थप समाचारशुक्रबार, फाल्गुण ८, २०७१
सिमरामा तनाव, राजमार्ग अवरुद्ध
बाराको सिमरामा सेवा केन्द्र स्थापना गर्ने सरकारको अघिल्लो निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलित स्थानीय र प्रहरीबीच झडप भएको छ ।
८ माघ विहान आन्दोलनकारीले सिमरामा गरिरहेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै केही बेर यातायात संचालन गराउने प्रयास गरे पनि आन्दोलनकारीले पुनः सडक आफ्नो नियन्त्रणमा लिंदै अवरुद्ध पारेका छन् ।
कलैयाका व्यापारीहरुको दबाबमा सरकारले सिमरामा सेवा केन्द्र स्थापनाको निर्णय स्थगन गरेको विरोधमा एक सातादेखि संघर्षमा उत्रिएका सिमरा र आसपासका १२ गाविसका वासिन्दाले ८ फागुनदेखि आमहड्ताल घोषणा गर्दै यातायात र बजार ठप्प पारेका छन् ।
प्रहरीले आन्दोलनकारीलाई राजमार्गबाट हटाएर केही बेर यातायात संचालन गरे पनि उनीहरुले वीरगञ्ज–पथलैया सड्क खण्ड आफ्नों कब्जामा लिएका छन् ।
आन्दोलनकारी राजमार्गमा उत्रिएपछि सिमराको स्थिती अहिले तनावपूर्ण बनेको छ । बिहानैंदेखि सिमरा, पथलैया, निजगढमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
यसैबीच आठ जना प्रदर्शनकारीलाइ प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखेको छ ।
आन्दोलनकारीले पथलैयामा यातायात ठप्प पारेपछि पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधन र यात्रु बीचमै अलपत्र परेका छन् । यद्यपी प्रहरीले बल प्रयोग गर्दै यातायात संचालन गर्ने प्रयास गरिरहेको छ ।
स्थानीय नागरिकलाई पायक पर्ने स्थानबाटै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र स्थापनाको निर्णय भए पनि सेवाग्राहीको अत्यधिक घुइँचो हुने मालपोत नापी, भूमिसुधार जस्ता कार्यालय सिमरामा स्थापना गर्न नहुने भन्दै कलैयामा एक सातासम्म आन्दोलन भएको थियो । उक्त आन्दोलनको दबाबमा सरकारले सिमरामा सेवा केन्द्र स्थापनाको निर्णय स्थगित गरेको थियो ।
सिमरामा सेवा केन्द्र स्थापना भएमा त्यसक्षेत्रका वासिन्दा कलैया नआउने र कलैयाको व्यवसाय सुक्ने डरले कलैया उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाले आन्दोलन गरेका थिए ।
सरकारले मालपोत, नापी र भूमिसुधार लगायतका कार्यालय सहितको सेवा केन्द्र सिमरामा स्थापना गर्ने निर्णय ३० असोजमा गरेको थियो । उक्त निर्णयबाट जिल्लाको उत्तरी भेगमा पर्ने पिप्रासिमरा, भवानीपुर जीतपुर, डुमरवाना, निजगढ, मनहर्वा, फत्तेपुर, छातापिप्रा, लिपनीमाल, इनर्वासिरा, रामपुर टोकनी, अमलेखगंज र बुनियाद गाविसका वासिन्दा स–साना कामका लागि पनि सदरमुकाम कलैया पुग्नुपर्ने वाध्यतबाट छुटकारा पाइने भन्दै हर्षित भएका थिए ।
तर कलैयामा भएको आन्दोलनको दबाबमा सरकारले निर्णय फिर्ता लिएपछि सिमरा र आसपासका जनताले आन्दोलन थालेका हुन् ।
श्याम गुप्ता, बारा