अन्तर्वार्ता/विचारशुक्रबार, माघ २३, २०७१

हामीले कम संवेदनशील समय पर्खेको भए हुन्थ्योः राजदूत रेन्सजे टिरिंक

हिमालखबर

rensjeसीके राउतसँगको भेट पछि आएको नेपाल सरकारको प्रतिक्रियाको सेरोफेरोमा रहेर युरापेली संघका राजदूत रेन्सजे टिरिंकसँग गरिएको कुराकानी ।

राउतसँग तपाइँहरुको भेटपछि आएको नेपाल सरकारको प्रतिक्रियालाई कसरी लिनुभएको छ ?
त्यसबेला स्थानीय मानवअधिकार संगठनहरुबाट डा.सीके राउतको मानवअधिकार गम्भीर रुपमा हनन् भएको रिपोर्ट आएका थिए । राउतले पनि युरोपेली संघका विभिन्न दूतावासहरुमा भेटका लागि आग्रह गरेपछि हामीले उनलाई भेट्दा हुने फाइदा–बेफाइदा बारे विमर्श गर्‍यौं । उनी विद्रोही रुपमा देखिएकोप्रति हामी सचेत थियौं । अर्कोतर्फ डा. राउतको मानवअधिकारको विषय थियो र उनीमाथिको कुनै अभियोग पुष्टि भइसकेको अवस्था पनि थिएन ।

तपाइँहरुलाई थाहै छ, युरोपेली संघ विश्वव्यापी रुपमा मानवअधिकारका सिद्धान्त रक्षाका लागि कटिबद्ध छ । मानवअधिकार कानून धेरै जसो अलोकप्रिय र एक्लिएका मानिसका लागि जरुरी हुन्छ । यी सिद्धान्तहरुलाई मनन् गर्दा राउतलाई नभेट्नु अनुपयुक्त हुन्थ्यो । त्यसैले हामीले मधेशी, दलित, जनजाति समूहका व्यक्तिहरुलाई भेटेजस्तै राउतलाई पनि भेटेर कुरा सुन्न सहमत भयौं । नेपाली मिडियाहरुमा भने हामीले युरोपेली संघका प्रमुखका रुपमा उनलाई भेटेको भन्ने चर्चा भयो । तर, त्यो विशेष भेट थिएन र डेनिश राजदूतले त प्रत्यक्ष भेटेको पनि होइन ।

इमान्दारीपूर्वक भन्नु पर्दा, हामी मिडियामा आएका प्रतिक्रियाबाट अचम्भित भयौं । अनेकौं आरोपहरु लगाइए– गोप्य बैठक गरियो, जेलमा रहेका राउतलाई भेट्न म चितवन पुगें, तराइलाई छुट्टयाउने जस्तो भयानक अजेण्डा छ, आदी । जबकी, कुनै पनि पत्रकारले हामीलाई फोन गरेर के भएको हो भनेर सोधेका थिएनन् ।

नेपाल सरकारका तर्फबाट भने तत्कालै कुनै प्रतिक्रिया आएन । ८ माघमा अन्तर्राष्ट्रिय समुदायसंग भएको छलफलमा परराष्ट्र मन्त्रीले राजनीतिक नेता र एक्टिभिस्टसँग भेट गर्दा जानकारी दिनुपर्ने कुटनीतिक मर्यादाको कुरा उठाउनुभयो । त्यसपछि १२ माघमा हामीले उहाँलाई राउतसँगको भेटको पृष्ठभूमि अवगत गरायौं ।

सरकारको प्रतिक्रियाबाट हामी अचम्ममा परेनौं । अफवाहहरु जसरी फैलाइएको थियो, त्यसअनुसार सरकारको प्रतिक्रिया स्वभाविक थियो । हामीले सम्माननीय प्रधानमन्त्री र माननीय मन्त्री पाण्डे दुवैसँग सौहार्दपूर्ण छलफल गर्‍यौं ।

तपाइँहरुको स्पस्टिकरणपछि प्रधानमन्त्री लगायत नेताहरुको प्रतिक्रिया कस्तो थियो ?
नेताहरुले आफ्ना कुरा स्पष्ट राख्नुभयो । परराष्ट्रमन्त्रालयले अन्य देशको तुलनामा यहाँ कुटनीतिज्ञहरुलाई धेरै स्वतन्त्रता दिइएको बतायो । हामीले राउतलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लंघन् थियो भनेर पनि सोध्यौं । भेट्नु अघि जानकारी गराएको भए उपयुक्त हुने थियो भन्ने प्रतिक्रिया आयो ।

हामीले राउतलाई भेटेको समय संवेदनशील भएकोमा परराष्ट्रमन्त्रालयले जोड दिएको थियो । डा. राउतलाई यहाँ जसरी लिइएको छ, त्यसहिसाबले उहाँलाई नभेटेको भए हुन्थ्यो भन्ने चाहीं हो । हामीले यो स्वीकार गरेका छौं ।

राजनीतिक एक्टिभिस्टसँगको भेटलाई ‘अराजनीतिक’ भन्न सकिन्छ र ?
हामीले भेट ‘अराजनीतिक’ थियो भनेकै छैनौं । मानवअधिकार हनन्का बिषयमा छलफल हुने भेट राजनीतिक नै हुन्छ, तर राउतको पृथकवादी विचार वा मधेशको अवस्थाबारे छलफल नगर्ने भन्ने तय थियो । राउतका राजनीतिक अजेण्डाको समर्थन वा त्यसबारे प्रतिक्रिया दिने हाम्रो काम होइन ।

हामी मानवअधिकार हनन्का गुनासाहरु भने सुन्नुपर्छ भन्नेमा स्पष्ट थियौंं ।

यस मामिलामा तपाइँले कुटनीतिक मर्यादा नाघ्नुभएको वा अली फरक तरिकाले काम गरेको भए हुन्थ्यो भन्ने लागेको छ कि ?
यहाँ निर ‘ग्रे एरिया’ छ । भियना सन्धीको धारा ४१ को १ मा सम्बन्धित देशको कानून र नियमको सम्मान गर्दै बिना कुनै पूर्वाग्रह आफ्नो विशेषाधिकार र उन्मुक्तिको उपयोग गर्नु सबैको कर्तव्य हुनेछ । सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु पनि कर्तव्य हो भन्ने उल्लेख छ । त्यस्तै, २ मा पठाउने देशले सुम्पिएको काम आफू पुगेको देशको परराष्ट्र मन्त्रालय वा अन्य स्वीकृत मन्त्रालयसँग वा मार्फत सञ्चालन गरिनुपर्छ भनिएको छ ।

राजनीतिक एक्टिभिस्टलाई भेटदा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भने हामीले कुटनीतिक मर्यादाको उल्लंघन गरेकै हौं, तर यस्तो त धेरै कुटनीतिज्ञहरुले गरिरहेका छन् । सबै काम परराष्ट्र मन्त्रालयमार्फत मात्रै गर्नुपर्छ भन्ने हो भने हाम्रो दैनिक काम असम्भव नै हुन्छ ।

मैले अघि पनि भनें, परराष्ट्र मन्त्रालयले हामीद्वारा कुटनीतिक मर्यादा उल्लंघन भयो भन्ने ठानेको छैन तर, उक्त विषयको संवेदनशिलता र दूर्भाग्यपूर्ण समयका बारेमा ध्यान दिनुपथ्र्यो भन्ने चाहीं हो । अन्ततः परराष्ट्रमन्त्रालय नै हाम्रो मार्गदर्शक हो । हामीले फरक तरिकाले काम गर्नुपथ्र्यो । युरोपेली संघ मानिसहरुको गुनासा सुन्न जहिले पनि उत्सुक रहन्छ, यदि त्यस्ता मानिसहरु अपराधि सावित भइसकेका छैनन् भने ।

डा. राउतको मुद्दामा पनि अहिलेसम्म त्यस्तो सावित भएको छैन । यो निश्चित् मामिलामा भने हामीले कम संवेदनशिल समय पर्खेको भए उपयुक्त हुनेथियो भन्ने चाहीं हो । डा. राउतले पहिले पनि विभिन्न अन्तर्राष्ट्रिय व्यक्तिहरुको उपस्थितिमा जनसभा गरेका थिए । उनका विचारबारे सबैलाई थाहै छ । यसको अर्थ, उनीसँग कुरा गर्नेहरु उनका विचारहरुको समर्थक हुन् भन्ने होइन ।

युरोपियन युनियनलाई ‘दखल’ र ‘हस्तक्षेप’ शब्दसँग जोड्नु दुखद हो । नजिकबाट बुझ्नेलाई हामी सँधै रचनात्मक भूमिकामा हुन्छौं भन्ने थाहा छ । हामी नेपाललाई स्थिर र समृद्ध बनाउन विकास सहयोगका साथै लगानीलाई बढावा दिन्छौं । धेरै विज्ञप्तिहरुमा भनिसकेका छौं– नेपालको संविधानबारे हाम्रो आफ्नै विशेष विचार छैन, त्यसबारे नेपाली जनताले निर्णय गर्ने हो ।

धर्मपरिवर्तन जस्ता मुद्दामा सरकारले सार्वजनिक दबाबको प्रतिक्रिया दिइरहेको बेला युरोपेली राजदूतले प्रतिरक्षा किन गरेको ?

यो अर्को गलत बुझाई हो । इयुले धर्म परिवर्तनलाई समर्थन गर्दैन । जहाँसम्म बेलायतका राजदूतको अभिव्यक्तिको कुरा छ, त्यो मानवअधिकार घोषणपत्र अनुसार धर्मको छनोटबारे व्यक्तिको अधिकारसँग सम्बन्धित छ । त्यो नितान्त बेग्लै विषय हो, भोली म वौद्ध बन्न चाहें भने कसैले रोक्न सक्दैन भन्ने हो । गरिबीको नाजायज फाइदा उठाएर धर्म परिवर्तनका लागि उक्साउने कथित एनजिओहरुको काम मलाई ठिक लाग्दैन । युरोपेली संघका लागि यो अस्वीकार्य छ । हामी त्यस्ता एनजिओहरुलाई सहयोग पनि गर्दैनौं ।

नेपालको संविधान निर्माण प्रक्रियाबारे तपाइँको मूल्याङ्कन के छ ? तपाइँको दृष्टिकोणमा आदर्श परिणाम कस्तो हुनुपर्छ ?
अहिले लक्ष्य अलमलिए जस्तो भएको छ । ८ माघमा दलहरु धेरै नजिक पुगेपनि सहमति हुन नसक्दा हामी निराश भयौं । जहाँसम्म नतिजाको कुरा छ, पछिसम्म हेर्नुपर्छ । संविधान घोषणा भइसकेपछि स्थानीय निर्वाचन, आर्थिक विकासजस्ता जरुरी मुद्दाको सम्बोधनतर्फ देश अघि बढ्ने हो । त्यो नेपालका लागि सुखद क्षण हुनेछ । युरोपेली संघ यो प्रक्रियामा सघाउन प्रतिवद्ध छ ।

नेपाली टाइम्सबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>