रमझमशुक्रबार, फाल्गुण १, २०७१

विस्मृत गीतहरुको संकलन ‘लस्ट संग्स’

हिमालखबर

यादव खरेल र डीबी महेश

यादव खरेल र डीबी महेश

सजना बराल

विसं २०२० मा गायक डी. बी महेश ‘पाल्पाली’ ले गाएको राष्ट्रगीत ‘हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला’ खूब चर्चित भयो । उनकै स्वर रहेको ‘जल्यो जल्यो तन जल्यो’ लाई पनि धेरैले रुचाए जसको रचयिता यादव खरेल हुन् ।

आफूले उती बेला लेखेको गीत खोज्न खरेल वर्ष दिनअघि पाल्पालीकहाँ पुगेका थिए । “खोजेको गीत त पाइनँ तर बिर्सेको कुरा सम्झिएर आएँ,” खरेल भन्छन्, “डी.बीजीले मेरो अर्को गीत पनि गाउनु भएको रहेछ ।”

खरेलले बिर्सेको गीत थियो, ‘माया फिर्ता लाँदैछु’ विसं २०१८ मा लेखिएको । महिनौंको खोजीपछि त्यो गीत उनले रेडियो सगरमाथाकी उर्वशी बस्नेतमार्फत् भेट्टाए ।

विस्मृतिमा रहेका यस्ता १० गीतको संग्रह २ फागुनमा काठमाडौंको सर्वनाम थिएटरमा सार्वजनिक गरिंदै छ । ‘लस्ट संग्स’ नाम दिएको संग्रहमा खरेलले विसं २०१५ देखि २०७१ सम्म लेखेका १० वटा गीत छन् ।

संग्रहका दस गीतका आ–आफ्नै कथा र इतिहास छन् । चलचित्र प्रेमपिण्डमा समाविष्ट ‘के भनुँ म कसो गरी परेँ’ गीत भारतीय गायक अभिजितले गाएका छन् । तर, त्यही गीत यो एल्बममा भने गायक बच्चु कैलाशको स्वरमा छ ।

“वास्तवमा अभिजितले भन्दा पहिले, विसं २०५० मै यो गीत बच्चुले गाएका थिए,” खरेल सम्झन्छन्, “तर, प्राविधिक कारणले अभिजितको स्वरको गीत फिल्ममा राख्नुपरेको थियो ।”

मदिरापानको विरुद्धमा रचिएको ‘मैले पिएँ धेरै पिएँ’ मा फत्तेमान राजभण्डारीको संगीत र स्वर छ । प्रज्ञा स्टुडियोमा गीत रेर्कड गर्दै गर्दा फत्तेमानले भनेका रहेछन्, “आजको रेकर्डीङ चित्त बुझेको छैन । अर्को दिन फेरि गरौंला ।” खरेल अर्को दिनको प्रतिक्षामा थिए । तर, त्यो दिन कहिल्यै आएन ।

बच्चुकैलाश (बायाँ) सँगै यादव खरेल

बच्चुकैलाश (बायाँ) सँगै यादव खरेल

फत्तेमान दिवगंत भएपछि गीतको कुरा सेलायो । “छोराले त्यो गीत सम्झाउँदा पो याद आयो, फत्तेमानलाई मन नपरे पनि गीत त रेकर्ड भइसकेको छ,” उनी भन्छन्, “तुरुन्त स्टुडियो गएर गीत ल्याएँ ।” सम्भवतः फत्तेमानले गाएको यो अन्तिम गीत हो ।

पहिले नै रेकर्ड भएर गुमनाम भएका आफ्ना गीत भेला पार्न उनलाई छोरा, सम्राटले उक्साएका रहेछन् । सुरुमा त खरेलले चासो दिएनन् रे । डी.बी महेश, इन्द्रनारायण मानन्धर, रमेश ताम्राकार, बिजु रिमालजस्ता अग्रज स्रष्टा भेटेपटि चाहिं उनले यसको महत्व बुझे ।

“उहाँहरूका गीतले कुनै बेला रेडियोे नेपाल थर्काउँथे,” उनी भन्छन्, “अहिले ती स्रष्टा कहाँ छन्, कुन अवस्थामा छन्, कसैलाई थाहा छैन । नयाँ पुस्ताले त चिन्दा पनि चिन्दैन । संगीतका यी जिवित इतिहासलाई संरक्षण गर्न जरुरी छ ।”

सम्राटले चारवटा गीतको म्युजिक भिडियो पनि बनाएका छन् । यी भिडियो खिच्न असाध्यै गाह्रो भएको उनको अनुभव छ ।
“भिडियोमा कोही मोडल राखिएको छैन,” उनी भन्छन्, “गायक/गायिका स्वयंलाई खिचिएको छ । तर, उहाँहरु आफ्नै गीत गाउन नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।” बीसको दशकको झझल्को दिने हेतुले सबै भिडियो ब्ल्याक एण्ड ह्वाटमा निर्माण गरिएको उनले बताए ।

एल्बममा ‘मेरो मनको एउटा’, ‘तिम्रो अनुहार’, ‘क्षितिजको अग्लाइ नाप्छु भन्थें’ लगायत गीत छन् । यिनमा राम खरेल, मदनकृष्ण श्रेष्ठ, दीप श्रेष्ठ आदिको आवाज छ भने नातिकाजी, शम्भुजित बास्कोटा, कल्याण रिमाल, हुतराज शर्मा आदि संगीत भरेका छन् ।

पूराना रेकर्डिङमा भएको साउण्ड पोलुशन इन्जिनियर प्रदीप उपाध्यायले ठिक पारेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>