Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तोरीबारीमा मौरी शुभलाभको सन्देश - Himalkhabar.com

टिप्पणीबिहीबार, माघ २२, २०७१

तोरीबारीमा मौरी शुभलाभको सन्देश

तीर्थबहादुर श्रेष्ठ

नेपाली किसानका बहुमूल्य परम्परागत ज्ञान आजको व्यावसायिक कृषि प्रणालीभित्र स्थापित नभई विस्थापित हुन थालेको संकेतले चिन्तित बनाएको छ।

तोरीको फूलमा परागसेचन गर्दै मौरी। तस्विर स्रोतः इन्टरनेट

तोरीको फूलमा परागसेचन गर्दै मौरी। तस्विर स्रोतः इन्टरनेट

तोरीबारीमा मौरी निषेध समाचार (हिमाल २७ पुस–३ माघ) पढेपछि स्तब्ध हुँदै सोच्न थालें– कहाँ गए नेपालका ती किसानहरू जसले आफ्ना खेतबारी र बगैंचामा आउने–जाने पुतली, भमरा, मौरी, बारुला लगायत विभिन्न चराचुरुंगी तथा सर्प, भ्यागुता, गँगटा वा अन्य पशुहरूलाई चिन्दथे, तिनका बानीबेहोरा र बोलीचाली पनि बुझ्दथे।

मौरी निषेध गर्ने किसानी अन्यत्र कहीं नहुने जात्रा हो। संसारका किसानहरू विश्वास गर्दछन्– यो विश्वबाट मौरी लोप भयो भने त्यसको चार वर्षमा मानवमात्रको अस्तित्व समाप्त हुन्छ। यो उद्गार प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हो भन्ने धेरैको विश्वास छ। आइन्स्टाइन स्वयंले त्यसो भनेका थिए वा थिएनन् भन्ने विवाद आफ्नो ठाउँमा छ, तर मौरीविनाको विश्व सम्भव हुँदैन भन्ने कुरा निर्विवाद छ। आज पनि वैज्ञानिकहरू भन्छन्– हामीले खाने प्रत्येक तीन गाँसमध्ये एक गाँस त मौरीकै कारण उपलब्ध हुने हो।

परागसेचन सेवा

अन्न, फलफूल, सागपात, दलहन, तेलहन आदि कृषि उपजमा परागसेचनको अहं भूमिका रहन्छ। परागसेचन सेवामा मौरीलाई अरूले जित्न सक्दैन। हाम्रोमा अध्ययन–अनुसन्धानको कमी छ, तथ्यांकहरू उपलब्ध छैनन्। अमेरिकाको अलावामा राज्यमा ‘ब्ल्यूवेरी’ फलको व्यावसायिक खेतीमा एउटा मौरीले ५० हजार फूलमा परागसेचन गर्छ। हाम्रो तोरीबारीमा त्यस्तो हिसाब छैन। त्यो बेहिसाब सेवाका लागि इनाम दिनुको सट्टा महमा हिस्सा खोज्ने नियतको परिणति तोरी उत्पादनमा पर्न जान्छ।

वातावरण प्रदूषण एवं अधिक विषादि प्रयोगले गर्दा प्रकृतिमा कीरा फट्यांग्रा, मौरी, पुतली आदि परागसेचन सेवा पुर्‍याउने प्राणीहरूको कमी हुँदो छ। व्यावसायिक खेती गर्नेहरू पाल्तु मौरीका घारहरू खेतबारी वरपर ल्याएर मौरी चराउँछन्। त्यसबाट राम्रो बाली र पर्याप्त मह उत्पादन हुन्छ। इजरायल राज्यका संस्थापक नेता बेन गुरिएनले आफ्नो देशमा मह र दूधको छेलोखेलो पार्ने अठोट लिएका थिए। मरुभूमिलाई फुलाएर आज इजरायलले पाएको सम्पन्नताको श्रेय गुरिएनको नेतृत्वलाई जति जान्छ त्योभन्दा बढी त्यहाँका मौरीहरूलाई जान्छ।

'एपिस लेवोरिओसा' जातको भीरमौरी।

‘एपिस लेवोरिओसा’ जातको भीरमौरी।

मौरीलाई माया, स्नेह र सम्मान गरेमा मरुभूमि फुल्न सक्छ। मौरीको अपहेलना भयो भने उर्वरभूमि र फूलबारी पनि मरुभूमिमा परिणत हुन्छ। प्रकृतिको नियम यस्तै छ। मौरी नरहे तोरी त के कुरा वनमा गुराँस पनि फुल्दैन।

सबै बिरुवामा फूल फुल्दैन। १४ करोड वर्ष पहिले डाइनोसर्स युगमा फूल फुल्ने बिरुवा पृथ्वीमा थिएन। उन्यू प्रजातिको बाहुल्य रहेको त्यो जलवायुमा परिवर्तन हुँदैथियो। वातावरण अनुकूल बन्ने क्रममा वनस्पति जगतमा नयाँ सृष्टिको प्रारम्भ गर्न यौनिकता (sexuality) को भूमिका स्थापना हुन थाल्यो। फूलहरूमा भाले र पोथी यौनांग विकास हुन थाले। एक फूलसँग अर्को फूलको प्रजनन् प्रक्रिया प्रारम्भ भयो। ‘क्रस फर्टिलाइजेसन’ प्रक्रियाबाट वातावरण अनुकूल नयाँ प्रजातिका बिरुवाहरू देखिन थाले। फलस्वरुप जैविक विविधताको वैभव बढ्न गयो।

आज विश्वमा दुई लाख ५० हजार भन्दा बढी प्रजातिका बिरुवामा फूल फुल्छ। प्रजनन् हुन्छ र फल लाग्छ। त्यसो हुनलाई फूलहरूमा परागसेचन हुनैपर्छ। परागसेचनको काम हावा, पानी र प्राणीहरूले सम्पन्न गरिदिनुपर्छ। हाम्रो कृषि बालीको प्रसंगमा मौरीको गुन गाएर साध्य हुँदैन। मौरीको सेवामा भरपर्ने अन्न, फलफूल, साग, तरकारी, तेलहनको लगत लामो हुन्छ। तोरी, रायो, मूला, गोलभेंडा, भान्टा, फर्सी, क्राँक्रो, काउली, ब्रोकाउली, बोडी, केराउ, सिमी आदिको त कुरै छाडौं, लेकमा फल्ने फापर समेत मौरीका सेवाग्राही वनस्पति हुन्। किसान र किसानीको सर्वश्रेष्ठ मित्रको नाम नै मौरी हो।

फलफूल र वागवानीको संसारमा मौरीको भूमिका अझ् व्यापक देखिन्छ। नास्पाती, स्याउ, सुन्तला, कागती, ज्यामिर, भोगटे, विमिरा, आरु, आरुबखडा, बदाम, अम्बा लगायत हालसालै नेपाल भित्रिएका स्ट्रबेरी, किवी र एभोकाडोलाई समेत परागसेचन गर्न मौरीहरू नभई हुँदैन।

कीर्तिमानी माहुरी

मौरी अनेकथरिका हुन्छन्। मह बनाउने मौरी भने विश्वमा मात्र ७ प्रजातिका छन्। तीमध्ये हाम्रै रैथानमा ४ प्रजाति पाइन्छन्। अब त व्यावसायिक मह उत्पादनका लागि पालिने युरोपेली मिलिफेरा पनि अतिथि नभएर रैथाने भइसके। यस अर्थमा विश्व मौरी वैभवको ७१ प्रतिशत प्रजाति नेपाल भित्रै मौजूद छन्।

जोखिममा माहुरी र मानिस

जोखिममा माहुरी र मानिस

मह पार्ने मौरीमध्ये सबभन्दा ठूलो ज्यान (३ सेन्टिमिटर लामो) को र सबभन्दा उच्च भूभाग (४१०० मिटर) मा विचरण गर्ने कीर्तिमानी मौरीलाई हामी भीरमौरी भन्दछौं। यो हिमाली मौरीको वैज्ञानिक नाम ‘एपिस लेवोरिओसा’ हो। यसले २५०० देखि ३००० मिटरसम्मका बाँदर पनि चढ्न नसक्ने भीरमा बडो कलात्मक ढंगले चाका बनाएर आफूलाई मान्छे बाहेक सबै प्राणीबाट सुरक्षित राख्छ।भीरमौरीको मह काढ्ने महशिकारीहरूका कथा–व्यथाले अन्तर्राष्ट्रिय प्रचारप्रसार पाएको छ। यो परम्परागत व्यवसाय पर्यटकहरूका लागि पनि रोमाञ्चकारी रमिता बन्न थालेको छ।

थोरै कमाइका लागि थोरै व्यक्तिहरूबाट ज्यान जोखिममा पारेर लाखौं मौरीको ज्यान लिने काम हुन्छ। हाम्रा विश्व कीर्तिमानी लाखौं मौरीलाई आगोको मुस्लोमा आहुति चढाइन्छ। मह शिकारको दृश्य पनि गढीमाइलाई पशुबलि चढाउँदाको जस्तै हृदयविदारक हुन्छ। त्यसैले, गोर्खा जिल्लाले अहिंसा क्षेत्र चुमछेकम्पारमा यस्तो महशिकार निषेध गरेको छ। त्यहाँको ४ हजार मिटर उच्च भूभागमा पनि तोरीबाली लाग्छ। ती पनि कीर्तिमानी तोरी हुन्।

विश्वको सबभन्दा सानो कीर्तिमानी माहुरी पनि हाम्रै जीव सम्पदाभित्रको अनुपम प्राणी हो, जसलाई हामी कठ्यौरी भन्दछौ। झिंगा भन्दा सानो ज्यानको कठ्यौरीले झिक्रामा मह पार्दछ। मौरी प्रजातिको प्राकृतिक विकासको इतिहासमा यो कठ्यौरी सबभन्दा जेठो (प्रिमिटिभ) मौरी हो। १६०० मिटर भन्दा माथिका भूभागमा नपाइने यसको सेवा चुरे र मधेशका वनस्पतिलाई प्राप्त छ। हाम्रो उपउष्ण क्षेत्रको अनुपम वैभव हो– कठ्यौरी पनि।

भीरमौरीभन्दा अलि सानो तर अरूभन्दा निकै ठूलो लगभग दुई सेन्टिमिटर लामो मौरीलाई अंग्रेजीमा ‘जायन्ट हनी बी’ (भीमकाय मौरी) भनिन्छ। घरमा रत्याउन नसकिने यो मौरीले भीरपाखा एवं मानव बस्तीका अग्ला भवनका काप–कोप्चामा चाका बनाउँछ। हाम्रा बाली, बगैंचा र वागवानीमा यिनको योगदान ज्यादै महत्वपूर्ण हुन्छ। हाम्रा गाउँघरमा पालिने घरमाहुरीलाई चाहिं ‘एपिस सेराना’ भनिन्छ। यो मौरी दक्षिण एवं दक्षिणपूर्वी एशियाको मौलिक प्राणी हो। हाम्रो मधेश–पहाडको ३ हजार मिटरसम्मको भूभागमा यसको बसोबास छ।

मौरीपालनको विकास क्रममा व्यावसायिक महखेती गर्न युरोपेली घरमौरी ‘एपिस मिलिफेरा’ पाल्ने चलन व्यापक भइसकेको छ। यिनलाई वागवानी तथा अरू बालीनालीमा घार घुमाएर चराइन्छ। त्यसबाट बाली र मह दुवै अधिक लाग्ने शुभलाभको परिस्थिति सिर्जना हुन्छ। तसर्थ, तोरीबारीमा मौरी निषेध गरेर अज्ञानताको पराकाष्ठा प्रदर्शन नगरौं।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>