रमझमशनिबार, माघ २४, २०७१
व्यक्ति र आवाजबीचको द्वन्द्व– षमिताभ
निर्देशक आर बाल्कीको अमिताभ बच्चन र प्रयोगात्मक फिल्मसँगको प्रेम जारी नै छ । पहिले ‘चीनी कम,’ त्यसपछि ‘पा’ र अहिले ‘षमिताभ’ । अघिल्ला दुई फिल्महरु अमिताभ बच्चनकै लागि लेखिएका थिए भने ‘षमिताभ’ पनि त्यसको अपवाद होइन ।
‘षमिताभ’ एकप्रकारले अमिताभ बच्चनको आवाजलाई दिइएको ‘ट्रिब्यूट’ हो । कथा बलिउड मसला फिल्मभन्दा फरक भए पनि पूरै फिल्मी छ । तर, रमाइलो छ ।
दानिश (धनुष) सानैदेखि एक्टर बन्न चाहन्छ तर बोल्न सक्दैन । एक दिन अचानक फिल्मकी असिस्टेन्ट डाइरेक्टर अक्षरा (अक्षरा हसन) सँग ठोक्किन पुग्छ । अक्षराले सहयोग गर्छे । एउटा यस्तो प्रविधिको निर्माण गरिन्छ जसमार्फत बोल्न नसक्ने व्यक्ति अरुको आवाजका माध्यमबाट बोल्न सक्ने हुन्छ ।
दानिशका लागि आवाजको खोजी बुढो र जँड्याहा अमिताभ सिन्हा (अमिताभ बच्चन) सम्म पुगेर टुंगिन्छ ।
फिल्मको सबैभन्दा बलियो पक्ष भनेको कलाकारहरुको दमदार प्रस्तुती हो । आर बाल्कीले जहिले पनि अमिताभलाई बेग्लै रुपमा प्रस्तुत गरेका छन् । एउटा क्षुब्ध र झक्की स्वभावका वृद्धका रुपमा अमिताभको प्रस्तुती बेजोड छ । साउथका सुपरस्टार रजनिकान्तका ज्वाइँ धनुषले राँझणापछि फेरि एकपटक राम्रो अभिनय गरेका छन् । अमिताभको आवाजलाई न्याय दिन सक्नु उनको ठूलो उपलब्धी मान्नुपर्छ ।
फिल्मको अर्को विशेषता भनेको संवाद हो । कतिपय ठाउँमा संवादमा गज्जबको पञ्च पाइन्छ । फिनल्याण्डका हिउँमय दृष्यलाई पीसी श्रीरामले फिल्ममा सुन्दररुपमा प्रस्तुत गरेका छन् ।