रिपोर्टशनिबार, माघ २४, २०७१
‘इजी मनी’को खतरनाक धन्दा

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम को हत्याका मुख्य योजनाकार बाबु भनिने मेघबहादुर थापा।
– रामेश्वर बोहरा
राजनीति संरक्षित गुण्डा समूह र संगठित अपराधलाई समयमै नरोक्दा पैसाका लागि हुने जघन्य अपराध खतरनाक रुपले बढ्दैछ।
प्रहरीले अढाइ वर्षसम्म रहस्यमा रहेको न्यायाधीश रणबहादुर बम हत्याको मुख्य अभियुक्त मेघबहादुर थापा (बाबु) लाई पक्राउ गरेपछि देशमा मौलाएको अपराधको नयाँ स्वरुप बाहिर आयो।
मध्य तराईको अपराधकर्ममा राज गरेका ढुंग्रेखोला, सर्लाहीका ३८ वर्षीय थापाले चुरे भावर राष्ट्रिय एकता पार्टीको उपाध्यक्ष बनेपछि पार्टी नेतृत्व हत्याएर काठमाडौंको सत्ता–समीकरणमा समेत ‘फिट’ हुने योजना बनाएका थिए। त्यो सपना तुहिएपछि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश बमको हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन्।
थापाले पार्टी अध्यक्ष केशव मैनालीलाई हटाएपछि निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको पार्टी आधिकारिकता सम्बन्धी मुद्दामा न्यायाधीश बमको इजलासले मैनालीको पक्षमा फैसला गरेको थियो। आफू अध्यक्ष बनेपछि संयुक्त सरकारमा गृहराज्यमन्त्री पाउने वातावरण बनिसकेको थापाले बताएका छन्। “त्यही फैसलाले सारा योजना चौपट पार्योउ” थापाले बयानमा भनेका छन्, “त्यसकै प्रतिशोध लिन हत्या गरें।”
भारतीय गोर्खा पल्टनका भगौडा थापा २०६३ सालसम्म सर्लाहीको हरिऔन क्षेत्रमा एउटा सामान्य ‘गुण्डा’ थिए। २०६३ मा चर्केको मधेश आन्दोलनबाट रुष्ट समूहलाई समेटेर मैनालीले खोलेको चुरे भावर पार्टीमा लागेका थापाले राजमार्ग आसपासका ‘मधेश आन्दोलन विरोधी’ समूहको नेतृत्व गरेर प्रभाव विस्तार गरे। त्यसबाट मिलेको वाहवाहीलाई उनले तस्करी, लूटपाट, अपहरण लगायतका अपराधमा लगाए।

रणबहादुर बम
समाजको वाहवाहीमाथि प्रहरी–प्रशासनले देखेको नदेख्यै गरेपछि उनी फुक्काफाल भएर अपराधकर्ममा हौसिए। आपराधिक धन र राजनीतिक रंगले थापालाई चाँडै नै काठमाडौंको सत्ता–समीकरणमा छिर्ने महत्वाकांक्षी बनायो।
“केन्द्रमा समेत पावर बढाउँदा पैसा र शक्ति आर्जनको तह अझै फराकिलो हुन्थ्यो”, बम हत्याकाण्डको रहस्य सुल्झाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “सानो आकारमै हुँदा अपराधकर्मको ‘ट्याकल’ नहुँदा उनी ठूलो अपराधमा संलग्न हुन पुगे।”
यस्तै, निकै कमजोर आर्थिक पृष्ठभूमिका सञ्जय साह (टक्ला) अपराधकर्मबाट आर्जित सम्पत्तिकै आडमा २०६३ पछि सद्भावना पार्टीको उपाध्यक्ष हुँदै सांसद् र मन्त्रीसम्म बने। अपराधजनित राजनीतिक दाउपेचमा उनको योजनामा १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोटमा पाँच जनाको ज्यान गयो। जनकपुर र आसपासका क्षेत्रमा ‘माफियाराज’ चलाएर राजनीतिक हैसियत बनाएका साह अहिले जेलमा छन्। (हे. http://nepalihimal.com/article/806)।
कालो धनको असर
सीआईबी प्रमुख ठकुरी वित्तीय अपराधबाट राजनीतिक प्रभाव बढाउने थापा, साह लगायतका ‘गुण्डा’हरूमाथि समयमै छानबीन भएको, ओहोदामा रहेकाले संरक्षण नगरेको वा समाजले पनि प्रोत्साहन नगरेको भए यो स्थिति नआउने बताउँछन्। यस्ता ‘गुण्डा’ समूहसँगै सरकारी ओहोदावालका गैर–कानूनी सम्पत्ति आर्जन, निजीक्षेत्रको कर छली, ब्यांक/वित्तीय संस्था तथा तिनका सञ्चालकहरूको ठगी, आधुनिक प्रविधिको प्रयोगबाट गरिने ठगी, विदेशी मुद्राको अपचलन जस्ता कसूरहरूलाई वित्तीय अपराध मानिन्छ।

भैरहवाका आकाश गुरुङ
विश्वका सबै मुलुकका निम्ति टाउकोदुखाइ बनिरहेको छ– वित्तीय अपराध। अपराधबाट आर्जित धन आतंकवादी क्रियाकलापमा प्रयोग हुनसक्ने भएकाले आर्थिक उद्देश्यबाट प्रेरित सबैखाले अपराधलाई वित्तीय अपराधका रूपमा लिएर विश्वभरका मुलुकले कानूनी कडाइ थालेका छन्।
तर, नेपालमा अवैध तरिकाबाट कमाएको पैसा विभिन्न व्यवसाय र सम्पत्तिमा लगानी गरेर ‘ह्वाइट मनी’ बनाएकाहरूमाथि छानबीन नहुँदा समाजका हरेक तहमा यसको असर देखिन थालेको छ। लेनदेनका विषयमा भइरहेका अपहरण र हत्यादेखि सम्पत्तिका निम्ति परिवारभित्रै भएका जघन्य अपराधसम्मका घटना त्यसका उदाहरण हुन्।
अपराधको जड पैसा
ललितपुरको इमाडोल बस्ने कौडेना–३ सर्लाहीका नागेन्द्र राउत (३६) गत १८ मंसीरको बिहान अपहरणमा परेको सूचना पाएपछि परिचालित प्रहरीले उनलाई साँझ् गौशालाबाट मुक्त गर्यो । राउतको मुक्तिसँगै गौशाला बस्ने गमहरिया–८ सर्लाहीका गगनदेव साह (४३), गमहरिया–७ का विजयकुमार साह (२८) सहित ६ जना समातिए। सापटी लिएको रु.५ लाख फिर्ता नगरेपछि राउत अपहरणमा परेको प्रहरी अनुसन्धानमा खुल्यो।
त्यसअघि २२ भदौमा ललितपुरको जावलाखेलबाट अपहृत लेगुवा–३ धनकुटाका सन्तोष कार्की (२५) लाई प्रहरीले डिल्लीबजारको कालिकास्थानबाट मुक्त गराएको थियो। त्यसक्रममा धादिङका मानबहादुर तामाङ (३०) र आइतराज तामाङ (२२) तथा मकवानपुरका अनिश थिङ तामाङ (२१) समातिएपछि प्रहरीले थाहा पायो– कार्कीले विदेश पठाउन लिएको रकम अपहरणको कारण रहेछ।
रूपन्देहीको सिद्धार्थनगर–१ बर्मेली टोलका आकाश गुरुङ (३८) को अपहरण र हत्याले पनि लेनदेनसँग सम्बन्धित अपराध कति खतरनाक रूपमा बढेका छन् भन्ने देखाउँछ। गत २८ भदौको बिहान एकछिन बजारमा बोलाएका अपहरणकारीहरूले गुरुङको मुक्तिको लागि रु.१ करोड फिरौती मागेको करीब दुई घन्टापछि नै ३१ भदौ बिहान १० बजेतिर नवलपरासीको पूर्वपश्चिम राजमार्गको भुताहादेखि दुई किलोमिटर उत्तरमा उनको हत्या गरेका थिए।

भैरहवाका आकाश गुरुङको आर्थिक लेनदेनको मुद्दा अपहरण हुँदै हत्यासम्म पुग्यो। उनको अपहरण र हत्यामा संलग्न यादव कुँवर, मनिराम चाई, सफिक मुसलमान, नन्दुराम चौधरी र देवानन्द फौज्दार (बायाँबाट क्रमशः)।
प्रहरीका अनुसार, आकाशलाई सफिक आलम र मनिराम चाइले नवलपरासी पुर्यागएका थिए। सफिकले आफ्नो छोरा विदेश पठाउन रु.४ लाख र मनिरामले एक लाख गुरुङ मार्फत कृष्ण भट्टराई भन्ने व्यक्तिलाई दिएको र भट्टराई सम्पर्कविहीन भएपछि गुरुङको अपहरण र हत्या भएको प्रहरी अनुसन्धानमा खुल्यो।
कोरिया, पोल्याण्ड लगायत देशमा काम गरेर फर्केका गुरुङ वैदेशिक रोजगारमा जान चाहनेहरूलाई भट्टराईसँग भेटाएर लेनदेनमा जमानी बस्ने गरेको उनको टेलिफोन कल डिटेल र एसएमएसबाट खुलेको प्रहरी बताउँछ। प्रहरीका अनुसार, गुरुङलाई सफिक र मनिरामले नवलपरासीमा बुझाएको अर्को आपराधिक समूहले फिरौती माग र हत्या गरेको थियो। अपहरण र हत्यामा देवानन्द फौजदार, यादव कुँवर र नन्दलाल चौधरी पनि सामेल थिए।
७ मंसीरमा रूपन्देही–कपिलवस्तु सीमास्थित रूपन्देहीको विष्णुपुरा–५ मा प्रहरीसँग भएको ‘मूठभेड’ मा भारतीय नागरिक सर्फराज खान मारिनुको साथै भैरहवाका अखिलेश यादव, भारतीय नागरिकद्वय अखिलेश मुसलमान र हाफिजल्लाह मुसलमान समातिएपछि आकाश गुरुङ हत्याको भित्री पाटो खुलेको थियो। “गुरुङ हत्याको कारण लेनदेन मात्रै थिएन” घटनाको अनुसन्धान गरेका सीआईबीका डीएसपी भीम दाहाल भन्छन्, “पैसा नदिए सबैको त्यही गति हुन्छ भन्ने ‘टेरर’ फैलाउन पनि आकाश गुरुङको हत्या गरिएको थियो।”
त्यही अनुसार, योजनाहरू बने। त्यस्तै योजनामा भैरहवाका एक जना व्यापारीबाट पैसा असुल्न हिंडेको समूहको पछि लागेको प्रहरीसँगको ‘मूठभेड’ मा सर्फराज खान मारिएका थिए।
धनको घातक पाटो
महानगरीय प्रहरी परिसर काठमाडौंमा अहिले दैनिक ७–८ वटा ‘बाउन्स चेक’ का उजुरी आइरहेका छन्। विनिमय पत्र ऐन २०३४ अनुसार अदालतमा चलाउनुपर्ने यस्ता मुद्दाको प्रक्रिया लामो हुने भएकाले पीडितहरू कानूनतः लेनदेनका मुद्दा हेर्ने अधिकार नभएको प्रहरीकहाँ आउँछन्।
प्रहरीले यस्ता केस नहेर्दा पीडितहरू गुण्डा र आपराधिक समूहको शरणमा जान थालेकाले उजुरी लिने गरेको परिसर प्रमुख एसएसपी उत्तम कार्की बताउँछन्। धेरै केसमा प्रहरीले ‘मिलापत्र’ बाट असूली गराइदिन्छ भने निकै कम मात्र मुद्दामा जान्छन्। “केही ब्यांकरले समेत ऋण उठाउन गुण्डा गुहारेको पाइयो” एसएसपी कार्की भन्छन्, “मिलिभगतमा दिएको ऋणको धितो नहुने वा निकै कम हुने अनि ऋण उठाउन राज्यसंयन्त्रलाई खबर गर्दा पोल खुल्ने डरले ब्यांकरहरू गुण्डा प्रयोग गर्छन्, अपहरण गराउँछन् र असूल गर्छन्।”
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाह दुई लाख रुपैयाँको मुद्दा दुई वर्ष लड्नुपर्ने अवस्था रहेसम्म पीडितहरूले अपहरण, हत्या जस्ता जघन्य अपराधका लागि गुण्डा वा आपराधिक समूह गुहार्न नछोड्ने बताउँछन्। “यसको लागि ‘फास्ट ट्रयाक कोर्ट’ अत्यावश्यक भइसकेको छ”, एआईजी शाह भन्छन्।
माओवादीको दशक लामो हिंसात्मक विद्रोहसँगै घरजग्गा कारोबार, वैदेशिक रोजगारका लागि म्यानपावर व्यवसाय लगायत चाँडै नाफा कमाउने ‘बिजनेश’ बढ्यो भने गुण्डागर्दी–अपराधकर्म पनि आर्थिक उपार्जनको पेशा बन्यो।
रक्तचन्दन, सुन, लागूऔषध तस्करी र गिटी–ढुंगा–बालुवा कारोबारमा संगठित गुण्डाहरू आए। ऋण लिएर नतिर्ने प्रवृत्तिले वित्तीय संस्थाहरूमा पनि अपराध प्रवेश गरायो। द्वन्द्वपछि जन्मिएको माओवादीको ‘अर्धसैन्य’ प्रकृतिको वाईसीएलको प्रतिकारमा अरू दलले पनि त्यस्तै दस्ता बनाए।
राजनीतिक छहारीमा फस्टाएका यस्ता समूहहरू दल वा नेताहरूमाथि नै लगानी गर्ने हैसियतमा पुगे। हत्या अभियोगमा जेलसजाय भोगिरहेका तरुण दलका चितवन अध्यक्ष शिव पौडेलमाथि २१ मंसीर २०६८ जिल्ला कारागारभित्रै सांघातिक आक्रमण हुनु यही प्रवृत्तिको परिणाम थियो।
त्यो बेला चितवनमा पैसाका लागि जुनसुकै अपराधमा हात हाल्ने दुइटा समूह थिए। त्यसमध्ये नेपाली कांग्रेसबाट संरक्षित गुण्डा समूहका नाइके पौडेल थिए भने अर्को समूहलाई एमालेको संरक्षण थियो। एकले अर्काको ‘धन्दा’ मा धावा बोलेपछिको परिणामस्वरुप निम्तिएको आक्रमणमा परेका पौडेलको उपचारका क्रममा २ पुसमा मृत्यु भयो।
“यस्ता समूहले कानून व्यवसायी र राजनीतिक दल–नेतादेखि प्रहरी सम्मलाई किन्छन्” एक जना प्रहरी अधिकृत भन्छन्, “जसरी कमाएको भए पनि धन हुनेलाई समाजले आँखा चिम्लेर सम्मान दिने चलनले यस्ता समूहलाई प्रोत्साहित गरेको छ।”
वित्तीय अपराधको जालो
अपराधशास्त्री रजितभक्त प्रधानांग दशवर्षे द्वन्द्वको निरुपण राम्रोसँग नहुनु र राजनीति पनि एकदमै तरल हुन पुग्नुको अवस्थाभित्र वित्तीय उद्देश्यको अपराध मौलाएको बताउँछन्। उनका अनुसार, नेताहरूले चन्दा वा अरू वित्तीय लाभको लागि आपराधिक समूहलाई राजनीतिक संरक्षण दिंदा मौलाएको अपराधले साना हतियारको प्रयोग पनि बढाउँदैछ। यसले आतंकवादसम्म डोर्याएउने खतरा बढ्दैछ।
नेपालमा वित्तीय अपराध कसरी बढेको छ भने सीआईबीले तीन वर्षयता ब्यांकिङ कसूर गरेको अभियोगमा २० वटा ब्यांक/वित्तीय संस्थाका रु.१८ अर्ब २८ करोड ७१ लाख २३ हजार बराबरको नोक्सानी पुर्यासएका ७० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रु.१ अर्ब ९६ करोड ५ लाख ४७ हजार नोक्सानी पुर्याुएको मुद्दा परेका नेपाल शेयर मार्केट्सका योगेन्द्रप्रसाद श्रेष्ठ लगायत छन्।

स्रोतः प्रहरी प्रधान कार्यालय
सीआईबीले अनुसन्धान गरेको ‘मनी लण्ड्रिङ’ सम्बन्धी ८ मुद्दामध्ये आतंककारी गतिविधिबाट रु.१३ करोड १५ लाख २९ हजार आर्जन गरेको अभियोग लागेका भारतीय नागरिक निरञ्जन होजाई र उनकी पत्नी सरिता गिरी विशेष अदालतको फैसलापछि जेल चलान भइसकेका छन् भने जनकपुर बमकाण्डका दोषी सञ्जय साहको अवैध सम्पत्ति सम्बन्धी मुद्दा अनुसन्धानको क्रममा छ। सीआईबीले भीओआईपी प्रविधि मार्फत कल बाइपास गरी दूरसञ्चार कम्पनीहरूलाई रु.१० अर्ब ८१ करोड ८९ लाख ६२ हजार बराबरको नोक्सानी पुर्यारएका ७५ वटा घटनामा ९८ जना नेपाली र ३१ विदेशीलाई पनि पक्राउ गरी मुद्दा चलाएको छ।
वित्तीय अपराधमा प्रहरीले चलाएका मुद्दाको आँकडाले यसको डरलाग्दो रूप देखाउँछ (हे. चार्ट)। “सबभन्दा डरलाग्दो कुरा, अपराध पैसा कमाउने पेशा बनेको छ”, प्रहरी प्रवक्ता डीआईजी माधव जोशी भन्छन्, “समयमै नियन्त्रण गर्न सकिएन भने यो प्रवृत्ति समग्र सुरक्षा व्यवस्थामाथि नै ‘थ्रेट’ बन्न सक्छ।”
________________________________________
पैसाको लागि नाताको बलि
पैसाका अगाडि नातासम्बन्ध पनि गौण बन्दैछ। केरौन–६ मोरङकी देउमाया कटुवालले सम्पत्ति एकलौटी पार्न गत १३ मंसीरमा पति छत्रबहादुरको हत्या गराइन्, रु.५० हजार खर्च गरेर। १० महीनाअघि वैदेशिक रोजगारबाट फर्केका छत्रबहादुरले इटहरीमा किनेको जग्गा आफ्नो नाममा गर्ने उनको योजना रहेको प्रहरीको भनाइ छ। त्यसअघि ६ जेठ २०७० मा पूर्वसभासद् सदरुल मियाँ हकलाई सम्पत्ति हत्याउनकै लागि पत्नी र छोरीले हत्या गराएका थिए। सप्तरीको कल्याणपुर–२ विसनपुरमा रहेको आफ्नै पेट्रोलपम्पमा हकको हत्या गर्न पत्नी नुरजहाँ र छोरी रुवेदाले भाडाका हत्यारा प्रयोग गरेको प्रहरी अनुसन्धानपछि खुलेको थियो। प्रहरीसँग यस्ता घटनाको लामो फेहरिस्त छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
