ब्लगमंगलबार, फाल्गुण ५, २०७१
‘गरीबका छोराछोरी उक्साउनेले गद्दारी गरे’
पूर्व लडाकू भरतकुमार राई (२८), खुदुनाबारी, झापा
डेढ वर्ष साउदीमा स्काफोल्डिङको काम गरेर गएको पुसमा फर्कें। केही दिनमा श्रीमती मीना र आठ वर्षकी छोरी कल्पनालाई लिएर कन्काई घुम्न गएँ। साँझ फिर्दा घरमा पार्टीका साथीहरू पर्खिरहेका रहेछन्। अभिवादन र कुशलक्षेम पछि साथीहरूले पार्टी कमिटीलाई आर्थिक सहयोग मागे। मैले राजनीतिका नाममा जे जति गरियो पुग्यो, अब उप्रान्त पार्टीको कुरा लिएर नआउन अनुरोध गर्दै फर्काइदिएँ।
म २०५६ सालमा १५ वर्षको उमेरमा इलामको शान्तिपुर–३ स्थित घर छोडेर पार्टीमा लागेको थिएँ। त्यो बेला मैले ८ कक्षा उत्तीर्ण गरेको थिएँ। नौ जनाको परिवारलाई बनिबुतो नगरी खान पुग्दैनथ्यो। पार्टीका मान्छेहरूले लडाइँ गरे राज्य जितिन्छ, सुखका दिन आउँछन् भन्दै फकाएपछि दिनभरि दाउरा काटेर फर्किएको म जंगल पसेको थिएँ।
पाँचथरमा दुई साता हतियार चलाउने तालीम लिएपछि इलामको पुवाखोला, भोजपुरको घोडेटार, झापाको बिर्तामोड र सुरुङ्गा, मोरङको जाँते र रमिते अनि सिरहाको बन्दीपुरको भिडन्तमा गइयो, कसो–कसो बाँचियो पनि। बन्दीपुरमा मध्य दिउँसो सुरक्षा फौजसँग भएको भिडन्तमा हाम्रो कमान्डर सम्झना मेरै सामुन्ने ढलिन्। युद्ध कति डरलाग्दो हुन्छ भन्ने कुरो देखियो, तर यो जीवनमा कुनै काम नलाग्ने अनुभव रहेछ।
युद्धकालमै धनकुटाकी मीना राईसँग मोरङको केराबारीमा बन्दूक साटेर क्रान्तिकारी बिहे गरें। उनको भूमिगत नाम ‘आशा’ थियो। भूमिगत कालमै छोरी कल्पना जन्मिइन्। क्यान्टोनमेन्टमा बसेको दुई वर्षमा मीनालाई ‘अयोग्य’ सूचीमा राखिएपछि उनी तीन वर्षकी छोरी लिएर सुनसरीको इटहरी सरेको माइतीमा बस्न गइन्।
अर्को तीन वर्षमा म पनि स्वेच्छिक अवकाश लिएर बाहिरिएँ। त्यो बेला साढे चारलाख रुपैयाँ पाएको थिएँ। गरिखान केही सीप थिएन। डेढ लाख खर्च गरेर साउदी अरब गएँ। त्यहाँ समय, श्रम र सीपको महत्व बुझे। साउदीको कमाइले खुदुनाबारी–५ मा एककट्ठा जमीन किनेर दुईकोठे घर बनाएँ।
युद्धमा बन्दूक बोकेर हिंड्दा शक्तिशाली भए जस्तो लाग्थ्यो। कतिको भान्सामा पसेर हप्काउँदै सित्तैंमा खाइयो। आज सम्झँदा त्यो कुराले खूब पोल्छ। आज घरमा आएका पाहुना टार्न छरछिमेकमा नून–भुटुन पैंचो माग्नुपर्छ।
कुनै दिन आजको आफ्नो भन्दा कमजोर आर्थिक अवस्था भएका गाउँलेका घरमा पसेर, भात खाएर धन्यवादसम्म नभनी हिंडिएको थियो। बन्दूकको आडमा कतिका खोरका खसी, कुखुरा पनि खाइयो। त्यस्तो क्रान्तिले आज पोल्छ मात्र। फेरि दुबई जान म्यानपावरलाई राहदानी बुझाएको छु।
युद्धले पढाइ र भविष्य बर्बाद बनाएकै हो। गरीबका छोराछोरी उक्साउने नेताहरू निजी स्वार्थमा लागेका छन्। यो गद्दारी हो। धन्न घाइते भइएनछ, नत्र म जस्तो गरीबको छोरो आज भिखारी बन्नुपर्थ्यो।
प्रस्तुतिः गोपाल गडतौला
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
