थप समाचारशुक्रबार, फाल्गुण ८, २०७१
नीतीश कुमार फेरि बिहारको मुख्यमन्त्री बन्दै
भारतको बिहारका पूर्व मुख्यमन्त्री नीतीश कुमारले १० फागुनमा फेरि मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् ।
बिहारका मुख्यमन्त्री जीतनराम माझीले ८ फागुनमा राजीनामा गरेपछि नीतश पुनः मुख्यमन्त्री बन्ने भएका हुन् । लोकसभा निर्वाचनमा आफूले पराजय ब्यहोरेपछि विहारका तत्कालीन मुख्यमन्त्री नीतीश कुमारले नैतिकताका आधारमा राजीनामा गरी जीतनराम माझीलाई मुख्यमन्त्री बनाएका थिए ।
पछिल्लो समय माझी भारतीय जनता पार्टीसँग नजिकिंदै नीतीशकुमार विरुद्ध अभिव्यक्ति दिन थालेपछि पार्टीले उनलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न भनेको थियो भने माझीले विपक्षीको सहयोगमा मुख्यमन्त्री पदमा टिकिरहने आशय व्यक्त गरेका थिए ।
तर उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपछि प्रस्तावको सामना गर्नुअघि नै माझीले राजीनामा गरेका हुन् ।
अहिले नीतीशलाई उनको दल जनता दल युनाइटेडका अतिरिक्त राष्ट्रिय जनता दल, कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी र निर्दलीय विधायकले समर्थन दिने घोषणा गरेका छन् ।