ब्लगशनिबार, फाल्गुण ९, २०७१
जङ्गपुत्रको अवसान

वीरशमशेर।
३८ साल पर्वमा सफल भएपछि धीरशमशेरले आफन्तहरूलाई ‘जसको तरबार, उसको दरबार’ भन्न थालेका थिए।
जङ्गबहादुर राणाले राजारानीकै आडमा पुराना भारदारहरूलाई कोतपर्वमा एकै घान पारी सत्ता हत्याएर आफूलाई झन्डै राजाकै हाराहारीमा पुर्याए।
मध्यकालमा राजाभन्दा मुनि सामन्तभन्दा माथिको ‘राणक’ भन्ने पद थियो। त्यही पद वा नाम लिएर उदयपुर (भारत) मा महाराणा प्रताप भएका थिए। त्यसैको अनुकरण वा वंशज भएको सिद्ध गरेर जङ्गबहादुर श्री ३ महाराज जंगबहादुर राणा बने।
जंग सत्तामा आए उप्रान्त उनका उपर अनेक दगावाजी पनि भए, तर सबैलाई पन्साएर ३० वर्ष अकण्टक राजकाज चलाए। उनको अन्तिम अवस्थासम्म पनि दगा हुन छाडेको थिएन।
आफूलाई सिद्ध औतारी भन्ने लखन थापा र बौद्ध बादशाह हुँ भन्ने सुपति गुरुङ्गले धार्मिकजनलाई उरालेर राणा राज्य समाप्त पार्न संघटन जमाएका थिए। यसको सुराक पाएपछि जङ्गले तिनलाई पक्रेर ल्याउन पल्टन पठाए।
त्यसरी समातिएका सिद्ध लखन थापा मगरले सहयोगीहरूका साथ प्राणदण्ड पाए। सुपति गुरुङ्ग चाहिं गोरखाबाट भागेर बेपत्ता भए। पक्राउ परेका उनका सहयोगी शुकदेव जेलमा हालिए। उनी जङ्ग वितेको डेढ महीना जति पछि जेलैमा मरे (हे. नेपाल निरुपण)।
त्यति विधि दगा आइलागे पनि सबैलाई पन्साएर जंग जोगिइरहे अनि आखिरमा कालगतिले नै मरे। कोतपर्वमा मारिएका भारदारहरूका सन्तान पनि जङ्गका वापवैरी थिए। अधिकार खोसिएका राजाका छोराको संघटन पनि राणा समाप्त पार्नेमै थियो।
युवराज त्रैलोक्य पहिल्यै मारिएका हुनाले यस संघटनमा नरेन्द्रविक्रम शाह थिए। त्यसको सुईंको पाएका हुनाले त्यसबेला जाज्वल्यमान धीरशमशेरले एकएक गरेर काट्न लाए, कति भागे, कति थुनिए (३८ साल पर्व)। जङ्गका कान्छा भाइ धीरशमशेर सम्पत्तिले भरिपूर्ण नभए पनि सत्र भाइ छोराका धनी थिए। त्यही बलमा उनले ‘३८ साल पर्व’ मच्चाए।
धीरशमशेर चाँडै बित्दा पहिले त अतालिएका वीरशमशेर लगायतका छोराहरू विस्तारै सम्हालिए, बाबुको वाणी सम्झेर सुरिए।
जङ्गका छोराहरू भने सम्पत्ति सुख र मोजमस्तीमा रमाएका हुनाले मर्ने–मार्नेमा अघि सर्ने साहस गर्दैनथे। अभावमै बढेका, दुःख भोगेका धीरका सन्तानलाई बाबुको बर्खान्तसम्म पर्खन पनि धौ–धौ पर्यो।
मौकाको ताकमा रहेका उनीहरूले शस्त्र–सैनिक पाउनासाथ दरबारमै पसेर पहिले प्राइममिनिस्टर र त्यसपछि जङ्ग सन्ततिलाई सिध्याए। जगतजङ्ग निवासमै मारिए। नाति जर्नेल भनिने उनका छोरा पनि मारिए। जीतजङ्ग, रणवीर जङ्ग, पद्मजङ्ग, अमरजङ्ग, ध्वजनरसिंहहरू लैनको रेजिडेन्सीमा शरण परेकाले बचे।
ब्रिटिश सरकार दाहिना भएको र आफू विजय बनेकाले वीरशमशेरलाई सत्ता–शक्तिको सिंढी सजिलो भयो। जङ्गकै छोरीहरू रानीहरू थिए, तर राजमाता चाहिं वीरशमशेरसँग मिलेकी थिइन्। राजा (पृथ्वीविक्रम) नाबालक हुँदा दरबारमा उनकै हालिमुहाली थियो।
जेठी रानी आफ्ना दाजु (जगतजंग) को पक्षमा भएकीले निकालिनु पर्यो। बाँचेर भागेका जङ्गपुत्रहरूले तराईमा विद्रोह उठाएर अड्डाहरू कब्जा गर्न लागे। दबाउन सरकारी सैन्य आएपछि निर्वासित जङ्ग सन्ततिले झन् सास्ती पाए।
निर्वासित रानीले बेलायतसम्म आफ्नो दुःख–पीडा बिसाइन्। विलियम डिग्बी नामका अंग्रेजले किताबै लेखेर यिनको दुःख–दर्दलाई देश–विदेश पुर्याए। यसरी आफ्नो अपयश जगजाहेर हुँदा रेजिडेन्टसँग प्राइममिनिस्टर वीरशमशेरले गरेका परिसंवाद यहाँ प्रस्तुत छ।
ब्रिटिश रेजिडेन्ट र प्राइममिनिस्टर वीरशमशेरबीचको परिसंवाद
हिन्दुस्थानतर्फका मानिस आई उत्पात मच्चाउँदा ४ जना पक्रेको केदारसिंहले विप्लवमा काम गरे भन्ने अखबारको झूटा कुरा र उनीहरूको परिस्थितिको कुरा
सम्बत १९४८ साल मिति कार्तिक वदी १०
रोज ४ मा श्री ३ महाराज विरसम्सेर जंग
राणाबहादुरका हजुरमा नारानहीटी दर्वारमा
रजिडन्ट कर्नेल वाईली साहेव आउदा कुरा
कहानी भयाको …
रजिडन्ट– खैराहाहरू पक्री ल्यायाको कुरामा कुमाउका कमिश्नरले साह्रै ताकिती लेखी पठायाका छन् चाँडो फैसला गरीदीन होला …
श्री ३ महाराज– ति मानिसहरूले यसतर्फ चौकीमा आई हुलडंगा गरेकोमा पक्राउ भै ४ मैन्हा कैदको म्याद भयाको मीयाद गुजर्दा छुटीसके …
रजि– छुट्यो बढिया भयो तर तीन्हेरु पक्रीयाका ८ महिना गुजरीसके छ ४ जना मानिसले चौकीमा आइ क्या हुलडंगा हुन्छ …
श्री ३– २५।३० जनाले हुलडंगा गरेकामा मदद पुगी अरु भागी गया ई ४ जना पक्री सजाँय पायाका हुन् …
रजि– हाल केदारनरसिंका जाहानको वीषयमा छापीयाको खवर तपायीले हेर्नुभयो की …
श्री ३– सो अखवार याँहा बंगालीहरूले लीने गरेको रहेछ र झीकाइ मैले हेरे तेसमा म्युटिनीमा केदारनरसिंहले यस्तो यस्तो काम गरे भन्या इत्यादि विज्येत विलकुल वाहियात कुरा लेखेको रहेछ. मंसुखालाई उनले पक्रे भन्या इत्यादी कुरा लेखेको रेविलका सर्दारहरू जति मारीयाका र पक्रियाका सुपुर्द गर्याका हुन्.
बृगीडीयर हलडीचका रीपोटमा लेखियाकै छ. सो रीपोट तपायीबाट हेर्नु भयाको पनि छ. तेस वेलामा ता तीनी १४। १५ वर्षका उमेरका लड्का थीये …
रजि– केदारनरसिंका स्वास्नीहरूलाई परवरीस्को बंदोबस्त गरी इनीहरूको मुख टालनाले बढिया छ …
श्री ३– केदारनरसिं मरेको खवर आउंदा तीन्हेरुले यस्तो दुस्मनांगी राखेता पनि ई हाम्रै खानदान्का हुन्. अव वीधुवा भयाकी स्वास्नीमानिसले हींदुस्तानमा राखन ठीक होइन भन्या चीत्तमा लाग्दा मैले वकिलमार्फत निज केदारनरसिंका स्वास्नीहरूलाई सोधदा याँहा नेपाल आउनालाई मंजुर गरे भन्या यांहा पठाइ दीनु भनि लेखी पठायाथ्यां मंजुर गरेनन्. तीन्हेरुलाई ताहां राखी म परपरिस …
प्रसस्त दाम पनि लगेको छ. निजको यांहाको जगाजमिन जफत भयाको पनि छैन. १० हजार उठ्ने जमिन मैले विर्ता पायां भनि लेखेको यो गलत लेखेको हो.
यस्को दृस्तांतलाई आमा बाबुबाट जत्रो काम गर्नुभयाको हो. अस्ती तपायींलाई दीयाका मीसीलबाट जाहेर भयाकै छ. वाहाले १०० रुपैया उठ्ने विर्ता पायाको छैन भन्यापछि उनले विर्ता पायाका हुन होइन. तपायीले नै विचार गर्नुहोस्. यसबाहेक निजले याहाबाट जाने वेलामा मैले मेरो चलमालहरू सबै बुझीपाया भन्या लेखिदियाको कागजहरू मसंग छ. यकप्रति ताहां राजिडन्सीमा पनि हुनुपर्छ.
हेर्नुहोला. निजको जमिन लियाको आजकाल जनरल जितसम्सेर बस्याको घर तेही हो. यसको पनि लाख रुपैया जाने वेलामा मैले तीनलाई दीयाको छ …
रजि– तेस्तो हो भन्या यस्ता कुरामा चुप लागिरहनु ठीक छैन. हेर्नुहोस् अैले मैले तपायीको इल्मारीमा देखेको त्यो डीग्विले बनायाको कीताप्मा यस्तो यस्तो लेखेको छ. तपायीले हेर्नुभयाकै होला यस्ता कुरालाई कत्राडीक् (कन्ट्राडिक्ट) त नगर्या याँहादेखि बीलायतका सारा मानिसलाई इ कुरा सांचै हुन् भन्या पर्न जान्छ …
श्री ३– यकफेरा कत्राडीक् त गरुला. यस्तै अरु अरुले पनि मामला उठाउदै रहला. कत्राडीक् गरीरहनु र मचाहंन. जो साँचो कुरो तपायी र गवरमेन्टमा जाहेर भया भैगयो …
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
