रिपोर्टबिहीबार, फाल्गुण ७, २०७१

झापा, मोरङ र सुनसरीका रैथाने भन्छन्: जातीय राज्य नबनोस्

हिमालखबर

– गोपाल गडतौला, झापा

अजिम हुसैन, कृष्णकुमार लिम्बू र अब्दुल खबिर। तस्वीरहरुः गोपाल गडतौला

अजिम हुसैन, कृष्णकुमार लिम्बू र अब्दुल खबिर। तस्वीरहरुः गोपाल गडतौला

२१ माघ बिहान झापाको सिजुवा–३ शनिश्चरे बजारस्थित रामबहादुर भण्डारी (५०) को चिया दोकानमा एउटै बेञ्चमा बसेका थिए– मोहन यादव (३१), खोमनाथ सापकोटा (६६) र महादेव महतो (६९)। एसएलसी पास यादव र साउँ अक्षर चिनेका सापकोटा एउटै टोलवासी रहेछन्। बाटो, कुलो एउटै; भर–अभर एैंचोपैंचो र नाता नपरे पनि जन्ती–मलामीको सम्बन्ध।

गाउँको विकासमा एकमुख। “मधेशी–पहाडी राज्यको कुरै बेकार छ”, यादव भन्छन्, “गाउँको विकास होस्, विराटनगरमा भएका अड्डाका शाखा गाउँछेउ आउन्, बस्।”

२१ वर्षअघि धनकुटाको मुगाबाट सिजुवा झ्रेका भण्डारीले आधा दिनमा पुगिने पुर्ख्यौली घर–जग्गा र अहिलेको बसाइ टाढिने हो कि भन्ने चिन्ता जनाए।

२०५३ सालयताका सबै निर्वाचनमा सिजुवाबाट भोट खसालेका उनले मुगामा रहेको अंश मासेका छैनन्। “संघीयताले सिजुवा र मुगालाई नचिरिदेओस् भन्ने कामना गरिरहेको छु”, दुई वर्षअघि चिया दोकान खोलेका भण्डारीले भने, “टोलमा बाहुन, क्षेत्री, पहाडे र मधेशी, दलित, जनजाति मिलेरै बसेका छौं, जातका कुराले मेलमिलाप हराउला भन्ने चिन्ता पो बढेको छ।”

३६ किलोमिटर पश्चिमको विराटनगर भन्दा टाढा नपुगेका महतोले हिजोआज भण्डारीको चिया दोकानमा छरछिमेकले गर्ने कुरामा चाख बढाएका छन्। चिया खाँदै कुरा सुनिरहेका महतोले कहिलेकाहीं काम पर्दा अड्डा धेरै टाढा भएको एकसासमा बताए। उनलाई अलग प्रदेश बन्दा हुने फाइदा–बेफाइदा थाहा छैन, तर पानी हाल्ने सिजनमा धेरै लोडसेडिङ नहोस्, हिउँदवर्षा गाडी चलोस् भन्ने लाग्छ। बरु, विराटनगर जानै नपर्ने व्यवस्था भए राम्रो हुने महतोले बताए।

पूर्वी मोरङको इटहरा–५ स्थित सरस्वती उच्चमाविका प्रावि शिक्षक अरुणकुमार कलवार (४७) को पुर्ख्यौली घर मध्य तराईको बगडा–२, धनुषा हो। इटहराको सरस्वती चोकमा दाहाल, लकान्द्री (पहाडे दलित) र नेवार उनका छिमेकी छन्– २८ वर्षदेखि। “अहिले भइरहेको प्रदेश विभाजनको कुरा हाम्रो समाज सुहाउँदो छैन”, कलवार भन्छन्, “झापा, मोरङ र सुनसरीलाई मध्य तराईसँग जोडेर प्रान्तीय मुख्यालय वीरगञ्ज वा जनकपुर बनाउने कुरा व्यावहारिक रूपमा सम्भवै छैन।”

टाढाको एउटा कुनै भाषिक समुदाय बहुल क्षेत्रमा जोड्दा पूर्वका सीमान्तकृतहरू मारमा पर्ने बुझेका शिक्षक कलवार यसले पूर्वी तराईमा द्वन्द्व निम्त्याउने देख्छन्। सगरमाथा र कोशीलाई पूर्वको भौगोलिक गौरव मान्ने उनले पहाडसँग यो क्षेत्रको सम्बन्ध अरू बलियो पार्नुपर्ने बताए। “पिछडिएका समुदायलाई विकास र अधिकार दिन होइन”, कलवारले भने, “केही घरानियाँ मधेशी नेताहरूलाई मुख्यमन्त्री बनाउन झापा, मोरङ र सुनसरीलाई कोशी पारिका जिल्लामा मिसाउने कुरा ल्याइएको हो।”

बेखबर सीमान्तकृत

sa1झुर्किया–९ मोरङको एउटा सुकुम्बासी परिवारकी एकल महिला घरमुली राजकुमारी राजवंशी (४२) २०५१ सालमा बक्राहा खोलाले गोविन्दपुर गाविसमा रहेको डेढ बिघा खेत बगर बनाएयता बनिबुतो गरेर परिवार चलाइरहेकी छन्। पहाडी र मधेशी आदिवासीको सराबरी बस्तीमा माइतीको जमीनमा छाप्रो हालेर बसेकी निरक्षर राजवंशी भन्छिन्, “छोराहरूलाई पढाउन सकिनँ, घरमा रेडियो पनि छैन, राजनीतिका कुरा जान्दिनँ।”

महादेवा–३ चौकीघाटका रामजी सुतियार (५५) दशक अघिसम्म आरा बोकेर काठ काट्न गाउँ–गाउँ चहार्थे। अहिले प्लास्टिकका फर्निचर र रूख सकिएर ६ जनाको परिवार पाल्न उनलाई धौ–धौ छ। १० कट्ठा जमीनको उब्जनीले आधा वर्ष पुग्छ, बाँकी महीना मजदूरी गरेर परिवार पाल्छन्, उनी। चर्पी बनाउने र फुसको घरमा टीनको छाना लगाउने उनको सपना सालसालै तुहिरहेको छ। उनले ट्युबवेल भने पोहोरसाल गाडेरै छाडे। “हामी जस्ताको लागि भोटको दिन मात्र राजनीति हुन्छ”, २१ माघको दिउँसो दुईचास जोतेको खेतमा पटाहा लगाइरहेका उनले एकैछिन गोरु बिसाएर भने, “कसैले ऋण पत्याइदिए छोरालाई विदेश पठाउँथें, घरमा टीन लगाउँथें।”

डाइनिया–८, मोरङका अजिम हुसैन (५८) को ११ सदस्यीय परिवार छ। १० कट्ठा डाँडो जमीनबाट मुस्किलले नून–भुटुन जुट्छ। उनी साइकलमा सात गाउँ चहार्दै कुखुरा खरीद गरेर २५ किलोमिटर पूर्वमा पर्ने झापाको गौरीगञ्ज बजारमा बेच्छन्। उनी कुखुराको खुँगी बोकेर ओहोर–दोहोर गर्दागर्दै बूढो भइसके, तर ‘हुलाकी राजमार्ग’ को डाइनिया–गौरीगञ्ज खण्ड ग्राभेलसम्म भएको छैन। हुसैन भन्छन्, “राज्य बनाउने कुरा गर्छन्, तर बाटो ग्राभेल नभई पुस्ता बितिरहेको छ।”

कुखुरा किन्न गाउँ पस्दा वर्षौ पहिले हुसैनले चिनेका ७१ वर्षीय कृष्णकुमार लिम्बू ४५ वर्षदेखि सिजुवा–८ मा छन्। २०२६ सालमा पाँचथर छाडेका उनका लागि अहिले सुभाङका दाजुभाइभन्दा सिजुवाका मुसलमान, राजवंशी, धिमाल र पहाडी–मधेशी दलित छिमेकीहरू नजिकका भएका छन्। २१ माघको दिउँसो गौरीगञ्ज बजारमा हुसैन र उनका छिमेकी कुखुरा व्यापारी अब्दुल खबिर (४८) सँग बात मारिरहेका लिम्बूले भने, “लिम्बूको मात्र कुरा गरें भने यहाँ म यिनीहरूसँग कसरी चिया खाँदै गफिन सक्छु र?”

यस्तै, महादेवा–४ मोरङका सहदेव माझी (७१) र चकातु हरिजन (७०) निकट छिमेकी हुन्। दुवै जना मासिक रु.५०० वृद्धभत्ता पाउँछन्, थप खर्च जुटाउन बाँसको चाल्नी बनाएर हरेक बुधबार एकाबिहानै हिंडेर गौरीगञ्ज बजारमा बेच्न पुग्छन्। दशकौंदेखि उनीहरू हिंडिरहेको बाटोलाई सरकारी रेकर्डमा ‘हुलाकी राजमार्ग’ भनिएको छ।

यो ‘राजमार्ग’ ले ल्याउने भनेको सुख कुर्दाकुर्दै आफूहरूको ‘जाने बेला भइसकेको’ हरिजनले बताए। ३८ वर्षदेखि झापाको बैगुन्धुरास्थित अमर उच्चमाविमा शिक्षक रहेका सुरेश पौडेल स्थानीय विकास गर्दै समाजलाई गति दिने संघीयता आउनुपर्नेमा प्रदेश नबन्दै जातीयता हावी भएको बताउँछन्। “नयाँ ढाँचाको सामन्तवादको सपना देख्नेहरूले संघीयताको अवधारणालाई नै विकृत पारे”, शिक्षक ढकाल भन्छन्।

गौरीगञ्ज बहुमुखी क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी पनि शिक्षक ढकालकै जस्तो चिन्तामा छन्। २० माघ दिउँसो खजुरगाछी बजारमा कोचिला गाबुर (युवा) फ्रन्टले गरेको आमसभामा उनलाई बोलाएको थियो, तर गएनन्। फ्रन्टले झ्ापा, मोरङ र सुनसरी कोच प्रदेश हुनुपर्ने माग राखेको छ। “धेरै थरीका मानिस बसेको ठाउँलाई एउटाको राज्य बनाउँदा अरूको उपेक्षा हुन्छ”, राजवंशी भन्छन्, “तर, अहिले त्यस्तै प्रयास भइरहेको देख्छु।”

कसको भूमि?

मोहन यादव, खोमनाथ सापकोटा र महादेव महतो।

मोहन यादव, खोमनाथ सापकोटा र महादेव महतो।

झापा, मोरङ र सुनसरी सहित अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान राज्य हुनुपर्ने माग गरिरहेको संघीय लिम्बूवान पार्टी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मोर्चामा छ। कोशी पूर्वका झापा, मोरङ र सुनसरी सहित तराईका जिल्लाहरूलाई ‘मधेश प्रदेश’ बनाउनुपर्ने माग बोकेका मधेशवादी दलहरू पनि दाहालकै मोर्चामा छन्। उत्तरमा चीन र दक्षिणमा भारत छुने लिम्बूवान राज्य माग्दै आएको संघीय लिम्बूवान पार्टीका नेता कुमार लिङ्देन भन्छन्, “सिमानाबारे अहिले कुरा नगर्ने सहमति छ।”

उत्तर–दक्षिण फैलिएका राज्य बनाउनुपर्ने लिम्बूवान पार्टीको माग भूगोलका हिसाबमा नेपाली कांग्रेस र नेकपा एमालेसँग मिल्दोजुल्दो छ भने नाम एमाओवादी नजिक छ। गौरीगञ्ज बहुमुखी क्याम्पसका प्रमुख राजवंशी यसखाले विरोधाभासलाई ‘ढुकुवा प्रवृत्ति’ भन्छन्। वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि झापा, मोरङ र सुनसरी लिम्बूवान क्षेत्र रहेको लिम्बूवानवालाहरूको दाबी छ। यहाँका आदिवासीहरू यो कुरा सुन्नै तयार नभएपछि लिम्बूवानवादीहरू जुरोपानी–२ को भुँडेसिमल प्राचीन लिम्बूवानको सीमा भएको नक्शा देखाउने पर्चा वितरण गरिरहेका छन्।

भुँडेसिमल आसपासमा लिम्बू जातिको पुरानो बस्ती भने छैन। प्रजातन्त्र पुनर्स्थापनापछिका दुवै स्थानीय निर्वाचनमा जुरोपानी गाविस उपाध्यक्ष निर्वाचित भुँडेसिमलका नगेन्द्र राजवंशी यो क्षेत्र कहिल्यै लिम्बूवान नभएको बताउँछन्। “जातको नाममा राज्य नबनोस्, तर यति स्वीकारियोस् कि प्राचीनकालदेखि नै यो क्षेत्र हाम्रो थियो”, पूर्व गाविस उपाध्यक्ष राजवंशी भन्छन्, “हामी यो क्षेत्रका आदिवासी हौं।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>