थप समाचारशनिबार, फाल्गुण २, २०७१
भारतः केजरीवालले मुख्यमन्त्री पदको शपथ लिए
दिल्लीमा भारी बहुमत ल्याएको आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
दिल्लीको ऐतिहासिक रामलीला मैदानमा हवारौं प्रशंसकहरुको उपस्थितमा उपराज्यपाल नजीब जंगले केजरीवाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
केजरीवालसँगै आपका नेताहरु मनिष सिसौदिया, असिम अहमद खान, संदीप कुमार, सत्येन्द्र जैन, गोपाल राय र जितेन्द्र सिंह तोमरले पनि राज्यका मन्त्री पदको शपथ ग्रहण गरे ।
आपले दिल्ली विधानसभा निर्वाचनमा कुल ७० स्थानमध्ये ६७ मा जीत हासिल गरेको छ ।
शपथग्रहणपछि आयोजित सभालाई सम्बोधन गर्दै केजरीवालले आफ्नो सरकारको पहिलो प्रयास जनलोकपाल विधेयक पारित गराउने र पाँच वर्षभित्र दिल्लीलाई भ्रष्टाचारमुक्त शहर बनाउने वाचा गरे ।
विधानसभा निर्वाचनमा भाजपाका तर्फबाट मुख्यमन्त्री पदकी उम्मेदवार रहेकी किरण वेदी बारे चर्चा गर्दै उनले आफूले वेदीको निकै सम्मान गर्ने र उनीसँग मार्गदर्शन लिएर सरकार चलाउने बताए ।
केजरीवालले आफ्ना मन्त्री, विधायक र कार्यकर्ताहरुलाई अहंकारबाट बच्न पनि सल्लाह दिए ।
केजरीवाल दोस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका हुन् । यसअघि कुल ४९ दिन दिल्लीमा सरकार चलाएका उनले ठिक एक वर्षअघि १४ फेब्रुअरीमा राजीनामा गरेका थिए ।