टिप्पणीशनिबार, माघ २४, २०७१

भोटका कोठीको लूट

ज्ञानमणि नेपाल

भोटमा नेपाली महाजनहरू लुटिंदा ‘कि सबै सामान फिर्ता गराऊ, कि त लडाइँको लागि तयार होऊ’ भनेर काठमाडौंले चिठी लेख्दा पाँच महीनासम्म जवाफै आएन।

बीसौं शताब्दीको शुरूदेखि नै जंगबहादुरको पदोन्नति हुन लागेको थियो। कोतपर्वमा सम्पूर्ण भारदारलाई पन्साएर उनी क्रमैले मुख्तियार, प्राइममिनिस्टर हुँदै श्री ३ महाराजसम्मका पदवीले सुशोभित भए।

जंगका क्रियाकलापलाई लिएर उनका उपर अनेक बदनाम आइलागे पनि, उनी विरुद्ध दगाबाजी गरिए पनि ती सबैलाई सहेर, पन्साएर तीस वर्षसम्म अकण्टक शासन चलाए पनि एउटा सन्तान मोहरूपी गल्तीले गर्दा उनले खडा गरेको राणाराज्यको इमारतमा बारम्बार आघातका ठक्कर लाग्न लागे।

जंगको इच्छा प्राइममिनिस्टरीको रोलक्रम भाइमा जाओस् श्री ३ महाराजी चाहिं आफ्ना छोरामा रहोस् भन्ने भए पनि उनले यसमा राम्रोसँग परिबन्द मिलाउन सकेनन्। उनी बित्नेबित्तिकै दुवै पद एकैचोटि भाइ रणोद्दीपमा सारिहालियो।

प्राइममिनिस्टरीको रोलक्रम पनि भाइहरूपछि आफ्ना छोरामा अनि त्यसपछि भाइका छोरामा जाने पारिएबाट भाइका छोराको लागि यो रोल ‘आकाशको फल आँखातरी मर’ सरह भयो। जंगका जम्मै छोराको पालो पुगिसक्दा भाइका छोराले पालो पाउनु असम्भव नै थियो। यसले गर्दा भाइ भतिजाहरूमा वैमनस्यको बिरूवा बढ्न लाग्यो।

जंगप्रति रुष्ट अर्को समूह पनि सङ्घटित भइरहेको थियो। अधिकार खोसिएका राजा, युवराज त्रैलोक्य र कोतमा परेका भाइभारदारका सन्तान बदला लिने ताकतरहमा थिए। यस सङ्घटनको पोल पहिल्यै खुलेकाले सम्बद्ध सबै व्यक्तिहरू पक्राउ परेर एक–एक गरी काटिए, जसलाई ‘३८ साल पर्व’ भनिन्छ।

कोतपर्वका कारणी गगनसिंह खवास थिए भने ३८ साल पर्वका पोलाहा उनकै छोरा उत्तरध्वज खवास भए। युवराज त्रैलोक्य पहिले नै वितेका थिए। गद्दीनसिन राजा सुरेन्द्र र नजरबन्दमा रहेका बूढा राजा राजेन्द्र पनि त्यसैबेला बितेकाले नाबालक पृथ्वीवीरविक्रम शाह सिंहासनमा सुहाए।

सोझ्ासीधा धार्मिक प्रकृतिका रणोद्दीप हुँदा भाइ भतिजाकै भरमा शासन चलाउँथे। दरबारका एक–एक घटनाले विह्वल बनेका उनले तीन धाम यात्रा गरिसकेका थिए। यिनी कहिले शिकार त कहिले भारत भ्रमणबाट मन बहलाउन चाहन्थे।

यतिखेर पनि भारत भ्रमणको लागि बन्दोबस्त मिलाइदिन अंग्रेज रेजिडेन्टलाई भनिसकेका थिए। त्यहीबेला भोटमा नेपाली महाजनहरूको भएभरका पसल, कोठी लुटियो। यसबाट नेपालमा ठूलो खैलाबैला मच्चियो।

मुगाको एउटा माला खरीद गर्दा मोलमा किचलो उठी लूटकाण्ड मच्चिएको थियो। त्यस सम्बन्धमा यताबाट भोटका लामाहरूलाई चिठीपत्र लेखिन लागे। लूटको धनमाल जो जति हो, सबै फिर्ता गराऊ भनेर लेख्ता उताबाट जवाफै नआउने!

तिनताका भोटबाट चिठीपत्र आइपुग्न महीना डेढ महीना लाग्थ्यो। घोडा डाँक चल्दा अलि छिटो हुन्थ्यो। लद्दाखतिरको घोडाको डाँक पाँच दिनमा ल्हासा पुग्थ्यो। नेपालमा घोडाको डाँक २२ दिनमा आइपुगेको थियो।

यताबाट तागिता गरी सम्पूर्ण धनमाल फिर्ता गर, होइन भने लड्न तयार होऊ भनेर धम्कीपूर्ण पत्र पठाइए। दक्षिणतिर भाइसरायसँग युद्धमा चाहिने हातहतियार गोलीगट्ठा उपलब्ध गराइदिन आग्रह गरियो। नेपालस्थित रेजिडेन्ट मार्फत ताकिता पनि गरिंदै गइयो। भोटबाट केही जवाफ नआउँदै यता युद्धको तयारी भइसकेको थियो।

त्यसपछि भोट जाने नाकाका बाटाघाटा, पुलपुलेसाहरू धमाधम मर्मतसम्भार गरिनलागे। सातु, चिउरा, चामलको बन्दोबस्त हुन थाल्यो। भरिया र रङ्गरूटहरू धमाधम भर्ना गर्न थालियो। भोटमा भारी ओसार्न चौंरी पनि तयार राखियो। बास पर्ने ठाउँहरूमा घाँस–दाउराको जोहो हुन थाल्यो।

परन्तु, तिब्बतीहरूले ठूलो धनजनको क्षयव्यय हुने युद्धतिर नलागी सम्झौता वार्ता गर्न थाले। कोठी खोली भोटमा बसेका नेपाली बेपारी–महाजनहरूको धनमाल हिसाब गरी बुझाउन भोटका लामाहरू तयार भए। यसरी हुनहुनै लागेको भोट युद्ध टर्‍यो।

नेपालीको कोठी लूट सम्बन्धी संवाद

१९४० साल वैसाख वदी १ रोजदेखि चैत्रसुदी ११ रोजतक रजिडन्टसाहेबसंग कुराकहानी भयाको

४ रोज ५ मा

कम्याण्डर इन चीफः ल्हासाको हाल तपायींबाट लेफटेन बलबहादुरद्वारा सुन्नुभयो। हुनाता १ मुगाको मालानिमित्त झगडा उठेको बुझिन्छ तर मुगा खरीद गर्नेले मंजुर गरी ५ रूपैया दी खरीद बिक्री गर्ने दुवै थर आफ्ना आफ्ना ठाउंतर्फ गयापछी फेरी १ जनासीतको झ्गडामा सारा हुल उठी ८६ कोठी लुटीयाको देखदा यसै हो भंन हाल सकीदैन।…

रजिडेन्ट गर्लीस्टोनः तपायींबाट भंनुभयाको कुरो मुनासिब हो तर नेपाल गवर्मेन्टको काम गर्ने इष्टेटमेनहरू बहुतै होसियारी अकलमंद छन् भन्या मामला मेलैसीत तै होइजाला भन्या उमेद छ।…

क. सकेसम्म महाराज पनि मेलैसीत मामीला तै गर्ने कोसीसमा हुनुहुन्छ कोसीस गर्दा पनि केही लागेन भन्या मामिला संगीन हुन जानेछ।…

नेपाल–भोटमा घोडाको डाँक

४० साल भाद्र सुदी १ रोज १ दीन बीलायत जानालाई बिदा हुन रजिडन्ट साहेब नारानहीटी दर्बारमा आउंदा कुरा भयाको

श्री ३ महाराजबाट हुकुम भयाकोः भोट्को हाल तपायींलाई सुनाउंला भन्याको हो क्या गरूं अझ् जबाब पठायानन्

रजिडेन्टसाहेबले भनेकोः साह्रै ढीलायो कति अर्सा भयो? …

श्री ३: ४ महीनाको करीब भयो…

रजि. भोटबाट यांह डाक कतिमा पुग्छ…

श्री ३:
केही ठेगान छैन १ मैन्हा डेढ मेन्हामा आउंछ हाल महावीरले ताकीद गर्दा र हामिले पनि सेवानासम्म ताकीद गर्दा पछील्लो बाजीके डाक् २१ दिनमा आई पुग्या…

रजि.
भोटको लदाक्तर्फको डाक चाडै चल्दछ घोडाको डाक छ, लासाबाट लदाक ५ दीनमा जान्छ…

अब म रोक्सत हुन्छु। मलाई उमेद छ की महाराजको बंबैतर्फ हावा बदल्नालाई बेलैमा म याहां आईपुग्छु…

कोठी लूटपछि सम्झौता वार्ता बारेको संवाद

४० साल आश्विन वदी १ रोज २ का दीन अफीसेटिङ प्राईमिनिष्टरको रजिडन्सीमा सवारी भै रजिडन्ट मेजर वील्सनसंग कुरा कहानी भयाको

रजिडेन्टले भनेकोः
अैले यसमा यसै हो भनि म भंन सकदीन। अफसोस छ महाराजको यस्तो इरादा छ भनि गौरमेन्टमा म लेखी पठाउंछु जस्तो जवाव अउला सो बमोजिम भनुला अैले म भंन सक्दीन अफसोस छ की दीन भीर्कीयो अर्सा कम रह्यो…

अफिसेटीङ प्राइमिनिष्टरबाट मर्जि भयाकोः
साहेबका मेहोरबानी हो। तपायींबाट राम्रो पाठसंग लाठसाहेबका हजुरमा तारद्वारा खबर दीनुहोला भन्या महाराजाबाट भरोसा राखी बक्स्याको छ। अर्साका अर्थलाई पनि याहांबाट हीड्नालाई अरू १०। ११ दीन बाँकी छ बृटिसको इलाका सुगौली पुग्नालाई ६। ७ दीन लाग्नेछ। भन्या पछि भरसक यही छदै जबाब आइपुग्ला भयन भन्या सुगौलीसम्म जबाब झिकाई दीनु भया पनि हुन्छ…

रजि.
हुन्छ म तारद्वारा खबर पठाउंला…

अफिः
गर्डीस्टोन साहेबसंग अघी कुरा हुंदा २१० मानीस लैजानालाई हुकुम भयाको छ। १२। १४ (?) दीन अघी खबर दीनु भया बंदोबस्त गरी दीउंला भनी भन्याका हुन्। सुगौली सम्म सवारीसाथ हजार बाह्रसै मानीस ४०। ५० हात्ती जानेछन् वहादेखी उसो २४० मानिस जानेछन्…

रजिडेन्टले कुरा उठ्याकोः हिजो तपायींबाट तिब्बतको बात्‌मा लेखनुभयाको चिठीमा यौटा कुरा खुलेन। कुन कुरा भन्या नेपाल सरकारबाट धम्कि गयापछि भोटेले हामी दोसाधमा भारदार पठाई बंदोबस्त गर्छु भनि पठाउंदा नेपाल सर्कारबाट हुंछ भनि जनरल रणविरजंगलाई पठायाकोमा तेस्को नतिजा क्या भयो…

अफिः
यो कुरा गर्डीस्टोनसाहेबलाई महाराजबाट कैल्हे हुकुम भयाको छैन मैले पनि भन्याको छैन। जनरल रणविरजंग दोसाधमा गयाको पनि छैनन्। हामीले रजिडन्टसाहेबसंग यस बातमा कुराकानी चीठी मीमोद्वारा लेखापढी भयाको नकल हाम्रा दफदरमा छन्। तपाई भंनुहुंछ भन्या हेर्ना निमीत पठाइदींछु।

भोटेले हाम्रा चीठीकै जवाबै नपठाउदा र हाम्रा लुटीने महाजनहरूको माल् पनि भराई नदीदा औ ति भोटेहरूको केही विश्वास नहुंदा सेवानामा झीकाई बंदोबस्त भय मामीला चांडो ठेगाना लागला मेजर महाविरको ज्यान्को खौफ्को पनि बचाउ होला भंना नीमीत्त यो मामीला तै गर्नालाई भोट् सर्कारबाट अख्तियार पायाको आफ्ना भारदार हाम्रा वकीललाई दोसाधमा पठाई देउ यांहाबाट पनि भारदार खटी जान्याछ भनि हामीले भोट सर्कारलाई लेखेको हो।

भोटेले हामीलाई लेख्याका छैनन्। उल्टै सो हामीले लेखेका चीठीको ५ मैन्हाको करीब भयो र पनि अरू जबाबै पठायेनन्। भयाको कुरा यतिकै हो…

रजि. गर्डीलस्टोन साहेबले लेखेको त्यो घाको कुरा छुटेको हुनाले मात्र मैले सोच्याको हो। यो ठूलो कुरा केही होइन। जानाको २ दीन् अघी लेखेको रहेछ। जानाका हडबडीले भुल भयाको होला।…

अफिः
यति भयो तापनि हाम्रा महाजनहरूका लुटीयाका माल् भराई दींछन् भन्या दुवै तर्फलाई दुख हुन्या धेरै दौलथ मानीसको नोक्सान हुन्या काम् गर्नाको महाराजको इरादा छैन। मेलैसित साथ काम गर्नाको इरादा राखी बक्स्याको छ। हाम्रा महाजनका लुटीयाका धन् मालै पनि भराई दीयानन् भन्या हामीले नीच मार्नु हुन्या छैन…

रजि.
महाराजको र तपायींको अकलवंदी हो…

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>