थप समाचारशुक्रबार, फाल्गुण १, २०७१
लचिलो हुँदा ढाडै भाँच्नु हुन्नः उद्योग मन्त्री बस्नेत
उद्योग मन्त्री महेश बस्नेतले सहमतिका नाममा लचिलो बन्दाबन्दै ढाड भाँचिने अवस्था आएको बताएका छन् ।
संविधानका विवादित अन्तर्वस्तुमा दलहरुबीच सहमति बनाउन सत्तापक्ष लचिलो बन्दै गर्दा ढाड भाँचिने अवस्था आएको भन्दै मन्त्री बस्नेतले ढाड जोगाउनका लागि पनि अबको तीन महिनाभित्र संविधान जारी गर्नु जरुरी रहेको बताए ।
उनले संविधान निर्माणलाई प्रक्रियामा अघि बढाएरै पनि विपक्षीलगायत सबैका भावना समेट्न सकिने दाबी गरे । संविधानसभाका दुई तिहाई सभासद् एकै ठाउँमा उभिनु नै ठूलो सहमति भएको दाबी गर्दै उनले कसैको पनि विमती नहुने संविधान कहिं कतै नहुने बताए ।
पहिचानको नाउँमा जातीय राज्य निर्माण गरेर देशलाई टुक्रयाउने माग कुनै हालतमा स्वीकार गर्न नसकिने उनको भनाई छ ।
उनले भने, “३०/३५ जना युवालाई टाउकोमा फेटा र हात लौरो थमाएर जनतालाई तर्साउने कुचेस्टा नगरेकै राम्रो ।”
उनले बजेटको अभावमा उद्योगमन्त्रालयले धेरै कामहरु अगाडि बढाउन नसकेको भन्दै अहिले आफ्नो काम फाइल अगाडि बढाउने मात्रै भएको गुनासो गरे ।
देव पचभैया, पाल्पा