थप समाचारमंगलबार, माघ २७, २०७१
दिल्लीः आपलाई अभूतपूर्व सफलता, आप– ६७, भाजपा– ३
भारत, दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले अप्रत्यासित सफलता पाएको छ । कुल ७० सिट मध्ये ६७ सिटमा आम आदमी पार्टी (आप) विजयी भएको छ ।
अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले तीन चौथाईभन्दा पनि धेरै बहुमत हासिल गरेको छ भने भारतीय जनता पार्टीले (भाजपा) विपक्षी समेत हैसियत गुमाउँदै मात्रै ३ सिटमा खुम्चिन पुगेको छ ।
लामो समय दिल्लीमा राज गरेको कांग्रेसले एउटा स्थानमा पनि जित हासिल गरेन भने कुल खसेको मतको करिब १० प्रतिशत मात्रै मत प्राप्त गर्यो । आपले ५४.२, भाजपाले ३२.१ र कांग्रेसले करिब १० प्रतिशत मत प्राप्त गरेका छन् ।
अनपेक्षित सफलताले डर
आप नेता अरविन्द केजरीवालले आफूले दिल्लीमा पाएको सफलता अप्रत्यासित भन्दै यो सफलताबाट डर लागेको बताएका छन् । उनले पार्टीका नेता कार्यकर्तालाई विजयको अहंकार नराख्न भन्दै कांग्रेस र भाजपा अहंकारले गर्दा नै सकिएको बताए ।
उनले सत्यको बाटोमा हिंडन र जनताको सेवामा लाग्न पनि आग्रह गरे ।
पछिल्लो विधान सभा निर्वाचनमा आम आदमी पार्टीले २८ स्थानमा जित हासिल गरेको थियो । सन् २०१३ मा त्यसबेला केजरीवाल ४९ दिनसम्म मात्रै दिल्लीको मुख्यमन्त्री रहेका थिए ।
त्यसबेला भाजपाले ३१ स्थानमा विजय हासिल गरेको थियो भने कांग्रेसले ८ स्थानमा ।