थप समाचारशुक्रबार, फाल्गुण ८, २०७१
मोदीको सुट ४ करोड ३१ लाखमा लिलाम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चित र विवादित बन्द गलाको सुट ४ करोड ३१ लाख भारुमा लिलाम विक्री भएको छ ।
उक्त सुट मोदीको गृहनगर गुजारतको सूरतका हीरा व्यापारी धर्मानन्द डायमन्डसका हितेश पटेलले लिलाम बढाबढ गरी खरिद गरेका हुन् ।
मोदीले प्राप्त गरेका अन्य उपहारका साथ प्रदर्शनीमा राखिएको उक्त सुटका लागि ५ करोड भारुको बोली लागेको भए पनि लिलामीको समय सक्किएको भन्दै हितेश पटेलको बोलीलाई अन्तिम मानिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तीन दिने प्रदर्शनीमा राखिएको उक्त सुटका लागि शुरुकै दिन देखि बढाबढ भइरहेको थियो । गाढा निलो रंगको उक्त सुटमा सुनौला धागोले नरेन्द्र दामोदर दास मोदी लेखिएका धर्काहरु छन् । सुट विक्रीबाट आएको रकम गंगा नदी सफाई अभियानमा उपयोग गरिनेछ ।
अमेरिकी राष्ट्रपति बराक ओबामा भारत आएका बेला मोदीले लगाएको उक्त सुटको लागत १० लाख रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदीले निकै महंगो सुट लगाएर अभिजात्य बन्न खोजेको भन्दै भारतमा आलोचना पनि भएको थियो । विपक्षी कांग्रेसले मोदीले महंगो सुट उपहारमा लिएर आचारसंहिताको उल्लंघन गरेको आरोप लगाएको थियो ।
उक्त सुट मोदीलाई गुजराती व्यापारी रमेश भिकाभाई विरानीले आफ्नो छोराको विहेको अवसरमा उपहार दिएका थिए ।