थप समाचारसोमबार, फाल्गुण ४, २०७१
‘उखरमाउलो जीत’ को अर्थ
सबैखाले मत सर्वेक्षण र आकलन असत्य सावित गर्दै भारतमा आम आदमी पार्टी (आप) ले नयाँदिल्लीको सत्तामा अभूतपूर्व र सानदार विजय पाएको छ ।
कुल ७० सीटमा ६७ र कुल खसेको मतको करीब ५४ प्रतिशत मत प्राप्त गरेर कल्पनातीत सफलता चुमेपछि खुशीले अत्तालिएका अरविन्द केजरीवालले संयमित हुँदै भने, “हामीसँग पैसा छैैन, स्रोतसाधन पनि छैन । तैपनि परिणाम डरलाग्दो छ । यो सत्यको जीत हो ।”
अघिल्लोपटक ४९ दिन दिल्लीको सत्तामा बसेर हठात् मुख्यमन्त्रीको पदबाट राजीनामा गरेर लोकसभा निर्वाचनमा तमासे बन्न पुगेको आपको भविष्यप्रति अनेक अड्कलबाजी गरिएको थियो । तर, आपले त्यसबीचमा महाराष्ट्र, हरियाणा, झरखण्ड र जम्मुकश्मिरमा भएका विधानसभाको निर्वाचनमा भाग लिएन र आफ्नो सम्पूर्र्ण शक्ति उद्गम थलो दिल्लीमा केन्द्रित गर्यो । ४९ दिने शासनमा गरेका कामको व्याख्या गर्दै तल्लोतहका बुथसम्म विकासमुखी र स्वच्छ राजनीतिको सन्देश पुर्याउन सफल देखियो ।
मोदी शैलीमा प्रश्नचिह्न
दिल्लीको निर्वाचन परिणामले लोकसभा निर्वाचनमा पहिलोपटक भारतीय जनता पार्टी (भाजपा) लाई बहुमत दिलाउन सफल नरेन्द्र मोदीको चामत्कारिक नेतृत्वमा एकाएक प्रश्नचिह्न लागेको छ । लोकसभाको सफलतासँगै महाराष्ट्र, हरियाणा, झरखण्ड र जम्मुकश्मिरमा एकपछि अर्को विजय दोहोरिंदै जाँदा मोदीको व्यक्तित्वको आभा अपराजेय हुँदै गइरहेको थियो ।
लोकसभा निर्वाचनमा बनारसमा मोदीसँगै पराजीत केजरीवालले यसपटक दिल्लीमा हारको बदला लिएका छन् । कारण, किरण वेदीलाई दिल्लीको मुख्यमन्त्री उम्मेदवार घोषणा गरिए पनि लडाइँ त मोदी र केजरीवालकै थियो, शहरभरि वेदीभन्दा केजरीवाल र मोदीकै तस्वीर आमनेसामने टाँगिएका थिए ।
पराजयमा आफ्नै ठाडो तानाशाही कार्यशैली जिम्मेवार भएको पाठ मोदीले सिकेको हुनुपर्छ । गुजरातमा पहिलोपटक मुख्यमन्त्री भएयता मोदीले जहिले पनि पुरानो र स्थापित नेतृत्वलाई किनारा लगाउँदै नयाँ व्यक्तिलाई खोजीखोजी अवसर दिने गरेका थिए । भाजपाका वर्तमान अध्यक्ष अमित शाह त्यही मोदी शैलीकै उपज हुन् ।
दिल्लीमा स्थापित सतिश उपाध्याय र जगदीश मुखी जस्ता हस्तीलाई अपमान गर्दै मुख्यमन्त्री उम्मेदवार घोषणामा ढिलाइ गर्नु अनि पार्टी बाहिरकी वेदीलाई ल्याउनुले हार शर्मनाक बन्न पुग्यो ।
संयोग पनि कस्तो थियो भने केजरीवाल जस्तै प्रतिष्ठित म्यागसेसे पुरस्कार विजेता वेदी पनि अन्ना हजारे नेतृत्वको चर्चित भ्रष्टाचारविरोधी आन्दोलनकी सहयात्री थिइन् । केजरीवालले आप गठन गरेलगत्तै यिनै वेदीलाई दिल्लीको मुख्यमन्त्री पदमा उठ्न आग्रह गरेका थिए तर वेदीले अस्वीकार गरेकी थिइन् ।
तिनै वेदी अचानक भाजपा प्रवेश गरिन् र उनै केजरीवाल विरुद्ध उभिइन् । तर, दिल्लीका जनताले वेदीलाई अवसरवादीको अर्को नाम भने । भाजपाको माउ संस्था राष्ट्रिय स्वयंसेवक संघले समेत बाहिरिया भन्दै वेदीको विरोध गर्यो । कारण के थियो भने यिनै वेदीले गुजरात दंगालाई लिएर मोदीको सार्वजनिक आलोचना गरेकी थिइन् ।
निर्वाचन मिति घोषणा अगावै आपका उम्मेदवारहरूले सबै निर्वाचन क्षेत्रमा अनेकौं चरणमा घरदैलो गर्न भ्याइसकेका थिए । लोकसभा निर्वाचनमा दिल्लीका सातमध्ये सातै स्थान जीतेको भाजपाले दिल्ली विधानसभाको निर्वाचनमा ढिलाइ गर्नु आफैंमा सुखद् संकेत थिएन । यो परिणाम त्यसको प्रतिफल पनि हो ।
‘कांग्रेसमुक्त भारत’ भन्दै हिंडेको भाजपा दिल्लीमा आफैं मुक्त हुनपुग्यो । मोदीले भारतीय जनतालाई थाल, प्लेट र चम्चा बाँडे पनि खानेकुरा पस्कन सकेका छैनन् । पराजयको अर्को संकेत यो पनि हो ।
दिल्ली निर्वाचन भाजपाका लागि प्रतिष्ठाको लडाइँ थियो । तर, आपका लागि यो जीवनमरण नै थियो । प्रायःजसो प्रतिष्ठा र अस्तित्वको लडाइँमा अस्तित्वकै जीत हुन्छ । तर, यो जीतको चौतर्फी र दूरगामी असर भने अवमूल्यन गर्न सकिंदैन ।
यो पटक पनि आपलाई चुनौतीको थुप्रो छ । जीत लगत्तै आपले दिल्लीका स्थानीय अधिकारीहरूलाई डाकेर घोषणापत्रमा उल्लिखित मागहरू पूरा गर्ने कार्यक्रम बनाउन निर्देशन दिइसकेको छ ।
घोषणापत्रमा उल्लेख भएका धेरै महत्वाकांक्षी योजना, स्कूल, कलेज र हजारौंको संख्यामा शौचालय बनाउने कुरा र लाखौंको संख्यामा सीसीटीभी जडान गर्नेदेखि वाईफाईका लागि आपले केन्द्र सरकारसँग समन्वय गर्नुको विकल्प छैन । केजरीवाललाई भ्रष्टाचार रोक्नु पनि उत्तिकै चुनौतीपूर्ण छ । स्वच्छ पृष्ठभूमिका व्यक्तिहरू निर्वाचित भए तापनि तिनलाई भ्रष्ट हुन धेरै बेर लाग्दैन भन्ने हेक्का उनलाई हुनुपर्छ ।
बिर्सन नहुने कुरा के हो भने भाजपालाई पाठ सिकाउनकै लागि पनि जनताले जानीबुझीकन केजरीवालप्रति सद्भाव व्यक्त गरेका हुन् । केन्द्र सरकारसँग माग पूरा गर्न पुरानै शैलीमा धर्नामा बस्नेभन्दा अन्य विधिबाट सरकारलाई दबाब दिएर अघि बढ्नु श्रेयस्कर हुनेछ ।
अब केजरीवाललाई पहिले जस्तै ‘म अराजकतावादी हुँ’ भन्ने छूट छैन । उनले बिर्सेर पनि त्यसो भन्नुको अर्थ प्रचण्ड बहुमतको अपमान ठहरिनेछ । पहिले मुख्यमन्त्रीबाट राजीनामा गर्नु गल्ती थियो तर अपराध थिएन । त्यसैले पनि उनले माफीसहितको पुरस्कार पाएका छन् । तर, अब गर्ने एक मात्र गल्ती उनका लागि अपराध सावित हुन सक्छ ।
यथार्थ के हो भने आप कुनै ऐतिहासिक विरासतभन्दा पनि भ्रष्टाचार विरोधी आन्दोलनको जगबाट उठेको हो । त्यसकारण यो पार्टीको कुनै खास घोषित वाद/इजम छैन । पार्टीको छवि नै विकास पक्षधर र वंशवाद विरोधी र स्वच्छ राजनीतिको पर्याय हो । त्यसैले दिल्लीमा उदाहरणीय काम गर्न सके आप राष्ट्रिय राजनीतिमै विकल्पका रूपमा स्थापित हुनसक्ने सुनौलो अवसर छ ।
राष्ट्रिय राजनीतिमा आपको उदयले विभिन्न प्रदेशमा जाति, धर्म, वर्णका नाममा पकड बनाएका दलहरूलाई सुध्रने संकेत पनि दिएको छ । अहिले हेर्दा सबै पार्टीका प्रान्तीय नेताले दिल्लीमा भाजपाको हारलाई मोदीको कार्यशैलीसँग जोडेर प्रहार गरे पनि भोलि आप ती सबैका लागि चुनौती बन्नेछ भन्ने कुरा बिर्सन हुन्न । केजरीवालले सह मुख्यमन्त्री नियुक्त गरेर आफ्नो ध्यान दिल्ली बाहिर पनि विस्तार गर्ने योजना बनाइसकेका छन् ।
आपका विचारक योगेन्द्र यादवले भनेजस्तै दिल्लीमा यो जीतको अर्थ सानो भए तापनि विशाल भारतका लागि वैकल्पिक राजनीति शुरू गर्न विशाल कोशेढुंगा सावित हुनसक्छ ।
‘नयाँ शक्ति’ को नेपाली गफ
आपले पहिलोपटक दिल्ली निर्वाचनमा विजय हासिल गरेसँगै नेपालमा पनि नयाँ शक्तिको बहस चलाउने कोशिश गरिएको थियो । दोस्रोपटकको विजयले यो बहसले फेरि चर्चामा ल्याउने सम्भावना पनि देखिएको छ । तर अघिल्लोपटक ‘नयाँ शक्ति’ को बहस शुरू गर्नेको पृष्ठभूमि संदिग्ध भएको र बाँकी चर्चित भनिएका अनुहार पनि जागीरे मानसिकताबाट बाहिर आउन नसकेको देखिएकाले नेपाली राजनीतिमा तत्काल यसको सम्भावना देखिंदैन ।
सञ्चारमाध्यमको सघन उपस्थिति, सानो क्षेत्र र संरक्षकवादी राजनीति नचल्ने भएकाले पनि दिल्लीको राजनीतिमा आपको जीत सम्भव भएको हो । आपले जस्तै स्वयंसेवक परिचालन गर्न सक्नु पनि अर्को चुनौती हुनेछ किनभने दिल्लीमा जनता विनास्वार्थ लागेका देखिन्छन् ।
स्वच्छ राजनीतिका लागि नयाँ शक्तिको खोजी आवश्यक हुँदाहुँदै पनि त्यसका लागि गरिने प्रयासहरू स्तुत्य हुन्छन् र हुनैपर्छ । त्यसकारण अहिलेका लागि नयाँ शक्तिको अभ्यास स्वरुप युवा नेतालाई पार्टीमा उच्च र निर्णायक तहमा पुर्याउनुको विकल्प नेपालीसामु छैन । दिल्लीको हावा र लहरबाट प्रेरणा लिएर नेपाली राजनीतिको शुद्धीकरण अभियानमा जनमत शुरु हुनु पनि ठूलै कुरा हो ।
साप्ताहिक खबरपत्रिका हिमालबाट