रिपोर्टसोमबार, माघ २६, २०७१

पूर्वलडाकूहरुको कष्टकर निर्वाह

हिमालखबर

माओवादीका घाइते लडाकूहरु पार्टीप्रति आक्रोश जनाउँदै कष्टपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

गोपाल गडतौला, झापा

एसएलआर बोकेर तस्वीर खिचाउँदै पूर्वलडाकू विष्णुमाया लिम्बू र साथमा उनकी साथि बिनिता राई । तस्वीरहरुः गोपाल गडतौला

एसएलआर बोकेर तस्वीर खिचाउँदै पूर्वलडाकू विष्णुमाया लिम्बू र साथमा उनकी साथि बिनिता राई । तस्वीरहरुः गोपाल गडतौला

ठाउँठाउँमा शल्यक्रिया गरेर सिलाएको शरीर । सुत्न–उठ्न, नुहाइ–धुवाइ र चर्पीमा समेत अर्काको सहयोग चाहिन्छ । ह्विलचेयरमा बस्दा–बस्दा घाउ भइसकेको छ । १७ माघमा श्रीमती बुद्धरानीले ड्रेसिङ गरेर ह्विलचेयरमा राखिदिएपछि अमरकुमार चेम्जोङले भने, “पार्टीको खेलो, यस्तै भयो ।”

पाँचथरको नवमीडाँडा घर भएका ४१ वर्षीय चेम्जोङ २०५८ माघमा चार छोराछोरीलाई श्रीमतीको भरमा छाडेर ‘राज्य जित्न’ हिंडेका थिए । माओवादी बनेर पूर्वका पहाडी जिल्ला चहार्ने क्रममा उनी तत्कालीन राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकारले २४ माघ २०६२ मा गर्न लागेको नगर निर्वाचन बिथोल्न जाँदा धनकुटामा सेनासँग आमनेसामने भए । “मैले इन्सास राइफल बोकेको थिएँ, तर पहिल्यै उताबाट छुटेको गोली मेरो मेरुदण्डको नसा छिनाउँदै वारपार भयो” चेम्जोङ भन्छन्, “त्यसैले जीवनभर ह्विलचेयरमा बस्ने बनायो ।”

पूर्वलडाकू सुरेश दोस्री श्रीमती विष्णुमायाका साथ ।

पूर्वलडाकू सुरेश दोस्री श्रीमती विष्णुमायाका साथ ।

क्यान्टोनमेन्ट बसाइको अन्तिमतिर २०६८ सालमा जुटेको करीब रु.१२ लाखले चुलाचुली–१ मा किनेको साढे तीन कट्ठा जमीन र तीन कोठाको भुईंघरमा चेम्जोङको ९ जनाको परिवार अटाएको छ, अहिले । श्रीमती र छोराबुहारीले ठेक्कामा लिएको जमीनबाट मुश्किलले परिवार चलेको छ । “बुढ्यौलीले गाँज्दै जाँदा परिवारको लागि यो भन्दा ज्यादा बोझ बन्ने भएँ”, चेम्जोङ भन्छन् ।

अमरकुमार चेम्जोङ ।

अमरकुमार चेम्जोङ ।

अर्का माओवादी पूर्वलडाकू सुरेश तामाङ (३३) बेलाबखत सिन्धुपाल्चोक मानेस्वारा–४ स्थित आफ्नो घरमा आइपुग्ने माओवादीका भूमिगत नेता–कार्यकर्ताहरूलाई खानपिनको व्यवस्था मिलाइदिने र बाटो बताइदिने गर्दागर्दै क्रान्तिका कुरा सिकेर कमरेड बनेका थिए । २०५८ सालमा श्रीमती रेनुका सहित भूमिगत भएका उनी सिन्धुलीको भिमान, काभ्रेको भकुण्डेबेंसी, इलामको पशुपतिनगर, संखुवासभाको चैनपुर, मोरङको जाँते, सिरहाको बन्दीपुर र झापाको सुरुङ्गामा मृत्यु नजिक पुगेर बचे । दुइटा गोली अझै उनको कुम र तिघ्राभित्र छ । “१९ साउन २०५९ मा दोलखाको भिडन्तमा रेनुका ‘शहीद’ हुँदा म काभ्रेमा थिएँ”, १० वर्षदेखि शरीरमा गोली बोकेर हिंडिरहेका तामाङ भन्छन्, “उनको लाशै नभेटी घरमा काजक्रिया भयो ।”

शरीरभित्र नसामा जेलिएर रहेका गोली झिक्न जटिल र महँगो शल्यक्रिया गर्नुपर्ने भएपछि उनी त्यसै हिंडिरहेका छन् । गोलीका कारण गर्मीमा बेस्सरी जीउ पोल्छ र जाडोमा दुख्छ । जीवन पार्टीले दिएको भूमिगत नाम ‘सुनसान’ जस्तै बनेको उनको अनुभूति छ । यद्यपि, चुलाचुली क्यान्टोनमेन्टमा रहँदा २०६४ मा विष्णुमाया लिम्बूसँग बिहे भएर उनीहरूको ६ वर्षको छोरा पनि छ । स्वेच्छिक अवकाशपछि दुवैले पाएको रु.१२ लाख छोराको पढाइ र डेरा बसाइमा सकिन लागेको छ । “हिंडेको बाटो टुंगोमा पुगिएन” तामाङले भने, “बेकारमा जीउ गलाइयो ।”

युद्धकालमा ‘सविता’ उपनाम पाएकी श्रीमती विष्णुमाया चाहिं निकै निराश र आक्रोशित छिन् । क्रान्तिको सपना देखाउने नेताहरू निजी स्वार्थमा लिप्त भएको उनको बुझाइ छ । नौ कक्षा पढ्दापढ्दै २०५८ भदौमा ताप्लेजुङको खेचेनिम–३ स्थित घरबाट भूमिगत भएकी उनलाई अहिले माओवादी पार्टीमा लागेर नोक्सान नै नोक्सान भएको लाग्छ । “क्रान्तिका ठूला कुरा गर्नेहरूले हामी सानाहरूको जीवन बर्बाद पारिदिए”, लिम्बू भन्छिन् ।

लडाकू शिविरमा रहँदा मनकुमार र सुनिता ।

लडाकू शिविरमा रहँदा मनकुमार र सुनिता ।

यस्तै, शरीरबाट दुई वटा गोली निकालेका ताप्लेजुङको साँघु–६ का मनकुमार तामाङ (३१) अहिले कम्प्युटर मर्मत पसल चलाएर तोपगाछीमै बसेका छन् । २०५८ सालमा ताप्लेजुङको साँघु–६ को घरबाट भारतीय सेनामा भर्ती हुन दार्जीलिङ जाँदा दलालहरूले कागजपत्र बनाउन भन्दै पैसा मागेपछि उनी त्यसै फर्के, तर घरमा उनीभन्दा पहिले रु.१ लाख चन्दाको माओवादी उर्दी आइपुगेको रहेछ । उनका बुबा फुर्वा रोजगारीको लागि खाडी मुलुक गएकाले माओवादीले तामाङ परिवारलाई पूँजीपति वर्गमा राखेको थियो । “पैसा नदिए मान्छे लग्छौं भन्दै पहिला कार्यक्रममा जाऊँ भने”, चेपुवामा परेर माओवादी लडाकू बन्नुपरेको सम्झिंदै तामाङ भन्छन्, “गएपछि यस्तो अवस्था आयो कि घर फर्कंदा सरकार पक्षबाट खतरा भयो ।”

तीन वर्ष माओवादी लडाकू भएका उनले क्यान्टोनमेन्टमा रहँदा २०६४ सालमा एउटा अन्तर्राष्ट्रिय संस्थाले दिएको दुईमहीने कम्प्युटर मर्मत तालीम लिएका थिए, अहिले त्यही सिपलाई जीविकाको माध्यम बनाएका छन् । तोपगाछी–१ मा कोठा भाडामा लिएर कम्प्युटर मर्मत गर्ने तामाङले क्यान्टोनमेन्टबाट बाहिरिंदा श्रीमती सुनिता मगर र आफूले पाएको रु.११ लाखले तोपगाछीमै डेढकट्ठा जमीन किनेका छन् । “युद्धको अनुभव गरिखान काम लाग्ने खालको छैन” ६ महीनाको छोरो हुर्काउँदै गरेका तामाङले भने, “एकदमै दुःखले परिवार चलाउँदैछु, पार्टीको ताल अर्कै छ ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>