थप समाचारसोमबार, माघ २६, २०७१
चिठ्ठा पर्यो भनेर ठगी गर्ने पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्दै आएका एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत, विहारको मधुवनीमा २३ वर्षीय मनिष भगतलाई पक्राउ गरेर २६ माघमा महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उनी धनुषाको मटिहानी बजारबाट २२ माघमा पक्राउ परेका थिए । उनले चिठ्ठा परेको प्रलोधन देखाएर सर्लाही पिडारी–७ का पप्पु शेखबाट रु.२४ हजार ठगेको प्रहरीको भनाइ छ ।
भगतले १३ माघमा शेखको मोबाइलमा पाकिस्तानी नम्बरबाट रु.२५ लाख चिठ्ठा परेको र त्यो रकम पाउन रु.२५ हजार बैंकमा जम्मा गर्न भनेपछि शेखले रु.२४ हजार बैंकमा जम्मा गरेका थिए । तर, फेरि थप एक लाख जम्मा गर्न भनेपछि भने शेखले प्रहरीमा उजुरी गरेका थिए ।
गणेशकुमारको नाममा एभरेष्ट बैंकमा जम्मा भएको रकम भने भगतले भारतमा पठाइसकेको बताएको प्रहरीको भनाइ छ ।