थप समाचारशुक्रबार, फाल्गुण १, २०७१
हात भाँच्चिएपछि आठ दिनको यात्रा
छिरिङ डोल्कर गुरुङ, अछामबाट
बाख्रा चराउन गएका हुम्लाका ८ वर्षीय धर्मराजको हात भाँच्चियो । बाबु मानसिंले सिमकोटको निजी क्लिनकमा लगेर रु. ४ हजार ५ सय खर्च गरे पनि धर्मराजको दुखाई घटेन ।
फेरि क्लिनिकमा जानका लागि रकम नभएका मानसिंले ८ वर्षीय धर्मराजलाई डो¥याउँदै ८ दिन हिंडेर अछामको बयलपाटा अस्पताल लगे । “के गर्ने, अरु उपाय नै थिएन,” छिमेकीबाट बयलपाटामा निशुल्क उपचार हुने थाहा पाएका मानिसिं भन्छन् ।
अहिले बयलपाटामा हातको शल्यक्रिया गराएका धर्मराज आफ्ना बाबुसँगै अस्पतालमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । उनलाई घर जानआउन मात्रै १६ दिन लाग्छ ।
यसै हप्ता बांगलादेशमा ज्योती रामनिक परेख पुरस्कार प्राप्त गरेका जनरल प्राक्टिसनर विकास गौचनले नियमित यस्ता विरामी भेटिरहन्छन् । पश्चिमका सडकविहिन पहाडहरुमा कैयौं दिन हिंडेर आएका धेरै धर्मराजहरुलाई गौचनले सेवा दिइरहेका छन् । “टाढाबाट आएका विरामीलाई बस्न खानको समस्या हुन्छ,” डा. गौचनले भने, “त्यसैले विरामी र कुरुवालाई अस्पतालमा नै बस्ने व्यवस्था मिलाएका छौं ।”
१२ वर्षअघि माओवादीले ध्वस्त पारेको अछामको साँफेबगर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । सुर्खेतबाट बिहानै हिंडेको बस उकाली ओह्राली गर्दै राति मात्रै अछाम पुग्छ ।
सीमान्तकृत ठाउँका विरामी आइपुग्ने यो बयलपाटा यस्तै सीमान्तकृत ठाउँहरुको मध्यमा छ । वरपरका जिल्लाहरुमा सरकारी अस्पताल नभएका होइनन् तर, बयलपाटामा निशुल्क र राम्रो उपचार हुन्छ भन्ने खबर यहाँका डाँडा नाघेर पारी सम्म फैलिएको छ, त्यसैले टाढाटाढाबाट विरामीहरु आइपुग्छन् रोग र दुखको भारी बोकेर ।
“दुर्गममा स्वास्थ्य सेवाका लागि पहुँच र विश्वास मुख्य वाधा हुन्,” अस्पतालका सञ्चालन निर्देशक एपी कलाउनी भन्छन्, “सरकारी हेल्थपोष्टहरुले विश्वास आर्जन गर्न सकेका छैनन, उपयुक्त उपचारमा विरामीहरुको पहुँच छैन ।”
उसो त बयलपाटा पनि सरकारी अस्पताल नै हो । तर, सन् २००९ देखि यसको व्यवस्थापन अमेरिकी स्वयम्सेवी संस्था ‘संभावना’ले सम्हालेको छ । अस्पतालमा अछाम, बाजुरा, डोटी र मुगुका साथै टाढाका हुम्ला र डोल्पाबाट समेत विरामी आइपुग्छन् । दैनिक करिब २००–२५० विरामीको उपचार गरिरहेको अस्पतालले पोहोरमात्रै ७० हजार विरामीको उपचार गरेको थियो ।
सबैभन्दा बढी हाडजोर्नी, चोटपटक, मानसिक स्वास्थ्य र फोक्सोको संक्रमणका विरामी हुन्छन् । पोहोरदेखि अस्पतालले दन्त चिकित्सा सेवा पनि उपलब्ध गराउन थालेको छ । अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रमले ३० गाविसका हेल्थ पोष्टमा रहेका बर्थिङ सेन्टरलाई तालिम र उपकरण सहयोग गरेको छ भने दीर्घ रोगीहरुका लागि महिला स्वास्थ्य स्वयम सेविकाले आवश्यक सेवा पुर्याउँछन् ।
अस्पताललाई स्वास्थ्य मन्त्रालय, विदेशी दातृ निकायका साथै केही स्थानीयले पनि सहयोग गरेका छन् । सन् २०१४ मा बयलपाटा अस्पतालले ३० वटा शल्यक्रिया साथै नेपालगञ्ज र काठमाडौंका अस्पतालमा विरामी पु¥याउनका लागि आवश्यक रकम व्यक्तिगत दाताहरुबाट संकलन गरेको थियो । विरामीको केस अनलाईन राखेर सार्वजनिकरुपमा सहयोग आह्वान गरिंदा विश्वभरबाट त्यस्तो सहयोग केही दिनमै जुटेको थियो ।
संभावनाका प्रमुख कार्यकारी अधिकृत मार्क अर्नोल्डी भन्छन, “सन् २०१८ सम्ममा सरकारी लगानी, अनुसन्धान सहयोग र शिक्षण शुल्क बढाएर सार्वजनिक सहयोगलाई २५ प्रतिशत भन्दा तल झार्ने लक्ष्य राखेका छौं । हामी केही राम्रो गर्ने प्रयासमा छौं, व्यक्तिगत दाताहरुको सहयोग पनि महत्वपूर्ण त हुन्छ तर, त्यसमै निर्भर हुनु हुँदैन ।”
संभावनाले १५ शैय्याको अस्पताललाई ५० बनाउने तयारी गर्दैछ–सरकारी सहयोगमा । त्यसैगरी हालको तालिम कार्यक्रमलाई विस्तार गर्दै बयलपाटालाई ग्रामिण शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।
यहाँ शिक्षण अस्पताल बन्ने हो भने स्थानीयलाई मेडिकल शिक्षा र उपचार दुवै प्रदान गर्न निकै सहज हुनेछ ।
कलाउनी भन्छन, “हाम्रो लक्ष्य नेपालका अरु अस्पताल जस्तो अस्पतालमा धेरै विरामी ल्याउनु नभई प्राथमिक स्वस्थ्य सेवालाई प्रभावकारी बनाएर अस्पतालसम्म विरामी आउनु पर्ने अवस्थामा कमी ल्याउने हो । ”
मुल अंग्रेजी संस्करणमा पढ्न यहाँ क्लिक गर्नुहोस