रमझमबिहीबार, माघ २२, २०७१

आदिवासी आवाज- एलिना

हिमालखबर

नेपाली युवती एलिना साँवाले जलवायु परिवर्तनले मुगुका महिलामाथि पारेको असरबारे विश्वलाई बुझाउने प्रयत्न गरिरहेकी छन्।

sawaगएको १३ असोजमा अमेरिकाको हफिङ्टन पोष्ट पत्रिकाको अनलाइन संस्करणमा नेपालको विकट हिमाली जिल्ला मुगुका महिलाबारे एउटा ब्लग छापियो। लेखिका थिइन्, एलिना साँवा।

७ असोजमा न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा नागरिक समाजका तर्फबाट वक्ताका रुपमा उनी सहभागी थिइन्।

सम्मेलनमा भाग लिन आवेदन दिएका विश्वका ५०० महिलामध्येबाट छानिएका चारजनामा एलिना एक थिइन्।

बोलिभियाका राष्ट्रपति इभो मोरालेस र तुभालुका प्रधानमन्त्री इनेले सोपोआगा रहेको प्यानलमा उनले जलवायु परिवर्तनले मुगाली महिलामा पारेको असरबारे बोलिन्।

उनको भनाइ थियो, “धनी देशका तपाईंहरुकै कारण गरीब देशका महिलाले नपाउनुको दुःख पाइरहेका छौं, हाम्रा लागि जलवायु परिवर्तन ‘नखाएको विष’ हो।”

एलिनाको त्यो वक्तव्यलाई नै हफिङ्टन पोष्ट ले ब्लग प्रकाशित गरेको थियो (हे. http://huff.to/1mERTr3)। त्यसलगत्तै मंसीरमा पेरुको लिमामा आयोजित जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि उनले तिनै महिलाको समस्या सुनाइन्, जुन उनले मुगुको माङग्री र मुगु गाउँमा एक वर्ष खटिंदा जानेकी थिइन्।

मुगाल आदिवासी/जनजाति महिला उत्थानमा सक्रिय एलिना आफैं भने पूर्वी इलामको गोर्खे गाउँकी हुन्।

१० वर्षअघि राजधानी छिरेर अध्ययनसँगै पहिले गैर–सरकारी संस्था टेवा र पछि अनमिनमा काम गरेकी उनी आदिवासी जनजाति महिलाहरुको समस्या र शक्तिबारे गहिरो ज्ञान राख्छिन्।

एलिनाले अध्ययन क्षेत्र बनाएको मुगुको माङग्री र मुगु गाउँ पुग्न सदरमुकाम गमगढीबाट पूरा एक दिन लाग्छ।

त्यहाँका बासिन्दालाई वर्ष दिनको परिश्रमले दुई महीना मात्र खान पुग्छ। वर्षाको स्वरुप परिवर्तन, लगातारको पहिरो, यार्सागुम्बा पनि दुर्लभ हुँदै जानु लगायतका समस्याले मुगालीहरु विस्थापित हुने खतरामा छन्।

“यी सब समस्याको प्रमुख कारण जलवायु परिवर्तन हो भन्ने कुरा गाउँलेलाई थाहा छैन”, समाजशास्त्रमा स्नातकोत्तर एलिना भन्छिन्, “यसको सबभन्दा ठूलो मार महिलामा परेको छ।”

रविन गिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>