रिपोर्टबिहीबार, माघ २९, २०७१

नेपाली आयु जब पुग्यो ७१

हिमालखबर


सन्त गाहा मगर र रमेश कुमार

Cover.inddस्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र विकासमा मुलुकले गरेको प्रगतिका कारण नेपालीको औसत आयु ७१ वर्ष पुगेको छ। आयु वृद्धिसँगै अवसर र चुनौती पनि थपिएका छन्।

बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ ले २८ मंसीरमा सन् २०१३ मा नेपालीको औसत आयु ७१ वर्ष पुगेको बारे अनुसन्धानात्मक लेख छाप्यो। लेखमा नेपाली पुरुषको औसत उमेर ६९ वर्ष र महिलाको ७२ वर्ष पुगेको उल्लेख छ। जर्नलको यो अध्ययनले दक्षिण एशियामा श्रीलंकालीहरूपछि नेपालीकै उमेर बढी देखाएको छ। जर्नलका अनुसार, श्रीलंकामा औसत आयु ७६ वर्ष, भारत र पाकिस्तानमा ६६ वर्ष, बंगलादेशमा ७० वर्ष, भुटानमा ६९ वर्ष र अफगानिस्तानमा ५६ वर्ष पुगेको छ।

जर्नलको अध्ययनमा समेटिएका १८८ देशमध्ये छोटो समयमै औसत आयु सुधार्न सफल उत्कृष्ट दश मुलुकको सूचीमा नेपाल परेको छ। पछिल्लो २० वर्षमा नेपालीको औसत आयु १२ वर्ष बढेको अध्ययनको निष्कर्ष छ। यो अवधिमा विश्वका अन्य मुलुकको औसत आयु ६ वर्ष मात्र बढेको छ।
‘दि लान्सेट’ को अध्ययनले देखाएको नेपालीको औसत आयु वृद्धिदर र राष्ट्रिय जनगणना, २०६८ को निचोड मिलेको छ।

Cover.inddकेन्द्रीय तथ्यांक विभाग (केतवि) का अनुसार, दुई दशकमा नेपालीको औसत आयु १२.३३ वर्ष बढेको छ। सन् १९९१ मा ५४.२७ वर्ष रहेको औसत आयु २०११ मा बढेर ६६.६ वर्ष पुगेको छ। नेपाल मानव विकास प्रतिवेदन २०१४ ले पनि नेपालीको औसत आयु ६८.८ वर्ष पुगेको देखाएको छ। ६० वर्षअघि फर्केर नेपालीहरूको औसत आयुलाई हेर्दा अहिले नेपालले फड्को मारेको सन्तुष्टि मिल्छ। सन् १९५४ मा नेपालीको औसत आयु जम्मा २७.७८ वर्ष थियो।
यसरी बढ्यो आयु

विज्ञहरूका अनुसार, जन्मदरभन्दा मृत्युदरको अनुपात घटेको अवस्थामा औसत आयु बढ्छ। जनसंख्याशास्त्री प्रा. डा. भीमप्रसाद सुवेदी शिशु, बाल र मातृ मृत्युदर घटेकाले नेपालीको औसत आयु बढेको बताउँछन्। नेपालमा साक्षरता र स्वास्थ्य क्षेत्रमा भएका सुधारले मृत्युदर घटाएको छ। घटेको मृत्युदरले आयुमा वृद्धि भएको छ। जनसंख्याशास्त्री सुवेदी नेपालमा पुरुषभन्दा महिलाको औसत आयु धेरै हुनुको कारण जनस्वास्थ्यमा सुधार र महिला साक्षरता वृद्धिलाई मान्छन्।

२०५८ को राष्ट्रिय जनगणनापछि पुरुषको भन्दा महिलाको औसत आयु बढी देखिएको हो। “अब सरकारले अवकाश, निवृत्तिभरण, औषधोपचार जस्ता कुरामा योजना बनाउनुपर्छ”, सुवेदी भन्छन्, “घर–घरमा पनि हजुरबुबा/हजुरआमाको लागि उपयुक्त कोठा बनाइनुपर्छ, जहाँ नाति पुस्ताले उनीहरूको अनुभव सुनेर शिक्षा लिन पाउन्।”

सहस्राब्दी विकास लक्ष्य कार्यक्रमले सन् २०१५ सम्ममा प्रति एक लाखमा मातृ मृत्युदर ८५० जनाबाट घटाएर २१३ मा झार्ने लक्ष्य लिइएको थियो। उक्त लक्ष्य दुई वर्षअघि नै हासिल भएको सम्बन्धित अधिकारीहरू बताउँछन्। अहिले प्रति एकलाखमा १७० जनाले मात्र ज्यान गुमाउने गरेको सरकारी तथ्यांकले देखाउँछ।

Cover.inddपाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्यु प्रति हजार १६२ बाट ५४ जनामा सीमित गर्ने लक्ष्य पनि सन् २०१३ मै पूरा भइसकेको छ। शिशु मृत्युदरमा पनि नेपालले निर्धारित समयभन्दा पहिले नै लक्ष्य पूरा गरेको छ। एक वर्षभन्दा कम उमेरका शिशुको मृत्युदर प्रति हजार १०८ बाट घटेर ३६ जनामा झ्रेको छ। कम तौलका शिशु जन्मदर ४९.२ बाट ३४ प्रतिशतमा झ्रेको छ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले नेपाल जस्ता कम विकसित देशले रोग विरुद्ध लड्ने पहल गरे मात्रै पनि औसत आयु उकालो लाग्ने बताउँछन्। डा. वाग्लेका अनुसार, नेपालले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको प्रगति आयु वृद्धिको रूपमा देखिएको छ। “सरकारले पछिल्ला दुई दशकमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा बढाएको लगानीको सुन्दर प्रतिफल देखिएको छ”, डा. वाग्ले भन्छन्।

शिक्षाले आर्थिक वर्ष २०४७/४८ मा कुल बजेटको १९.२७ प्रतिशत पाएकोमा २०६९/७० मा पुग्दा यो बजेट बढेर २५.५ प्रतिशत पुग्यो। त्यस्तै, आर्थिक वर्ष २०४७/४८ कुल बजेटको ७.२१ प्रतिशत रहेको स्वास्थ्यतर्फको बजेट २०६९/७० मा १३ प्रतिशत पुग्यो। सरकारले शिक्षा र स्वास्थ्यमा वार्षिक लगानी बढाएर क्रमशः रु.६३ अर्ब र रु.३० अर्ब पुर्यााएको छ।

लगानीसँगै संक्रामक रोग न्यूनीकरणमा पाएको सफलताले पनि औसत आयु बढाउन मद्दत गर्यो । सन् १९९० ताका झाडापखाला, क्षयरोग, निमोनिया जस्ता संक्रामक रोगले धेरै नेपालीको ज्यान लिन्थ्यो। २०१३ मा आइपुग्दा झ्ाडापखालाका कारणले हुने मृत्युमा ७५ प्रतिशत, क्षयरोगबाट हुने मृत्युमा ४३ प्रतिशत र निमोनियाबाट हुने मृत्युमा ६१ प्रतिशत कमी आएको ‘दि लान्सेट’ को लेखमा उल्लेख छ। पछिल्ला वर्षहरूमा नेपालमा मृत्युका प्रमुख कारकहरूमा मुटु, पक्षघात, श्वासप्रश्वास जस्ता नसर्ने रोगहरू देखिएका छन् (हे. इन्फोग्राफिक्स)।

Cover.inddजनसंख्याविद्हरू जन्मदर घट्नुलाई पनि औसत आयु बढेको कारणको रूपमा लिन्छन्। सन् १९९० मा ५.३ प्रतिशत रहेको जन्मदर २०१३ मा २.६ प्रतिशतमा झ्रेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसंख्या विभागका सह–प्राध्यापक योगेन्द्रबहादुर गुरुङ स्वास्थ्य सुधारले मर्ने सम्भावनालाई कम बनाएपछि थोरै सन्तान जन्माउने प्रवृत्ति बढ्ने बताउँछन्। गुरुङका अनुसार, बाँच्ने संभावना बढ्दा जन्मदर स्वतः कम हुन्छ। जन्मने थोरै भएपछि मर्ने संख्या पनि स्वतः घट्नु जनसंख्याको सामान्य सिद्धान्त हो। वैदेशिक रोजगारी लगायतका कारणले पनि नेपालमा जन्मदर घटेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार, अहिले करीब २० लाख नेपाली विदेशमा छन्।

आर्थिक समृद्धिले पनि आयुमा प्रत्यक्ष असर पार्छ। आव २०४६/४७ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु.१ खर्ब २० अर्ब रहेकोमा आव २०७०/७१ सम्ममा रु.१९ खर्ब २८ अर्ब पुगेको छ। गत वर्षको आर्थिक सर्वेक्षण अनुसार, नेपालीको प्रतिव्यक्ति कुल आय ७०३ अमेरिकी डलर पुगेको छ। आर्थिक वर्ष २०५९/६० मा यो अंक २६१ डलर मात्र थियो। “औसत आयु बढ्नु भनेको समृद्धिको संकेत हो”, जनसंख्याको बनोट व्यक्ति र सिंगो देशकै अर्थतन्त्रसँग अन्तरसम्बन्धित रहेको बताउँदै अर्थशास्त्री केशव आचार्य भन्छन्, “आयु बढ्न पनि समृद्धि चाहिन्छ।”

पब्लिक हेल्थ कन्सर्न ट्रष्ट सम्बद्ध डा. सरोज धिताल पर्याप्त पोषणको खपतले नेपालीहरूको उमेर बढेको बताउँछन्। बालबालिका भटाभट मर्ने क्रम रोकिनु राम्रो भए पनि यतिमै मक्ख परेर बस्ने अवस्था भने नरहेको उनको भनाइ छ। चिकित्सा विज्ञानमा भएको विकासले भन्दा पनि सामाजिक–राजनीतिक कारणले स्वास्थ्य क्षेत्रमा सुधार देखिएको धितालको धारणा छ। उनी औसत आयु बढ्नुमा मातृ शिशु कार्यकर्ताको ठूलो योगदान रहेको बताउँछन्। “सामाजिक न्यायको व्यवस्था राम्रो हुँदा औसत आयु बढ्छ”, डा. धिताल भन्छन्।

औसत आयु त बढ्यो नै, पछिल्लो समय दीर्घजीवी नेपालीको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार, २०५८ सालमा ७५ वर्ष नाघेकाहरूको संख्या २ लाख ९५ हजार ४५९ अर्थात् कुल जनसंख्याको ०.९६ प्रतिशत थिए। २०६८ मा यो संख्या बढेर ४ लाख ३७ हजार ९८१ अर्थात् १.७ प्रतिशत पुगेको छ। (हे. इन्फो) डा. धिताल स्वस्थ जीवनका लागि अपनाइएको उपाय, उपचारको पहुँच जस्ता कुराले दीर्घजीवीको संख्या बढेको बताउँछन्। हुन पनि, आव २०४८/४९ मा मुलुकमा १ हजार ३१२ स्वास्थ्य संस्था रहेकोमा २०७०/७१ मा ४ हजार ४८५ वटा पुगेका छन्। त्यतिबेला स्वास्थ्य क्षेत्रमा ३२ हजार ८१५ जना दक्ष जनशक्ति थिए, अहिले ९३ हजार ४९५ जना छन्।

असर र प्रभाव
औसत आयु बढेर ज्येष्ठ नागरिक संख्या बढ्दा बीमा व्यवसाय, वृद्धाश्रम र स्वास्थ्यकर्मीका लागि थप अवसर सिर्जना हुन्छ। अर्थविद् केशव आचार्य उत्पादनका हिसाबले आश्रित जनसंख्या वृद्धि हुँदा सरकारले निवृत्तिभरण, वृद्धाश्रम, बुढ्यौलीमा लाग्ने रोगबाट बच्ने उपायबारे बेलैमा योजना बनाउनुपर्ने बताउँछन्। औसत उमेर पाँच वर्ष मात्रै बढ्दा पनि निवृत्तिभरणमा राज्यले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउँछ। यो जनसंख्यालाई उपयोग गर्न सक्यो भने चाहिं निकै सकारात्मक परिणाम निस्कन्छ।

प्रशासन सुधार सुझाव समितिका अध्यक्ष काशीराज दाहाल औसत आयु बढेकाले कर्मचारीको अवकाशको उमेर हद पनि बढाउनुपर्ने बताउँछन्। यसैका आधारमा निजामती कर्मचारीको अवकाशको उमेर ५८ बाट बढाएर ६० वर्ष बनाउन सुझाव दिएको दाहालले बताए। यसो गर्न सक्दा राज्यले लगानी गरेका अनुभवी जनशक्तिको उपयोग हुने र निवृत्तिभरणमा दायित्व पनि कम हुने उनको विश्लेषण छ।

Cover.inddज्येष्ठ नागरिक बढे पनि उनीहरूका अधिकारका लागि हुनुपर्ने जति काम भएका छैनन्। वृद्धवृद्धालाई मनोरञ्जनका लागि त केही पहल भएकै छैन। समाजशास्त्री चैतन्य मिश्र सामाजिक दायित्व पनि खासै नहुने र सक्रिय हुन पनि बाध्य नभएका यो उमेर समूहलाई समय कटाउन गाह्रो हुनेतर्फ बेलैमा ध्यान जानुपर्ने बताउँछन्। ग्रामीण क्षेत्रमा वृद्धवृद्धाको हेरचाहका लागि राज्यले विचार पुर्यालउन ढिलो भइसकेको उनको भनाइ छ।

Cover.inddश्रम बजारमा अनुत्पादकका रूपमा व्याख्या गरिने यो जनसंख्यालाई उमेरकै आधारमा विभेद गर्ने कुचलन पनि बढ्दो छ। श्रम बजारमा १५ देखि ६० वर्ष उमेर समूहलाई मात्र उत्पादनशील जनशक्तिको रूपमा परिभाषित गरिएको छ। जानकारहरू यो प्रवृत्तिलाई ‘बुझनेलाई श्रीखण्ड, नबुझनेलाई खुर्पाको बींड’ भन्ने उखानसँग तुलना गर्छन्।

“ज्येष्ठ नागरिक ज्ञानका भण्डार हुन्”, मानवशास्त्री सुरेश ढकाल भन्छन्, “उनीहरूसँग भएको ज्ञान–अनुभव नयाँ पुस्तामा हस्तान्तरणको लागि पहल गर्ने दायित्व हाम्रै हो।”

बुढेसकालसँगै उच्च रक्तचाप, मधुमेह, क्यान्सर, अल्जाइमर्स जस्ता रोग साथी बन्न आइपुग्छन्। कान नसुन्ने, आँखा नदेख्ने, हिंड्न नसक्ने, घुँडा दुख्ने, तुरुन्तै बिर्सने जस्ता समस्या पनि वृद्धावस्थामै देखिन्छन्। हिंडडुलबाट स्मरण शक्ति बढाउन सकिने बताउँदै डा. सरोज धिताल भन्छन्, “तर, हामीकहाँ कुनै पनि अस्पतालले वृद्धवृद्धाको उपचारका लागि छुट्टै जेरियाटि्रक वार्ड स्थापना गरेको छैन।”

औसत आयु र दीर्घजीवीको संख्या बढ्नु भनेको निर्भरता अनुपात पनि बढ्नु हो। कुल जनसंख्यामा हाम्रो निर्भरता अनुपात ३६ प्रतिशत छ। अहिले ६४ जनाले काम गरेर १०० जनाले जीविका चलाउनुपर्ने अवस्था छ। यस्तोमा पूँजी र सीपको संयोजनबाट मात्रै उत्पादन बढाउन सम्भव हुने अर्थविद् आचार्य बताउँछन्। कानूनी शासन प्रत्याभूत नभएसम्म विकास, रोजगारी र लगानी सुहाउँदो वातावरण बन्दैन।
________________________________________
बुढेसकाल बुझाइ
बिइङ मोर्टलः मेडिसिन एन्ड ह्वाट म्याटर्स इन द इन्ड पुस्तकमा डा. अतुल गवांडे लेख्छन्, ‘ज्येष्ठ सदस्यलाई आफू परिवारको भार हुँ भन्ने सोचाइबाट मुक्त गराउन चिकित्सा विज्ञान असफल भएको छ।’
चलाइरहेको मोबाइलमा समस्या देखियो भने हामी छेउछाउमा भएका किशोरकिशोरीलाई बोलाउँछौं या गुगल गर्छौं, बुबा, हजुरबुबालाई शायदै सोध्छौं। केही वर्षअघिसम्म आफूले नजानेका कुरा बूढापाकालाई सोध्यौं। त्यही क्रममा ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’ भन्ने उखान बनेको प्रष्टै छ। प्रविधिमा भएको द्रुत विकास र प्रयोगले समाजमा ज्येष्ठ सदस्यहरूको अनुभवलाई असान्दर्भिक बनाउँदै लगेको छ।

atulविकसित देशहरूमा मान्छेको औसत आयु सन् २०१२ मै ७० वर्ष पुगेको छ। नेपालीहरूकै पनि औसत आयु गत ६० वर्षमा २८ बाट ७१ वर्ष पुगेको छ। आयुको यो बढोत्तरीलाई मानव सभ्यताकै ठूलो उपलब्धिको रूपमा लिइएको छ। तर, हाम्रा ज्येष्ठ नागरिकहरू आत्मसम्मानका साथ बाँचिरहेका छन् त? आफ्नै घर, अस्पताल वा वृद्धाश्रमहरूमा यो प्रश्नको जवाफ मिल्छ।

भारतीय मूलका अमेरिकी चिकित्सक अतुल गवांडेको नयाँ पुस्तक यस्तै ज्येष्ठ सदस्यहरूको बाँकी जीवनको सेरोफेरोमा घुमेको छ। हामीले भन्ने गरेका ज्येष्ठ सदस्यहरूको समस्याप्रति चिकित्सा विज्ञानले के–के कमजोरीहरूका साथ कस्तो व्यवहार गरिरहेको छ भन्नेमा केन्द्रित छ, किताब।

डा. गवांडे औसत आयु वृद्धिलाई चिकित्सा विज्ञानको चमत्कार मान्छन्। हुन पनि, महामारीलाई परास्त गर्ने औषधि नबनेको भए मान्छेले अरू जतिसुकै प्रगति गरे पनि आयु बढाउन सक्ने थिएन। बरु, आयु बढेकै कारण मान्छेले अनेक प्रगति गरिरहेको छ।

चमत्कार गरेर आयु बढाउने चिकित्सा विज्ञान ज्येष्ठ सदस्यहरूको खुशीप्रति उदासीन छ। समाजमा ज्येष्ठ नागरिकलाई भार ठान्ने प्रवृत्ति बढ्दो छ। समाजको यो व्यवहारका कारण स्वयं ज्येष्ठहरूले पनि आफूलाई भार ठान्न थालेको गवांडेको विश्लेषण छ। उनीहरू मर्न चाहिरहेका हुँदैनन् तर भार बनेर बाँचिरहनुको अर्थ पनि देख्दैनन्।

उनीहरुलाई परिवारको भार हौं भन्ने सोचाइबाट मुक्त गराउन चिकित्सा विज्ञान असफल भएको डा. गवांडे बताउँछन्। यसो किन भइरहेको छ? समाजमा पहिल्यैदेखि यस्तै हुन्थ्यो त? गवांडेको पुस्तकका अनुसार, एउटा जमाना थियो जब मानिस बूढो हुनै नपाई मर्थे। कोही बाँचिहाल्नु असामान्य हुन्थ्यो।

त्यसबेला उनीहरू पूरा परिवारको अभिभावक हुन्थे। इतिहास, संस्कार र अनुभवको दृष्टिले पनि उनीहरू बाँचुञ्जेल परिवारका सर्वमान्य सदस्य हुन्थे। मानिस आफू ज्येष्ठ भएकोमा गर्व गर्ने समय थियो, त्यो। उमेरको आधारमा पाइने सम्मानको कारण १८औं शताब्दीको यूरोप–अमेरिकामा मानिसहरू आफ्नो उमेर बढी बताउँथे।

तर, अहिले ज्येष्ठ शब्दको परिभाषामा नै परिवर्तन आइसकेको र एकल परिवारको संस्कारले ज्येष्ठ सदस्यहरूप्रतिको माया, त्याग र स्याहारलाई झन्झटिलो मानेको छ। यसरी उमेरका आधारमा पाइने सम्मान हराउँदै जाँदा मानिसहरू आफूलाई कम उमेरको देखाउन थालेका छन्।

अहिलेका ज्येष्ठ सदस्यमा स्वतन्त्र र स्वायत्तताको चाहना पहिलेभन्दा बढेको डा. गवांडेको निष्कर्ष छ। छोराछोरी बुबाआमाको अह्रनखटनमा बस्न नमाने जस्तै उमेर घर्किंदै गएका वृद्धवृद्धा पनि छोरानातिको नियन्त्रणमा बस्न नचाहने उनको भनाइ छ। यसमा पेन्सनको ठूलो भूमिका हुन्छ। रोगले छुन थालेपछि भने ज्येष्ठ सदस्यको स्वतन्त्रतामा परिवार र चिकित्सकले हनन् गर्न थाल्छन्। अस्पताल बसाइपछि उनीहरूले सम्पूर्ण रूपमा स्वतन्त्रता गुमाउँछन् र निरीह बन्छन्।

मृत्यु अवश्यंभावी छ, त्यसमाथि ज्येष्ठ नागरिकमा मृत्यु दर बढी हुन्छ। डा. गवांडेको पुस्तकको मूल चिन्तन ज्येष्ठ नागरिकहरूको मरणलाई कसरी सहज बनाउने भन्नेमा छ। यो पुस्तक मृत्युप्रतिको दार्शनिक बुझाइ नभएर मृत्युलाई आत्मसात् गर्दै जीवनलाई हाँसीखुशी तुल्याउने यत्नको परिणाम हो।

डा. गवांडेलाई पढ्दा चिकित्सकहरूलाई जीवन बचाउने विद्या मात्र पढाइँदा उसले मृत्यु नजिक भएकाहरूको समस्या नबुझेको थाहा हुन्छ। यसलाई उनले चिकित्सा विज्ञानको असफलताका रूपमा अर्थ्याएका छन्। मर्न लागेका मानिसलाई गलत व्याख्याबाट थप पीडा दिने काम चिकित्सा विज्ञानबाटै भइरहेकोले यसलाई परिवर्तन गर्नुपर्ने उनको प्रस्ताव छ।

त्यसो त, हरेक संस्कृतिमा ज्येष्ठहरूलाई गरिने व्यवहार फरक हुन्छ। पूर्वीय सभ्यतामा परिवारका ज्येष्ठ सदस्य कतिपय सन्दर्भमा परिवारका लागि बोझ बनेरै पनि आफ्नो हैकम चलाइरहेकै हुन्छन्। यसो हुनुमा संयुक्त परिवारको ठूलो देन छ।

परिवार संयुक्त भइराख्नुमा सम्पत्तिको भूमिका हुन्छ। पश्चिमा समाजमा संयुक्त परिवार पूर्णतः टुटिसकेको छ भने पूर्वमा त्यो क्रम तीव्र छ। डा. गवांडेले भारतमै बस्ने आफ्ना ११० वर्षीय हजुरबुबा सीतारामले तीनमध्ये दुई छोरा र उनीहरूबाट भएका नातिनातिनासँग जीवन बिताएको रोचक प्रसंग समेटेका छन्। पश्चिमा समाजमा अब शायदै यस्तो होला।

बुढ्यौलीमा केही बिमार भयो कि अस्पतालमा छाड्ने पश्चिमा प्रवृत्तिले ज्येष्ठहरूलाई आजित बनाएको डा. गवांडे लेख्छन्। ‘सोधिंदैन कि उनीहरू कस्तो जीवन बाँच्न चाहन्छन्, चिकित्सकहरू खालि आफ्नो शस्त्र मात्र चलाउँछन् र प्रायः पीडादायी मृत्यु पस्कन्छन्’, आफ्नो पेशाप्रति कठोर बन्दै उनले लेखेका छन्। उनका अनुसार, अहिलेका नर्सिङहोमहरूमा ‘होम’ भन्ने चिज नै छैन।
शल्यचिकित्सक गवांडेले पहिल्याएको चुनौतीलाई स्वीकार गरी चिकित्सा विज्ञानले आफूलाई सुधार गर्नुपर्ने देखिन्छ। तर, विज्ञानमा सुधार गरेर मात्र पुग्दैन। हाम्रो नैतिक आचरणमा पनि परिवर्तन गर्नुपर्नेछ। अनि मात्र हाम्रो पुस्ता सही अर्थमा ‘मान्छे’ बन्न सक्छ।
रविन गिरी
________________________________________
suresh‘पूँजी हुन् ज्येष्ठ नागरिक’
सुरेश ढकाल,
मानवशास्त्री

६० वर्ष माथिकालाई आश्रित जनसंख्या पनि भन्ने गरिन्छ, तर उनीहरू परिवार र समाजका पूँजी हुन्। यो कुरा पाठ्यक्रममै राखेर पढाउनुपर्दछ। हाम्रो पारिवारिक संरचना एकल बन्दै गएकाले परिवारका ज्येष्ठ सदस्यहरूको हेरचाहमा विशेष ध्यान पुर्यारउनुपर्ने भएको छ। वृद्धभत्ता बाहेक सामाजिक सुरक्षा नीति ल्याउनुपर्दछ। वृद्धवृद्धा श्रम, वृद्धवृद्धा सुहाउँदो सार्वजनिक स्थल निर्माण, यातायात सुविधा जस्ता कुरामा ध्यान दिनुपर्दछ।

bidya‘हिजोको अनुभव सुन्नुपर्छ’
विद्यानाथ कोइराला,
शिक्षाशास्त्री

निरोगी र दीर्घजीवी हुनुमा शिक्षाको महत्वपूर्ण भूमिका हुनेरहेछ। पहिले–पहिले बोसो, घ्यूमा निकै जोड गरिन्थ्यो। अचेल सकेसम्म कम चिल्लो खान खोजिन्छ। शिक्षित भएपछि थोरै सन्तान पाएर राम्रोसँग हुर्काउने भन्नेमा जोड दिन्छन्। शारीरिक श्रम नगरी बस्नुलाई सुखी जीवन मानिंदैन। खोप लगाइन्छ, स्वास्थ्य जाँच गराइन्छ। तर, औसत आयु बढेसँगै पुस्तान्तर पनि बढ्दो छ। उमेर जति फरक भयो बूढापाकाले भनेका कुरा नातिनातिनालाई बुझ्न गाह्रो हुन्छ। शिक्षक र विद्यार्थीबीचको उमेरमा पनि धेरै अन्तर पार्नुहुँदैन। धैर्यवान् र सहनशील बन्न आजको पुस्ताले हिजोको अनुभव सुन्नुपर्छ।

keshav‘फाइदा लिन नचुकौं’
केशव आचार्य,
अर्थशास्त्री

औसत आयु बढ्नु भनेको देश समृद्ध हुनु हो, तर हाम्रो ग्रामीण भेगको अवस्था राम्रो छैन। नपढेका र पैसा नहुनेको बाँच्ने उमेर बढेको छैन। जनसंख्याको बनोटबाट फाइदा लिन चुक्नुहुन्न। यसका लागि उद्योग–कलकारखाना सञ्चालनको वातावरण बनाउनुपर्छ। औसत आयु बढ्दा निवृत्तिभरणमा चालू खर्च बढ्छ। यसमा सरकारले योजना बनाउनुपर्छ।

saroj‘अब वृद्धवृद्धा अधिकार’
डा. सरोज धिताल,
चिकित्सक

नेपालीको औसत आयु उकालो लाग्नुमा स्वास्थ्य सेवामा भएको विस्तार र पहुँचको योगदान छ। नेपालमा सामाजिक न्याय छ भन्ने सन्देश पनि हो, यो। तर मक्खै परेर बस्ने अवस्था भने छैन। जीवनशैली र स्वास्थ्य अवस्थामा सुधार देखिनका लागि ८०, ९० वर्षभन्दा उकालो लागेका मान्छेको अनुपात पनि बढ्नुपर्छ। बालअधिकार, महिला अधिकार, जातजातिका अधिकारका विषयमा कुरा उठेको तुलनामा वृद्धवृद्धाका अधिकारका लागि केही काम भएका छैनन्। वृद्धवृद्धाको छुट्टै उपचार गर्न चाहिने जेरियाटि्रक वार्ड हाम्रा कुनै अस्पतालमा छैनन्।

krishna‘मुलुक विकासको बाटोमा’
कृष्ण खनाल,
राजनीतिशास्त्री

२०४६ को परिवर्तनपछि केही भएन भन्नेहरूलाई राम्रो जवाफ हो, बढेको औसत आयु। यसको जस प्रजातान्त्रिक सरकारहरूले लिएको नीतिलाई दिनुपर्छ। भौतिक पूर्वाधार विकास र गाउँसम्म पुगेको स्वास्थ्य सुविधाले औसत बाल मृत्युदर घटाएको छ। नेपाल विकासको बाटोमा लम्किएको ठोस प्रमाण हो, यो। औसत उमेर बढ्नु भनेको राजनीतिक क्षेत्रमा क्रियाशील हुने उमेर पनि बढ्नु हो, तर युवाले पुराना नेताले कहिले छोड्लान् भनेर बस्नुहुँदैन।

poshraj‘मानिसलाई उत्पादनसँग जोड्नुपर्छ’
डा. पोषराज पाण्डे,
अर्थशास्त्री

आधारभूत स्वास्थ्य सेवामा सरकारले गरेको लगानीको प्रतिफल हो, औसत आयु। यसमा गैर–सरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थाहरूको पनि भूमिका छ। यो अर्थतन्त्रका लागि पनि निकै लाभदायक कुरा हो। १६–५९ उमेर समूहका काम गर्न सक्ने मानिसलाई उत्पादनसँग जोड्न सके अर्थतन्त्रले गति पाउँछ। नेपालको औसत आयु बढे पनि वृद्धवृद्धाको संख्या युरोप वा जापानको स्तरसम्म पुगिनसकेकाले अर्थतन्त्रमा तत्कालै असर भने गर्दैन। पेन्सनभारमा असर पार्ने भएकाले यसको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउन सकिन्छ।

chaitanya‘भोकै मर्नेलाई बिर्सनुहुन्न’
चैतन्य मिश्र,
समाजशास्त्री

मानव विकास सूचकांक अनुसार तीन दशकमा नेपालले स्वास्थ्य र शिक्षामा फड्को मारेको छ। स्वास्थ्य, शिक्षा आदीका कारण बाल मृत्युदर घट्दा औसत आयु बढ्यो। यसमा चेतना विस्तारको ठूलो भूमिका छ। अब वृद्धहरूको हेरचाहमा सरकारले विशेष ध्यान दिनुपर्छ। गाउँघरतिर अझै खान नपाएर मर्नेहरू छन् भन्ने बिर्सनुहुँदैन। औसत उमेर बढेसँगै रोजगारीको अवसर सिर्जना, लगानी वृद्धि र नयाँ पुस्तामा अनुभव हस्तान्तरणको प्रबन्ध मिलाउनुपर्छ।

swornim‘उत्साहप्रद नेपाल’
स्वर्णिम वाग्ले,
सदस्य,
राष्ट्रिय योजना आयोग

विश्वभरि नै औसत आयु बढे पनि नेपाल यसमा उच्च प्रगति गर्ने १० मुलुकको सूचीमा पर्नु उत्साहप्रद छ। विभिन्न रोगबाट मर्नेको संख्या घट्दा नेपालीको औसत आयु बढ्यो। सामाजिक क्षेत्रमा सरकारी लगानीले यो परिवर्तन ल्याएको हो। बाल, शिशु, मातृ लगायतका मृत्युदर घटाउन राम्रो पहल भएको छ। बिर्सन नहुने कुरा के भने, विकसित देशको औसत आयु एउटा उच्च बिन्दुमा रहेकाले एक वर्ष औसत उमेर बढाउन पनि अर्बौं लगानी गर्नुपर्छ, जबकि नेपाल जस्ता कम विकसित देशले रोगविरुद्ध लड्ने पहल गरे मात्रै पनि औसत आयु उकालो लाग्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>