ब्लगशनिबार, फाल्गुण २, २०७१

मजलिसको आँखा–८ (श्रीमहल)

कमल दीक्षित

कत्रोकत्रो परिवर्तन देखेको ‘श्रीमहल’ लाई स्रेस्तामा ‘श्रीदरबार’ भनिएको थियो।

Shreedarbar11वास्तवमा ‘श्रीदरबार’ भनिने भवन दुईमुखे थियो, दुइटा भवन जोडिएर यौटा बनेको थियो, त्यो। त्यसै हुँदा त्यसको पूर्व र पश्चिम दुईतिरै ढोका थिए। दुई भवनहरूलाई जोड्न बीचमा पछिबाट एक ‘पुलखण्ड’ बनाइएको थियो, तल हवासदेखि माथि बुइँगलसम्मकै। हेर्दा त्यो खण्ड पछि थपिएको हो भन्ने थाहै हुँदैनथ्यो।

२०१४ सालमा त्यो खण्ड फेरि भत्काइयो माथिदेखि तलैसम्म र ती दुई भवन फेरि छुट्याइएका हुन्। चौध सालमा यो किन कसरी छुट्टियो भन्ने कुराको चर्चा हामी तल गर्नेछौं।

ऐलेलाई भने हामी पश्चिमपट्टिको हाल ‘श्रीमहल’ भनिने ‘श्रीदरबार’ कै कुरा गरूँ, किनभने महाराज चन्द्रशमशेरलाई अंग्रेज फोटोग्राफरले चढाएको दरबारहरूको अल्बममा यसलाई ‘श्री दरबार’ भनेरै लेखिएको छ, अंग्रेजी अक्षरमा। हुन पनि त्यस फोटोमा यी दुवै भवन एकै देखिन्छन् ।

Sri-durbarसबै राणा दरबारहरू ‘महल’ या ‘निवास’ कहलाउँथे उतिबेला। जस्तो सिंहमहल, केशरमहल, बबरमहल, शाहमहल, लक्ष्मीनिवास, शीतलनिवास इत्यादि। सिंहमहलका बारेमा त्यो कसरी थापाथली दरबार भयो भन्ने कुरा यसअघि मजलिसको आँखा–७ (http://nepalihimal.com/article/3925) मा लेखियो।

तर यो ‘श्रीमहल’ भने बन्न शुरू हुँदा नै स्रेस्तामा ‘श्रीदरबार’ भनिएको देखियो। किन होला? महाराज चन्द्रशमशेरले यी दुई भवन एकै पटक बनाउन लगाएका हुन् किशोरनरसिंह र कुमारनरसिंह राणाबाट।

आफ्नी कान्छी महारानी बालकुमारी देवीलाई र उनैतर्फका जेठा छोरा विष्णुशमशेरका लागि भनेर यी दुवै भवन एकैचोटि १९७६ साल वैशाखमा बन्न शुरू भएका देखिन्छन्, यौटाको शिलान्यास; सके, १७ गते र अर्कोको २७ गते भएको थियो। दुई वर्षपछि दुवैको निर्माण पनि सँगै सकिएको थियो १९७८ सालमा, यौटाको असोजमा र अर्कोको चैतमा।

दुई भवनको निर्माण लागत पनि उस्तैउस्तै परेको देखिन्छ, एउटाको ७ लाख ५० हजार ८५२.८३ र अर्कोको ६ लाख १२ हजार ५८२.८३ रुपैयाँ।

यो कुरा यति दावाका साथ कसरी भन्न सकियो भने सौभाग्यवश मदन पुरस्कार पुस्तकालयको हस्तलिखित सेक्सनमा ती दरबार निर्माण गर्दाको एउटा ढड्डा संग्रहित छ, नम्बर ११८ मा। त्यसमा (दुवै) श्रीदरबार बनाउँदाको खर्चको लागत दिइएको छ। त्यसको शुरूमै तेरिज कसेर हिसाब लेखिएका ती दुइटा फर्दा कागत सिएर राखिएका छन्।

एउटै ‘श्रीदरबार’ भवन बनेको भए दुइटा खर्चको लगत किन राखियो? एउटै भवनको अघिको र पछिको खर्च तेरिज पनि होइन त्यो। नत्र घर बनाउन जम्माजम्मी लागेको ईंटाको संख्या फरक हुने थिएन। ‘डेसी छापावाल ईट्गोटा एक करोड ६० लाख चानचुन एक करोड २१ लाख चानचुन’ भनेर छुट्टाछुट्टै लेखिंदैनथ्यो।

चुन मुरी १६ हजार र १३ हजार भनी फरक पारिंदैनथ्यो। न त ‘धुल्दाम’ अर्थात् ईंटहरूको बोकानी ज्याला नै २९ हजार ७०० र २३ हजार ४०० भनी भिन्नाभिन्नै लेखिन्नथ्यो होला।

यी भवनहरू यस प्रकार के कसरी निर्माण हुनपुगेका हुन् त्यो बताउन सक्ने मान्छे अब हाम्रा माझ्मा कोही छैनन्। अतः यी कागजपत्रले जे बोल्छन् त्यत्तिबाट हामीले लख काट्नुपर्छ। १९७६ सालमा बन्न लाग्दादेखि नै यस भवनलाई श्रीदरबार भन्थे।

निष्कर्ष निस्कन्छ– भवन बन्नुभन्दा पूर्व नै महाराजले आफू त्यहाँ गई केही दिन निवास गरेर आफ्नी कान्छी महारानीका लागि ‘दरबार’ छाडिदिने अठोट गरिसकेका रहेछन्।

१९७६ साल मंसीरमा कान्छा छोरा मदनशमशेरको जन्म भएपछि उनले थप निर्णय लिनुपरेको स्पष्ट हुन्छ। दुई अलगअलग भएर बन्न लागेका भवनलाई जोडी एउटै बनाउने सोच त्यसपछिको हो। अनि निर्माण भएको थियो त्यो ‘पुलखण्ड’।

तर बन्न थाल्नुभन्दा पहिले नै ‘श्रीदरबार’ नाम पाइसकेको थियो भवनले। त्यसप्रकार एक भएको श्रीदरबार पछि पश्चिममा विष्णुशमशेर र पूर्वमा आमा र मदनशमशेर बस्ने भए। तर महाराजले सोचेजस्तो भएन।

१९८६ मा चन्द्रशमशेर मर्नासाथ दुनियाँले त्यस भवनलाई श्रीमहल नै भन्न थाले। उता बुबाको बरखी सकिनासाथ इण्डिया गएका विष्णुशमशेर उतैबाट ‘भागेर’ बेलाइत पुगे, श्रीमहलमा उनी बस्दै बसेनन्।

त्यसपछि यस भवनले अनेक रूप फेरुर्‍यो। सात सालमा यो मुक्तिसेनाको हेडक्वाटर भयो, पुलिस प्रभाग। १२ सालमा रानी जगदम्बाले आफ्नो सुरक्षाको दुहाई दिएर राजा महेन्द्रकहाँ बिन्तीपत्र हालेपछि पुलिस र मुक्तिसेनाले श्रीमहल छाडे। यति बेलासम्म यो भवन विष्णुशमशेरकै नाममा थियो।

तर विष्णुशमशेरको मृत्यु भैसकेको र विष्णुशमशेरकी रानी उर्मिलादेवीको पनि बम्बईमा निधन भएपछि यो घरजग्गाको स्वामित्व उनका छोरा बेलाइती नागरिक पीताम्बरशमशेर (आर.के.पीताम्बर) मा सरेको थियो। तर उनलाई त्यो घर घाँडो भएकाले उनले एक पटक नेपाल आएका बेला मुमा रानी जगदम्बासँग श्रीमहल खरीद गरिदिन अनुरोध गरे।

त्यो खरीद गर्ने प्रक्रिया पुरुर्‍याउन मैले दुई–तीन पटक बम्बई गएर उनका वकीलसँग कुरा गर्नुपरुर्‍यो। अन्त्यमा सबै कुरा मिलेपछि नेपालको कानून पनि मिलाउनुपर्ने भएकाले म एकजना नेपाली अधिवक्ता पनि साथ लिई बम्बई गएर पीताम्बरको सहीछाप भएको नेपाली लिखत लिएर आएँ।

ल.पु. रजिष्ट्रेसन अड्डामा त्यो लिखत पास भएपछि आफ्नो स्वामित्वमा आएको त्यो भवन रानीसाहेबले मेरा पितामाताको सल्लाह मानेर श्री ५ को सरकारलाई उपहार दिने हुनुभयो। अनि हुतराम वैद्य र गङ्गाविक्रम सिजापतिको सक्रियतामा सरकारले त्यहाँ ‘जगदम्बा कृषि कलेज तथा अनुसन्धान कलेज’ खोल्न स्वीकृति दियो।

२०१७ साल मंसीर २४ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला श्रीदरबारमा आएर रानी जगदम्बाका हातबाट त्यो भवन उपहारको लिखत स्वीकार गर्नुभयो। तर कृषि कलेज बन्नुभन्दा पहिले नै, त्यो समारोह भएको सातै दिनपछि पुस १ गतेको काण्ड घट्यो र त्यो भवन अकस्मात् राजनेताहरू थुन्ने ‘श्रीमहल बन्दीगृह’ पो भैदियो!

हामीहरूले रोइकराई गरेपछि करीब दुई वर्ष ‘बन्दीगृह’ भैसकेपछि सरकारले पुनः यसलाई कृषिकलेज नै बनाउने अठोट गरुर्‍यो र शारदाप्रसाद उपाध्यायको अध्यक्षतामा एउटा ‘जगदम्बा कृषि कलेज कमिटी’ गठन भयो। रानी जगदम्बाको प्रतिनिधिका रूपमा म पनि त्यसमा सदस्य भएको थिएँ।

त्यस कमिटीको तीन–चार ओटा मीटिङ भएको म सम्झ्न्छु किनभने त्यसको एउटा बैठकमा कृषि कलेजलाई अनुसन्धान गर्न जग्गा नपुग्ने भएकाले त्यसैसँग जोडिएको ‘राम बङ्गला’ क्षेत्र पनि कलेजले पाओस् भन्ने ममार्फत रानीसाहेबमा अनुरोध गर्ने निर्णय भएको थियो। त्यसरी अनुरोध गरेपछि रानीसाहेबले चार रोपनी जति जग्गा भएको भैंतले त्यो बङ्गला पनि बकस दिनुभएको थियो।

तर यसैबीच मन्त्रिमण्डलले कृषि कलेज चितवनको रामपुरमा बनाउने निर्णय गरेछ। रानी जगदम्बालाई ‘कृषि कलेज चितवनमा बन्ने भएकाले श्रीमहललाई चाहिं जगदम्बा कृषिभवन भन्ने नामकरण गरी कृषि विभाग राख्न स्वीकृति दिन’ आग्रह गरियो। रानीसाहेबले नाइँनास्ति कसरी गर्ने? विवश भएर उहाँको स्वीकृति पठाइयो।

तर २०२५ सालमा तत्कालीन कृषिमन्त्रीले समारोह गरी विधिवत् उद्घाटन गर्दा, पश्चिमपट्टि कौसीमा जडिएको त्यो शिलापट्टमा त ‘जगदम्बा भवन’ भन्ने नाम पो खोपिएको देखियो, ‘कृषि’ त उडेछ! त्यसरी ‘जगदम्बा भवन’ बनेको श्रीमहलको त्यो शिलापट्ट पनि दुई–चार वर्षपछि किन हो झिकिएछ।

अब त्यस भवनलाई ‘स्थानीय विकास’ भनिन्छ रे! कत्रोकत्रो परिवर्तन देख्यो यो ‘श्रीदरबार’ भवनले!

यस स्तम्भको नाम दरबार हाईस्कुलको दक्षिणपट्टि रहेको मजलिसघर बाट लिइएको छ । यसमा आउने तस्वीरहरु मपुपु–का हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...