थप समाचारसोमबार, माघ २६, २०७१
इजिप्टः फुटबल प्रशंसक र प्रहरीबीच झडप, २० को मृत्यु
इजिप्टको राजधानी काहिरास्थित रंगशाला बाहिर फुटबलका प्रशंसक र प्रहरीबीच भएको झडपमा २० जना भन्दा धेरैको ज्यान गएको छ ।
काहिराका अधिकारीहरुका अनुसार जमालेक फुटबल क्लबका प्रशंसक बिना टिकट जबरजस्ती रगशालामा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो । एयर डिफेन्स स्टेडियम बाहिर प्रतियोगिता शुरु हुनुअघि भएको झडपमा २० भन्दा धेरै आफ्ना प्रशंसकहरु मारिएको क्लबले जनाएको छ ।
आइतबार जमालेक र एनप्पीबीचको प्रतियोगिता शुरु हुने बेला रंगशाला प्रशासनले एउटामात्रै गेट खोलेकाले भीड बढेको र त्यसैमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भएको धकेलाधकेल र उकुसमुकसमा धेरैको मृत्यु भएको क्लबको दाबी छ ।
यो घटनापछि सरकारले इजिप्टको लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको छ ।
यसअघि फेब्रुअरी २०१२ मा इजिप्टको पोर्ट सैद शहरमा एक प्रतियोगिता पछि भडकिएको हिंसामा ७० भन्दा बढीको ज्यान गएको थियो ।
इजिप्टमा फुटबल निकै लोकप्रिय खेल हो र यसका प्रशंसकहरु धेरै राजनीतिक आधारमा विभाजित हुने गर्छन् । सन् २०११ मा होस्नी मुबारकलाई सत्ता च्यूत गर्नमा फुटबल प्रशंसकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ ।
एजेन्सी