थप समाचारमंगलबार, फाल्गुण ५, २०७१
माओवादीले हिंसात्मक विद्रोह थालेकै वर्ष जन्मेको पुस्ता भन्छ: आन्दोलन होइन अवसर
– तुफान न्यौपाने र सजना बराल
नेपालमा हिंसात्मक विद्रोह शुरु भएकै वर्ष जन्मेका आजका २० वर्षे तन्नेरीका रुचि, चाहना, प्रविधिसँगको निकटता र सोचले देखाउँछ, उनीहरू दुनियाँसँगै अगाडि बढ्न चाहन्छन्।
बिर्तामोड, झापाका विवेक दाहालको जन्म १ फागुन २०५२ मा भएको थियो जुन दिन तत्कालीन नेकपा (माओवादी) ले ‘जनयुद्ध’ का नाममा हिंसात्मक विद्रोह शुरु गरेको थियो। अहिले उनी भारतीय राजधानी नयाँदिल्लीको ‘इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया’ मा स्नातक दोस्रो वर्षका विद्यार्थी छन्। “नेपालमा बारम्बार हुने बन्द–हडतालले बाधा नपुर्याएको भए पढ्नलाई विदेशिनुपर्ने थिएन”, दाहाल भन्छन्।
उनको पुस्ताले निरन्तर बन्द–हडताल खेप्दै विद्यालय र प्लस टु तह सिध्यायो। त्यसैले, बन्द–हडताल र आन्दोलनप्रति उनको पुस्तामा तीव्र अरुचि छ। युवामा गनिनै लागेको यो पुस्ताका दाहाल जस्ता हजारौं विद्यार्थी अहिले विदेशमा पढिरहेका छन्। स्वदेशमै भएकाहरू बन्द विरुद्ध सडकमा आउन थालेका छन्।
माओवादीको १० वर्षे विद्रोहसँगै र त्यसले हुर्काएको बन्द संस्कृति झेल्दै हुर्किएको यो पुस्ताका तन्नेरी जुनसुकै उद्देश्यको भए पनि बन्दलाई राम्रो मान्दैनन्। १ फागुन २०५२ मै जन्मेकी काठमाडौं सामाखुशीकी जुनु राना भन्छिन्, “एउटाको बन्दले धेरैलाई असर पार्छ, धेरैको रोजीरोटी खोस्छ र विध्वंसक सोच विकास गराउँछ।”
यही १२ फागुनमा २० वर्ष टेक्ने लक्ष्मीपुर पतारी–८ सिरहाका रामशंकर साह पनि बन्द–हडताललाई सधैंको लागि बन्द गर्नुपर्ने बताउँछन्। थाहा पाएदेखि बन्दले पढाइ र जीविकामा अवरोध पुर्याएको उनको अनुभव छ। विद्यालय त कहिल्यै, कसैले बन्द गर्न नपाउने नियम लागू गर्नुपर्ने रामशंकर बताउँछन्।
त्यस्तै, ९ वैशाख २०५२ मा जन्मेका बैतडीका जलेन्द्र बोहरा भन्छन्, “प्राध्यापक, विद्यार्थी, कर्मचारी, व्यवस्थापन समिति र समाजलाई नै राजनीतिले खान लागिसक्यो, अब बन्द–हडतालको विकल्प सोच्नुपर्छ।”
१ फागुन २०५२ मा जन्मेकाहरूका लागि यो दिन केवल ‘बर्थ डे’ मात्र हो। ‘जनयुद्ध दिवस’ त अरूकै लागि हो। त्यही दिन जन्मेकी दमक–८ ताराबारीकी सुस्मिता दाहालको काखमा अहिले १० महीने छोरो छ। उनको विचारमा हिंसा शुरू भएको दिन जन्मनु एउटा संयोग हो भने हिंसाको परिणामसँगै हुर्कनु बेग्लै अनुभव। र, यस्तो अनुभवले यो पुस्तालाई बन्द–हडताल विरोधी बनाएको छ। “राजनीति गर्नेहरूले बन्द–हडतालको विकल्प ल्याउनुपर्छ”, २९ माघको बिहान हिमाल सँग सुस्मिताले भनिन्, “देश ठप्प पार्ने सोचले अब ठाउँ पाउनुहुँदैन।”
सुदूरपश्चिम पहाडका हुन् वा पूर्वी तराईका, काठमाडौंका हुन् वा मध्य तराईका, तन्नेरी पुस्ता बन्द–हडताल गर्ने आन्दोलनको विपक्षमा छन्। राजनीतिको सन्दर्भमा मात्र होइन, परिवार, समाज र देशप्रति उनीहरूको सोच पनि उस्तै–उस्तै छ।
तथ्यांक अनुसार २०५२ सालमा जन्मेका करीब ६ लाख नेपाली यतिबेला २० वर्षमा हिंडिरहेका छन्। उनीहरूको सोख, रुचि र चिन्ता एउटै छ, जुन २०५२ सालताका तन्नेरी हुँदै गरेकाको भन्दा बिल्कुलै भिन्न छ। २०५२ सालताका आन्दोलन/विद्रोह बिक्यो, अहिले अवसरको खोजी छ।
‘करिअर’ चिन्ता
गंगापरस्पुर–२ दाङको किसान परिवारमा जन्मिएका दिवाकर चौधरी गत २६ असोजमा २०औं वर्षमा लागे। उनी मोबाइल बोक्छन्, फेसबुक चलाउँछन् र फुर्सदमा सिनेमा हेर्न जान्छन्। सामाखुशीकी जुनुको लागि फेसबुक, भाइबर र गुगल आधारभूत आवश्यकता हो। उनी फुर्सदमा पत्रपत्रिका र साहित्य पढ्छिन्, कार्टुन–एनिमेसन हेर्छिन्। घुमफिर उनको अर्को सोख हो।
१ फागुन २०५२ कै दिन जन्मेका हल्देकालिका नुवाकोटका विष्णु गिरी काठमाडौंको लिङ्कन कलेजमा पढ्दै छन्। उनको लागि पनि फेसबुक र च्याट अनिवार्य आवश्यकता हो। फुर्सदमा उनी गिटारमा मग्न हुन मन पराउँछन्। “मेरो पुस्ता प्रविधिसँग जोडिएको पुस्ता हो”, विष्णु भन्छन्, “हामी आफ्ना रुचि, आवेग, उत्तेजना, रिस, आलोचना, खुशी, मनोरञ्जन, सबैलाई सामाजिक सञ्जालमा राख्छौं।”
सामाजिक संजालमा उपस्थिति देखाउने, फुर्सतमा घुम्ने, फिल्म/नाटक हेर्ने, संगीत सुन्ने, साहित्यिक किताब पढ्ने आदि विशेषताले यो पुस्ताको सामाजिक दायरा बढाएको छ। ‘करिअर’ प्रतिको चिन्ता यो पुस्ताको साझ्ा विशेषता हो।
उनीहरू जन्मेको साल २०५२ मा नेपालमा कुल ७५ हजार ६३७ टेलिफोन लाइन रहेकोमा अहिले टेलिफोन प्रयोगकर्ताको संख्या दुई करोड ५५ लाख पुगेको छ। २०५१/५२ मा राजधानी लगायतका ठूला शहरहरूको रहरको वस्तु रहेको इन्टरनेट प्रयोगकर्ता नै २०७१/७२ मा ९४ लाख ६० हजार पुगेका छन्।
यसले पनि यो पुस्तालाई प्रविधिप्रेमी बनाएको छ। “हातहातमा मोबाइल र फेसबुक छ”, ३ चैत २०५२ मा कैलालीको चौमालामा जन्मेकी हेमन्ती भट्ट भन्छिन्, “यसमा सम्पर्क, सूचना, मनोरञ्जन सब चिज छ।”
१२ मा पढ्दापढ्दै बिहे भएर कञ्चनपुरको भीमदत्तनगर पुगेकी हेमन्ती अहिले जापानी भाषा सिक्दैछिन्। देशमा राजनीतिक झ्गडा नसल्टिंदा रोजगारीका अवसर सिर्जना नभएको तर, त्यसै बस्न पनि नसकिने भएकोले वैदेशिक रोजगारीमा जान भाषा सिक्नुपरेको उनले बताइन्।
पलायन संस्कृति
यही २७ फागुनमा २० वर्ष टेक्ने काँक्री, रुकुमका वीरबहादुर बुढा मगर भारतीय सेनामा भर्ती हुने तेस्रो प्रयासमा छन्। त्रिभुवन जनता उमावि खलंगाबाट १२ कक्षा उत्तीर्ण उनले लाहुरे हुन तालीम लिनकै लागि पढाइ रोकेका छन्। दाङको घोराहीस्थित लोटस ट्रेनिङ सेन्टरमा तालीम लिइरहेका उनले सिंगापुर पुलिसमा पनि एक पटक प्रयास गरेका थिए।
“भर्ती हुने उमेर रहुन्जेल प्रयास छाड्दिनँ”, वीरबहादुर भन्छन्। २६ असोज २०५२ मा जन्मेका गंगापरस्पुर–२ दाङका दिवाकर चौधरी पनि ब्रिटिश–गोर्खा पल्टनमा जाने सोचमा छन्। “मेरो साथी इनरदेव चौधरी ब्रिटिश लाहुरे भयो”, सनलाइट मोर्डन बोर्डिङ स्कूल लमहीबाट व्यवस्थापनमा १२ कक्षा उत्तीर्ण दिवाकर भन्छन्।
२४ फागुनमा २० वर्ष टेक्ने घोराही–६ दाङका ओमप्रकाश घर्ती मगर पनि हजुरबा जस्तै भारतीय सैनिक हुन पढाइ छाडेर तयारी गरिरहेका छन्। २ फागुन २०५२ मा जन्मेका तोपगाछी झापाका एक्सन मगर भारतीय गोर्खा बन्ने प्रयासमा छन्। तेस्रो प्रयासमा एसएलसी उत्तीर्ण भएका उनी अहिले ११ कक्षा पढ्दै छन्। स्पेनको बार्सिलोना क्लबका ‘डाईहार्ड फ्यान’ उनी पल्टन लाग्न पाए फूटबल विकासमा केही गर्ने बताउँछन्।
बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीको फूटबल जादूमा लट्ठिने एक्सन नेपालमा भने नेताहरूको झ्गडाले सबथोक चौपट पारेको बताउँछन्। यता, नुवाकोटका विष्णु गिरी पनि जापानी भाषा सिक्दैछन्। अनेरास्ववियू क्रान्तिकारीको क्षेत्रीय सदस्य समेत रहेका उनी जापान जान सक्दा काम गर्दै पढ्न सहज हुने बताउँछन्।
अहिले करीब २० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको सरकारी तथ्यांक छ। त्योभन्दा झ्न्डै दोब्बर संख्या भारतमा रहेको अनुमान गरिन्छ। यसले देखाउँछ– नेपाली युवा पैसा कमाउने अवसरको खोजीमा छन्।
आर्थिक वर्ष २०६१/६२ मा दैनिक ५०० नेपाली वैदेशिक रोजगारीमा जाने गरेकोमा २०७१/७२ मा आइपुग्दा यो संख्या १५ सय पुगेको छ। यही अनुपातमा रेमिट्यान्स बढेको छ। आव २०६१/६२ मा वार्षिक रु.६० अर्ब रहेको यो रकम आव २०७१/७२ मा रु.५ खर्ब ४३ अर्ब पुगेको छ।
साथमा गोपाल गडतौला/झापा, ईश्वरचन्द्र झा/ जनकपुर, देविका घर्ती मगर/दाङ, बच्चु बिक/महेन्द्रनगर