रमझमशुक्रबार, फाल्गुण ८, २०७१
प्रस्तरकलाका असली प्रतिनिधि
ढुँगामा मूर्ति कुँद्ने चौथो पुस्ताका जयराज बज्राचार्य (३८) अहिले ११ वर्षीया छोरीलाई यो कला सिकाइरहेका छन्।
बुवा र हजुरबुवाले ढुंगा कुँद्दै गरेको आवाजले जयराज बज्राचार्यको आँखा खुल्थ्यो। तर, शिल्पी परिवारमा हुर्किएका जयराजले १५ वर्षमा मात्रै पहिलोपटक छिनो समाउन पाए।
२१ वर्षको हुँदा त्यही छिनो उनको व्यवसायको साथी बन्यो। जयराज (३८) अहिले ११ वर्षीया छोरीलाई छिनो चलाउन सिकाउँदै छन्।
“मेरा बराजुदेखि छोरीसम्मका पाँच पुस्ता ढुंगा कुँद्ने व्यवसायमा छौं”, काठमाडौंको बबरमहल रिभिजिटेडस्थित आफ्नै शोरुममा भेटिएका जयराम भन्छन्।
जयरामका दुईतिहाइ ग्राहक विदेशी छन्। सन् १९९७ मा २३औं ओशाका अन्तर्राष्ट्रिय व्यापार मेलामा पहिलोपटक सहभागी भएपछि उनी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेका हुन्।
त्यसबेलाको ‘एक्सपोजर’ ले उनलाई नयाँ प्रविधि र आकृतिबारे जान्न प्रोत्साहित गर्यो। २००१ मा पेरिस मेला (फोइर डी पेरिस) बाट फर्केपछि उनले नवशास्त्रीय कलाकार इन्ग्रेसको सम्झनामा जार समाएकी महिलाका दुई वटा मूर्ति पनि बनाए।
जयराज अमेरिका पुगेका बेला एयर चिसेल चलाउन पनि सिके। “तर फिनिसिङका लागि भने परम्परागत नेपाली छिनो नै प्रयोग गर्छुु”, उनी भन्छन्। उनले भर्खरै प्रस्तरमूर्तिको थ्रीडी इमेज बनाउने सफ्टवेयर प्रयोग गर्न पनि शुरु गरेका छन्।
प्रस्तरकलाका कलाकार घट्दै गएकोमा जयराम चिन्तित छन्। यसका लागि निःशुल्क तालीम दिइरहेका उनी भन्छन्, “संस्कृति जीवन्त राख्नका लागि तालीम दिइरहेको हुँ।” उनको प्रशिक्षण पाउनेमा नेपालीका साथै जापानी, जर्मन, अमेरिकी, इटाली र फ्रान्सेली समेत छन्।
अहिले जयराम पाटन ग्वार्कोस्थित वर्कशपमा मनास्लुस्थित नामरुङ गुम्बाका लागि १० मिटर अग्लो गुरु रिम्पोछेको मूर्ति बनाउन व्यस्त छन्।
स्टेफेन हुएट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
