टिप्पणीमंगलबार, फाल्गुण ५, २०७१
नयाँ शक्ति बहस खोक्रो नहोस्
नेपालमा नयाँ शक्तिको आवश्यक्ता नै छैन भन्नेहरु कमै होलान् । तर, अहिले भएका शक्तिको बिकल्प किन खोज्नुपर्यो ? नयाँ शक्ति केका लागि ? कस्तो समाज बनाउन ? कस्ता मानिसहरुको भन्ने प्रश्नहरुको उत्तर भने सबैले खोज्नेछन् । ती प्रश्नहरुलाई बेवास्ता गरेर नयाँ शक्तिको आवश्यक्ताबारे गरिने बहस सार्थक हुने छैन ।
विद्यमान शक्तिहरुले समाजका सबै वर्ग, समुदाय र तप्काको प्रतिनिधित्व गर्न प्रयास गरिरहेको भए पनि ती पर्याप्त र पूर्ण हुदैनन् । त्यसैले हरेक समाजमा नयाँ शक्तिका लागि आधार र ठाउँ बाँकी नै हुन्छ । कुनै पनि समाज र मुलुकमा नयाँ शक्ति अकस्मात सतह वा शक्तिमा आउनुको कारण पनि त्यही हो । समाजको चाहना र आवश्यक्ता अनुसार निर्माण भएको शक्तिले पुराना शक्तिहरुले ओगटेको ठाउँ लिदै आफूलाई स्थापित गराउछ ।
तर, नयाँ शक्ति बिना आधार निर्माण हुनसक्दैन । कि कुनै आन्दोलनको आधार हुनुपर्छ, कि वैचारिक, जातीय, भाषिक वा क्षेत्रीय आधार हुनुपर्छ कि पुराना शक्तिहरुले वैचारिक, जातीय, भाषिक, क्षेत्रीय आधारलाई बेवास्ता गरेको हुनुपर्छ वा पुराना शक्ति कामै नलाग्ने गरी अलोकप्रिय बनिसकेको हुनुपर्छ । त्यस्तो नहुँदा निर्माण हुने शक्ति केहीको रहर वा लहड मात्र बन्नेछ । त्यस्तो शक्ति बैकल्पिक राजनीति बन्न सक्दैन ।
भारतको नया दिल्लीमा भर्खरै उदाएको आम आदमी पार्टीलाई नै हेरौं । अरविन्द केजरीवालले आधा दशकदेखि गैर–सरकारी संस्थाको माध्यमबाट तल्लो वर्ग र समुदायको उत्थानका लागि काम गरेर एउटा आधार बनाएका थिए । त्यसपछि सूचनाको हक र भ्रष्टचार विरोधी अभियान चलाएर उनले वौद्धिक तथा जागरुक युवाहरुको ठूलै समूह निर्माण गरे ।
त्यसपछि महाराष्ट्रका प्रसिद्ध गान्धीवादी अन्ना हजारेलाई अघि सारेर उनले जनलोकपाल विधेयकका लागि आन्दोलन चलाए ।
दिल्लीको रामलिला मैदानमा हजारेले गरेको अनशन र त्यसलाई समर्थन जनाउन उपस्थित जनसमूहलाई भारतको इतिहासमै ठूलो जनआन्दोलन मानियो । केजरीवालको पार्टीको मूख्य आधार त्यही थियो ।
तर, एक वर्षअघि ४९ दिन दिल्ली प्रान्तमा बनेको अल्पमतको सरकार छाडेर लोकसभा चुनावमा भाग लिएपछि तथा त्यसमा जम्मा ४ सिटभन्दा बढि जित्न नसकेपछि केजरीवालको पार्टी बिघटन हुने अनुमान गर्न थालियो । नेताहरुबीचको बिबाद बाहिर आउन थाल्यो भने कयौंले पाटी नै छाडे ।
नरेन्द्र मोदीको जल्दोबल्दो व्यक्तित्वका अघि आप टिक्न नसक्ने भविष्यवाणाी मिडिया र बुद्धिजिवीहरुबाट आउन थाल्यो । त्यस्तो संकटको बेला त्यो पार्टीलाई उठाएर अहिले जितसम्म पुर्याउन केजरीवाल र अन्नाले तयार पारेको त्यही आधारले काम गर्यो । लहडमा बनेको पार्टी हुन्थ्यो भने त्यस्तो संकटसग जुध्न सक्दैनथ्यो ।
नेपालमै माओवादीको उदयलाई हेर्दा पनि धेरै कुरा बुझिन्छ । १० वर्षे ‘जनयुद्ध’ चलाएको भएपनि शान्तिप्रक्रियामा आएपछि माओवादी यत्रो शक्ति बन्छ भनेर अनुमान गर्नेहरु कमै थिए । २०६४ को संविधानसभाको निर्वाचनमा उ मुस्किलले तेस्रो शक्ति बन्ने अनुमान गरिन्थ्यो ।
तर, १० वर्षे ‘जनयुद्ध’ को आधार, त्यसले तयार पारेका लडाकू कार्यकर्ता, तल्लो वर्ग र पछाडि पारिएका समुदायको पक्षमा उसले लगाएका नारा र उप्रति तिनको आशा भरोषाले माओवादीलाई पहिलो शक्ति बनायो । यो वेग्लै हो कि, भरोषालाई कायम राख्न नसकेकाले संविधानसभाको दोस्रो निर्वाचनमा उ नराम्रोसग पराजित हुदै तेस्रो शक्ति बन्यो ।
त्यसैले अहिले नयाँ शक्तिको आवश्यक्ता देख्नेहरुले बिद्यमान राजनीतिक शक्तिले के गर्न सकेनन् तथा आफूले के गर्ने हो भन्ने स्पष्ट पार्नुपर्छ । त्यो शक्ति कुन वैचारिक/राजनीतिक आधारमा निर्माण हुनेछ भन्ने खुलाउनुपर्छ ।
अहिले चलिरहेको संघीयता, राज्यपुनर्संरचनालगायतका बहसलाई छलेर नयाँ शक्ति निर्माण हुनसक्दैन । नयाँ शक्तिको कार्यशैली पुराना भन्दा कुन रुपमा भिन्न र प्रगतिशिल हुनेछ भन्ने पनि प्रष्ट पार्नुपर्छ । किनभने, अबको समाजमा छद्म कुरा गरेर कोही स्थापित हुनसक्दैन ।
यत्तिकै महत्वपूर्ण कुरा, प्रतिवद्धता जनाउनेहरुको विगतको व्यवहार पनि त्यस बिपरित हुनुहुदैन । किनभने, इतिहास नहेरी वर्तमान र भविष्यलाई पत्याउन धेरै गाह्रो हुन्छ ।
-देवकाेटाकाे ब्लगबाट