएका हौं।”
कतिपयले नमस्कारलाई बौद्ध धर्म परम्परासँग जोड्ने गरे तापनि यो तर्कसंगत नभएको गुरुङको ठहर छ। भन्छन्, “बौद्ध धर्मावलम्बी भएका जापान, मंगोलिया, म्यानमार जस्ता देशमा नमस्कार गरिंदैन।” गुरुङ नमस्कारसँगै नेपालका अन्य अभिवादन शैलीबारे खोजीनिती आवश्यक रहेको औंल्याउँछन्।
शैली र अर्थ
नमस्कार, ह्याण्डसेक, हग, म्वाईं, मुट्ठी उज्याउनु, टाउको झुकाउनु, आदाब गर्नु, सलाम ठोक्नु लगायत अभिवादनका अनेक शैली चलनमा छन्। राजनीतिक विचारधारा अनुसारका ‘जयनेपाल’, ‘लालसलाम’ जस्ता अभिवादन पनि गर्न छाडिएको छैन। युवामाझ ‘फिस्ट–बम्प’ (हत्केला–हत्केला ठोक्काउनु) वा अंकमाल गर्नु अभिवादनकै पछिल्लो शैली ठानिन्छ।
‘हेल्लो’ अर्को चल्तीको अभिवादन शैली हो। यसलाई टेलिफोन र सामाजिक सञ्जालले अझ चर्चित बनाएको छ। नोभेम्बर २१ लाई विश्व हेल्लो दिवसकै रुपमा मनाउन थालिएको छ।
कतिपयले भने नमस्कार र हेल्लो दुवै एकैपटक प्रयोग गरेको पनि देखिएको छ। खासगरी राजनीतिक र कूटनीतिक क्षेत्रमा पहिले नमस्कार गर्ने र पछि हात मिलाउने पाइएको छ। दुई अभिवादनबीचको ‘फ्युजन’ ले सम्बन्ध थप कसिलो हुने अनुमान पनि गर्न सकिन्छ।
‘समाज, संस्कार र शासन’ पुस्तकका लेखक पूर्वसचिव खेमराज नेपाल पहिले–पहिले हाकिमलाई भेट्दा झुकेर नमस्कार गरिने तर अहिले हाइ, हेल्लो समेत भन्न थालिएको बताउँछन्।
“हात जोडी, शिर झुकाई, विनम्र भई नमस्कार गर्नुपर्नेमा ठाड्ठाडै ‘नमस्तै है’, ‘ढोग गरें’ भन्दै हिंड्छन्”, हिन्दू विद्यापीठका डा. चिन्तामणि योगीको गुनासो छ, “एउटा हात निधारमा लगेर सलामको शैलीमा नमस्ते गर्छन्। कोही छातीमा हात राखेर निहुरिन्छन्।” यस्ता विकृति बढ्दै गए नमस्कार लोप हुने भन्दै उनी यसबारे विद्यालयमै शिक्षा दिनुपर्ने तर्क गर्छन्।
अभिवादनका शैली फेरिनुलाई समाजशास्त्री गुरुङ खुला बजार नीति र उच्च ‘एडप्टिभ फिजिओलोजी’ को परिणाम ठान्छन्। “शैली फरक भए पनि यी विनम्रता, सभ्यता, भक्ति वा आदरभावका सूचक हुन्। उमेर र परिवेश अनुसार अभिवादनको शैली निर्माण गर्दै जान्छ”, अर्का समाजशास्त्री प्रा.डा. ऋषिकेशवराज रेग्मी भन्छन्।
अभिवादनको अर्थ यत्तिमा मात्र सीमित छैन। मनोविद् डा. गंगा पाठक अभिवादनको मनोवैज्ञानिक अर्थ रहेको बताउँछिन्। उनी भन्छिन्, “दुवै हात जोडेर नमस्कार गर्दा मस्तिष्कका हर्मन सक्रिय भई सकारात्मक ऊर्जा वहन थाल्छ।” कसले कसरी अभिवादन गर्दछ भन्ने कुराले बिरामीको समस्या पत्ता लगाउन मद्दत गर्ने उनको भनाइ छ।
गर्ने तरिका उस्तै भए पनि नमस्कार वा नमस्ते कुन सही हो भन्नेमा अन्योल छ। डा. योगी नमस्कार भन्दा नमस्ते वैदिक भएको दाबी गर्छन्। भन्छन्, “वेदमा ‘नमस्ते नमस्ते तपोयोग गम्य/नमस्ते नमस्ते श्रुतिज्ञान गम्य’ श्लोक नै छ।” तर, समाजशास्त्री रेग्मी भने नमस्कारबाटै नमस्ते बनेको दाबी गर्छन्।
हराउँंदो ‘खान्दानी दर्शन’
इतिहासकार दिनेशराज पन्त आष्टाङ्ग, साष्टाङ्ग, पाञ्चाङ्ग, दण्डवत्, नमस्कार र अभिनन्दन गरी प्रणामका ६ प्रकारमध्ये अहिले नमस्कार मात्रै प्रयोगमा रहेको बताउँछन्। भन्छन्, “अरू त लगभग मासिइसके। नमस्कार पनि विधिवत् रूपमा गरिन छोडिएको छ।”
पन्तका अनुसार दुई हातका कान्छी र बूढीऔंला जोडी बाँकी औंला दोबारेर गरिने नमस्कार अहिले हराउँदै गएको छ। “हामी त्यसलाई खान्दानी दर्शन भन्थ्यौं”, डा. गुरुङ सुनाउँछन्, “शाह/ठकुरी खान्दानमा त्यसरी ढोगभेट गर्ने चलन थियो।”
उनी मौलिक अभिवादन शैली भएका नेपालका आदिवासी/जनजातिले पनि आफ्नो शैली त्यागिरहेको पाउँछन्। भन्छन्, “जातीय अभिवादनभन्दा नमस्कार सजिलो मान्न थालिएको छ। नमस्कारभन्दा ह्याण्डसेक छरितो मान्न थालिएको छ।”
त्यसो त ह्याण्डसेक, हगिङ जस्ता एक–अर्कालाई छोएर गरिने अभिवादनले रोगव्याधी सार्ने खतरा हुने तर नमस्कारमा यो जोखिम नहुने बताउनेहरू पनि छन्।