थप समाचारबिहीबार, माघ २९, २०७१
विदेशी कार्टून: बालबालिकाको अम्मल
– सजना बराल
स्वदेशी च्यानलमा आफू सुहाउँदो कार्यक्रम नहुँदा नेपाली बालबालिका हिन्दी कार्टुनका अम्मली बन्दैछन्।
काठमाडौं, सामाखुशीस्थित नेपाल पुलिस स्कूलमा कक्षा २ मा पढ्ने नवीना आलेमगर मध्यरातसम्म जागै हुन्छिन्। कारण हो– ‘तारक मेहताका उल्टा चश्मा’, ‘बालवीर’, ‘डोरेइमन’, ‘सुपर स्ट्राइकर’, ‘रोल नं २१’, ‘अगी एण्ड द कक्रोजेज्’।
करीब दुई दर्जन कार्टुन तथा टेलिसिरियलकी उनी नियमित दर्शक हुन्। आमा उमा छोरीको टीभी–लत देखेर चिन्तित छिन्। भन्छिन्, “के बानी लाग्यो, लाग्यो! नहप्काएसम्म टीभी छोड्दै–छोड्दिनँ।”
डिल्लीबजारमा रहेको सूर्योदय सेकेन्डरी स्कूलका ६ वर्षे आयुष श्रेष्ठलाई टेलिभिजनमा ‘पावर रेञ्जर वाइल्ड फोर्स’, ‘बेनटेन’, ‘पोकेमन’, ‘एक्स्ट्रिम फूटबल’ जस्ता कार्टुन मन पर्छन्।
“घर आउनेवित्तिकै ढोकामै ब्याग, जुत्ता–मोजा फालेर टीभी खोल्न दौडिन्छ”, आमा संगीता भन्छिन्, “बत्ती छैन भने आइप्याडमा आफैंले डाउनलोड गरेको कार्टुन हेर्न थाल्छ। कार्टुन नदेखाई खाजा पनि ख्वाउन सकिंदैन।”
शहरी क्षेत्रका अधिकांश बालबालिका अचेल यस्तै दैनिकीमा हुर्किरहेका छन्। उनीहरू विदेशी च्यानलबाट आउने कार्टुन नेटवर्क, निक्लोडियन, सोनिक निक, सोनी सब, लाइफ ओके, डिज्नी जस्ता विदेशी च्यानलमा मग्न छन्।
बालसाहित्यकार विनय कसजूका अनुसार शहरी क्षेत्रमा खुला मैदान, पार्क, बगैंचा जस्ता खेल्ने ठाउँको अभाव बढ्नुले बालबालिका टेलिभिजन, आइप्याड, ट्याब जस्ता श्रव्य–दृश्य माध्यमतिर झुम्मिएका हुन्।
“अभिभावकको पनि दोष छ, बच्चालाई टीभी वा आइप्याड थमाएपछि आनन्दले काम गर्न पाउँछु भन्ने सोच्छन्” कसजू भन्छन्, “कतिपय गृहिणी त आफैं सिरियलका अम्मली छन्। छोराछोरीमा पनि त्यो लत सरेको छ।”
“नेपाली च्यानलमा आकर्षक बाल कार्यक्रम नभइदिनाले पनि यस्तो भएको हो”, समाजशास्त्री डिल्लीराम दाहाल भन्छन्, “बच्चाका लागि बनाइएका कार्यक्रम न्यून छन्। भएका पनि स्तरीय छैनन्।”
बालुवाटारस्थित किड्स केयर इन्टरनेशनल प्रि–स्कूलकी प्रिन्सिपल प्रतिमा राई नर्सरी, एलकेजीका बालबालिकाले समेत हिन्दीमा कुरा गर्ने बताउँछिन्। भन्छिन्, “दिमागकी बत्ती जलादे, अंकलजीका कुर्सी झट्से आगई जस्ता वाक्य उनीहरूलाई कण्ठै छ।”
सुपरम्यानको नक्कल गर्ने हुँदा गल्कोपाखास्थित मन्टेसरी किड्स प्याराडाइजको केजी २ का विद्यार्थी सुजल रेग्मीको देब्रे हात नै भाँच्चियो।
“उनले ‘मे हुँ सुपरम्यान’ भन्दै डाइनिङ टेबलबाट हाम फालेछन्”, प्रिन्सिपल स्नेहा बज्राचार्य भन्छिन्, “सुपरम्यान, ब्याट्सम्यान, पावर रेञ्जर जस्ता एक्सनप्रधान कार्टुनले बच्चालाई हिंसात्मक बनाइरहेका छन्।”
बालमनोचिकित्सक डा. अरुण कुँवरकहाँ पनि यस्ता समस्या प्रशस्तै आइरहेका छन्।
“ज्याक आक्स भन्ने कार्टुन–फिल्म हेरेर एउटा बच्चाले आफ्नै भाइको टाउको फुटाइदिएका थिए”, डा. कुँवर भन्छन्।
बालबालिकाका लागि दैनिक एक घन्टाभन्दा बढी टीभी हेर्नु हानिकारक हुने भन्दै कुँवर यसले बच्चाको ‘कन्सन्टे्रसन पावर’ घटाउनुका साथै मोटोपन बढाउन पनि सहयोगी हुने बताउँछन्। उनी मनोरञ्जनात्मक कार्यक्रम र विज्ञापनबाट बालबालिकालाई टाढै राख्न सल्लाह दिन्छन्।
साहित्यकार कसजू अहिलेका बालबालिकालाई के खाने, कस्तो लाउने भन्नेबारे मिडियाले नै पाठ सिकाइरहेको बताउँदै यसप्रति टेलिभिजन जिम्मेवार बन्नुपर्ने बताउँछन्। उनी भन्छन्, “विदेशतिर बाल कार्यक्रम प्रसारण गर्नुभन्दा एक घण्टाअघि र पछि ‘एडल्ट–प्रोग्राम’ दिन नपाइने नियम छ।”
गैरजिम्मेवार नेपाली च्यानल
उपत्यकामा सञ्चालित दर्जनौं टेलिभिजन च्यानलमा बालबालिकाका लागि उपयुक्त र पर्याप्त कार्यक्रम छैनन्। केहीले बालबालिका चिडियाखाना घुमेको भिडियो प्रसारण गरेर झारा टारिरहेका छन्।
अरु त अरु सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा समेत यस्ता कार्यक्रम दुर्लभ छन्। “बाल कार्यक्रम बनाउन धेरै खर्च लाग्छ”, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईं भन्छन्, “खर्च गरे अनुसार प्रायोजक पनि पाइँदैन।” उनी दायित्व निभाउनुपर्ने क्षेत्र धेरै भएकाले बालबालिकातिर ध्यान दिन नसकेको गैरजिम्मेवार तर्क गर्छन्।
कान्तिपुर टेलिभिजनका कार्यक्रम निर्माता सुरज सिंह ठकुरी आफूहरू चाँडै नै बच्चाका लागि नयाँ ‘सेगमेन्ट’ सहितको अर्को च्यानल लिएर आउने तयारी गरिरहेको बताउँछन्।
नेपाल टेलिभिजन र कान्तिपुरमा ‘फ्यान क्लब’ नामक बाल कार्यक्रम चलाएकी प्रतिमा श्रेष्ठ प्रायोजककै अभावमा आफूले कार्यक्रमबाट हात झिक्नु परेको बताउँछिन्।
इमेज टेलिभिजनका सहेन्द्र श्रेष्ठ भने बाल कार्यक्रम राख्ने च्यानलको नीति भएकाले प्रायोजक विना नै ‘इन्द्रेणी’ कार्यक्रम चलाइरहेको बताउँछन्। कसजू प्रायोजक वा अन्य कुराको अड्को थापेर पन्छिन खोज्नु गैरजिम्मेवारी भएको बताउँछन्।
“देश बनाउनु छ भने बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्छ भन्दै भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले सन् १९६४ भन्दा अघि नै बाल कार्यक्रम बनाउन लगाएका थिए”, उनी भन्छन्, “हामीकहाँ चाहिं अहिलेसम्म एउटा बाल चलचित्र पनि बनेको छैन।”
बाल कार्यक्रम राज्यको सामाजिक दायित्व भएको बताउँदै उनी भन्छन्, “तर, हाम्रा टेलिभिजन ठूला कम्पनीलाई फाइदा हुने कार्यक्रम मात्रै बनाउँछन्।”
नेपाल टेलिभिजनका महाप्रबन्धक हुमागाई जापान सरकारबाट निःशुल्क उपलब्ध मुमिन कार्टुनलाई नेपालीमा ‘डब’ गराएर देखाउँदा सरकारले नै असन्तुष्टि प्रकट गरेपछि रोकिएको प्रसंग सुनाउँछन्।
उनी भन्छन्, “जापानले नेपाललाई गरेको सहयोगमा त्यो कार्टुन पनि उल्लेख गरेपछि सरकारले साना–तिना कुरा मागेर आय कटौती नगर्ने नीति अपनायो। त्यसपछि हामीसँग न विदेशी कार्टुन किन्ने सामर्थ्य रह्यो न डबिङ गराउने अनुमति।”
सानो प्रयास
किड्स प्याराडाइज स्कूलले बालबालिकालाई टीभी वा कार्टुनको संसारबाट अलग्याउन ‘पेन ड्राइभ सिस्टम’ ल्याएको छ।
होमवर्क कम दिएकाले बच्चा टीभी/कम्प्युटरमा झुन्डिराख्छ भन्ने अभिभावकको गुनासो सुनिन थालेपछि स्कूलले कक्षामा पढेका, स्थलगत भ्रमणमा गएका भिडियो खिचेर पेनड्राइभमा हालिदिने र ‘घर गएर हेर्नु’ भन्न थालेको छ।
प्रिन्सिपल स्नेहा बज्राचार्य भन्छिन्, “यसो गर्दा टीभीतिर उनीहरूको ध्यान कम जानेछ।”
डा. कुँवर बालबालिकाले टीभी हेर्दा अभिभावक पनि सँगै बस्नु राम्रो हुने बताउँछन्। भन्छन्, “कार्यक्रमले भन्न खोजेको कुरा र नकारात्मक पक्ष पनि बताइदिनुपर्छ। हामीकहाँ त टीभीकै निहुँमा झगडा पर्छ।”
कार्टुनिस्ट शाक्य सुरेनको नेतृत्वमा हालै अभिभावक, ग्राफिक डिजाइनर, संगीतकर्मी, चित्रकार सम्मिलित समूहले बालबालिकाका लागि नेपाली भाषामा म्युजिकल–कार्टुन एनिमेशन तयार गर्ने काम थालेको छ।
“अहिले टीभीमा आइरहेका कार्टुन/सिरियलले बच्चाको बौद्धिक विकास गर्दैनन्, त्यसैले हामी आफैं लागेका हौं”, समूहका अजय देशार भन्छन्।