थप समाचारआइतबार, माघ २५, २०७१
अमेरिकी–नेपाली बालबालिकामा सांस्कृतिक अन्योल
‘अबका केही बर्षमा अमेरिकाको अध्यगमनमा काम गर्ने कर्मचारी नेपाली मूलका अमेरिकी हुनेछन्, अमेरिकी सुरक्षा निकायमा नेपाली नाम देखा पर्नेछन् ।”
अमेरिकास्थित ह्योल्मो सोसाइटीका अध्यक्ष पेम्बा दोङबा ह्योल्मोले ल्होसारको कार्यक्रममा उपस्थित मासलाई सम्बोधन गर्ने क्रममा भनेका विचार हुन् यी । उनका भना अमेरिकामा हुर्कदै गरेका नेपाली मूलका अमेरिकी बालबालिकाहरु प्रति लक्षित थियो ।
सैंयौं बालबालिकाहरु आफ्ना अभिभावकका साथमा परम्परागत पोशाकमा सजिएर ह्योल्मो ल्होसार मनाउन क्वीन्सस्थित गुल्सन टेरेस हलमा उपस्थित भएका थिए । उनीहरुले दिनहूँ स्कुलमा देख्ने भन्दा बिल्कुलै फरकमा माहौलमा उनीहरु रमाउँदै थिए ।
उनीहरुले केही नयाँ साथीहरुसँग भेटे, सँगै उफ्रे, खेले, आफूभन्दा दाजु–दिदीहरुले गाएको हेरे, नाचेको देखे । कार्यक्रमको शुरुमा नेपाली राष्ट्रिय गान गाउँदा उकुसमुकुस देखिएका बालबालिका अमेरिकी राष्ट्रिय गान पनि घन्किदाँ फररर सँगसँगै गाए, स्वरै निकालेर ।
अमेरिकामा हुर्कदै गरेका नेपाली मूलका अधिकांश अमेरिकी बालबालिकाहरु यसरी नै बेलाबखत हुने मौलिक कार्यक्रमहरुमा अभिभावकका साथमा पुग्छन् । त्यहाँ उनीहरुले जे देख्छन, नौलो लाग्दछ । स्कुलमा उनीहरु क्रिसमसका बारेमा छलफल गर्छन्, ‘थ्याङ्क्स गिभिङ डे’ का बारेमा सिक्छन् । ल्होसार, दशैं, माघे संक्रान्ती, छठ पर्व, उधौली–उभौलीका बारेमा बिरलै सिक्ने अवसर पाउँछन् ।
यसो हुँदाहुदै पनि अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आफ्नो मौलिक सँस्कार संस्कृतिलाई जीवन्त राख्न भरमग्दुर प्रयास गरेका भने छन् । नेपालीसँग गाँसिएका बिभिन्न संघ–संगठनहरु खोलिएका छन् । सामुदायिक भवनहरु बनाइदैं छन् । चाडपर्वहरु सामूहिक रुपमा मनाउँदै आएका छन् ।
गुरुङ समुदायले १५ पुषमा ल्होसार मनाए । ह्योल्मो समुदायले, तामाङ समुदायले केही दिनअघि आ–आफ्नै समूहमा ल्होसार मनाएर सिध्याए । शेर्पा समुदाय ल्होसार मनाउन तम्तयार छन् । समुदाय पिच्छे नामाकरण गरी पर्वहरु मनाउँदा बालबालिकामा अझ अन्योय सिर्जना हुने जानकारहरु बताउँछन ।
अमेरिकामा अब कुनै जाति वा समुदाय विशेषको चाडपर्वभित्र सिमित नराखी नेपाली चाडपर्वको रुपमा मनाउँदा अझ राम्रो हुने धेरैले भन्ने गर्दछन् । यसो गर्नाले अबका केही वर्षमा अमेरिकी क्यालेन्डरमा नेपाली चाडपर्व पनि समेटिएका की ?
ङिमा पाख्रिन, न्युयोर्क, अमेरिका
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
