समाचारमंगलबार, कार्तिक ७, २०६९
दशैं, धान र किसान
पश्चिम र मध्यपश्चिमका किसानलाई दशैंकै बेलामा धान भित्र्याउनु परेपछि भ्याइनभ्याई भएको छ । यतिबेला धान पाकेर खेत पहेंलपुर छ, धान अहिले नै नभित्र्याउने हो भने खेतमा मुसा, चराले नोक्सान पार्ने त छँदैछ, बढी पाक्यो भने खेतमै झर्न थाल्छ ।
खेतमा धान काट्ने, खलिहानमा दाईं गर्नेदेखि घरमा भित्र्याउनेसम्मको चटारोले दशैंको पूजाआजा र रमाइलोका साथै धानको राखनधरनका लागि समय मिलाउनु कम्ता धौ धौ छैन । चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया लगायत पश्चिम र मध्यपश्चिमका जिल्लाहरुका साथै तराईका अधिकांश भेगका किसानहरुलाई धानको यो राखनधरन र दशैंको चटारो एकैपटक लागेपछि भ्याईनभ्याई भएको हो ।
यसैबेला असिना पर्यो भने खेतमै धान सखाप हुन्छ, पानीमात्रै परेर धान भिज्यो भने गुणस्तर घटेर भाउ कम पर्न जान्छ । चितवनमा त फौजी किराले पनि धानबालीमा नोक्सान पुर्याउन थालेको छ । कतिपय किसानहरु दशैंको पूजा, परम्परा बिहानै सकेर साँझसम्म खेतमै व्यस्त देखिन्छन् । धान काटे लगत्तै खेतमा गहुँ र प्याजलगायतका नगदे बाली लगाउनु पर्ने भएकाले माटोको चिस्यान सुक्छ की भन्ने डरले पनि किसानहरु अहिले दशैंको रमाइलो खेत खलिहानमै गर्न व्यस्त छन् ।
सँधैको चटारो
नेपालमा अधिकांश किसानहरुको मूख्य बाली नै धान हो । कृषि विभागका अनुसार नेपालमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुन्छ । त्यसैगरी अधिकांश नेपालीहरुको प्रमुख चाड पनि दशैं नै हो ।
परम्परागत कृषि प्रणालीमा आधारित हाम्रा किसानहरुको धान भित्र्याउने समय र दशैं संधै जसो एकै समयमा पर्छ । दशैं अलिक पहिले भयो भने दशैं मानेर धान थन्काउन थोरै समय पाइन्छ । तर, धान काटेपछि माटोको चिस्यान बाँकी छँदै गहुँ छर्नु पर्ने, प्याज आलु जस्ता बाली लगाउनु पर्ने चटारो भने उस्तै रहन्छ ।
धान र दशैं
दशैं मान्ने सबै नेपालीले दशैंको टिकामा अनिवार्य प्रयोग गर्ने अक्षता चामलकै हुन्छ । खेतमा झपक्कै बाला लागेको धानले सन्तुष्ट भएका किसानहरुको निधार मान्यजनको आशिषसँगै चामलका अक्षताले ढाकिएको हुन्छ । दशैंमा आवश्यक सेल रोटी चामलकै पिठोको बन्छ । फिनी रोटी पकाउँदा गहुँको मुछेको पिठोमा केहीमात्रा चामलकै पिठोको हुन्छ । दशैंमा हुनेखाने र हुँदाखाने दुवैथरीले मासुको झोलसँग खाने उही भात नै हो ।
खाद्यान्न संकट हुने नेपालको मध्य र सुदुरपश्चिमका पहाडी क्षेत्रमा पनि तराईबाट बेसाहा गरेर ल्याएको वा खाद्य संस्थानले महंगोमा उपलब्ध गराएको चामलको अक्षता नै चाहिन्छ । हिमाली क्षेत्रमा पनि दशैं मान्नेहरुले मासुको झोलमा मुछेर भात नै खान्छन् । धान फलेको खेत (कतिपय ठाउँमा भित्र्याएर भकारीमा राखेको धानले) अनिकाल हटेको संकेत गर्छ । त्यसैले चामलका पकवान बेसगरी बनाइन्छ ।
पहेंलपुर खेत, जोतिएका बारी, गाउँको धुले सडकमा परालका त्यान्द्रा र भूससँगै आएको एकखाले बासनाले दशैंको अनुभूति दिन्छ । सिंचाईको व्यवस्था भएको र आकाशे पानीको भर पर्नु नपर्ने स्थानहरुमा केही अघि रोपिएको धान असोजको शुरु तिरै काट्न सकिन्छ । नयाँ धानको चामलबाट जाँड बनाएर दशैंमा रमाइलो गर्ने कृषि नै मूख्य पेशा भएका तराई र भित्रीमधेशका थारु जातिको पूरानो प्रचलन हो । चामलको पिठो बफ्उँदै बनाइने ढिक्री र अन्दीको ठोकनी त दाङ् बाँके बर्दीया, कैलालीका थारु बहुल इलाकाको दशैंमा अनिवार्य मिठो पकवान हो । भोजका सौखिन थारुहरुसँगै गैर थारुहरु पनि दशैंको यो पकवान खान उत्तिकै रहरले सरिक हुन्छन् ।
दशैंका बेला एकभारी दाउरा, मचिया (बस्ने सानो मेच) र गुन्द्री बोकेर ससुराली आएको ज्वाईं र उसको साथीलाई दिउरार कुन्टी (भित्री कोठा) मा राखेर घोंघी, माछा र चामलको ढिक्री ख्वाउने थारु परम्परामा धान र दशैं अन्योन्याश्रित सम्बन्धमा रहन्छन् । यद्दपी अचेल यो परम्परा हराउँदै गएको छ । मचियाको ठाउँ प्लास्टिकका सर्वसुलभ कुर्सीले लिन थालेको छ तर पनि ढिक्री र भात त अँझै पनि अनिवार्य नै हो ।
अचेल शहरमुखी बन्दै गएको नेपालको ठूलो जनसंख्या गाउँको यो रमाइलोबाट वञ्चित हुँदै गएको छ । कतिपय बालबालिकालाई चामल कहाँबाट आउँछ भन्ने प्रश्न गर्यो भने पसलबाट भन्ने जवाफ पाइने गरेको छ । दशैं र धानको यो सम्बन्ध बुझ्न र बुझाउन दशैंका बेला गाउँ पुग्नै पर्ने हुन्छ । तर बिडम्बना दशबर्ष लामो माओवादी हिंसाको असर र बाछिटाले नेपालका मध्य र सुदुरपश्चिमका अधिकांश गाउँहरुको स्वरुप परिवर्तन भएको छ । लामो हिंसाले परम्परा र सद्भाव विथोलिएको, राज्यको बेवास्ताले निन्याउरो भएको गाउँ अहिले शहरमा बसी पढेलेखेका आफन्तलाइ पर्खिबसेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
