ब्लगसोमबार, फाल्गुण ११, २०७१
संघीयता किन ?
कुनै कुरा शुरु गर्नु अगाडि किन शुरु गर्ने भन्ने प्रश्न आउँछ । ‘किन’ले सही उत्तर पाएपछि मात्र ‘कसरी’ले उपाय खोज्न थाल्छ । ‘किन’ले उत्तर पाएन भने ‘कसरी’ स्वतः प्राणहिन हुन्छ ।
जर्मन दार्शनिक फ्रेडरिक विल्हेम नित्से (१८४४–१९००) ले त्यसै भनेका हैनन्– ‘किन भन्ने जानियो भने, कसरी भनेर बाँच्न पनि जानिन्छ ।’
‘किन र कसरी’लाई यदि कुनै रोगसँग तुलना गरेर हेर्ने हो भने रोग दबाएर हुँदैन, उपचार गरेर निको पार्नु पर्छ । तब मात्र मान्छे स्वस्थ हुन्छ ।
त्यस्तै अर्कालाई बुझाउन नसक्नु भनेको आफूले नबुझ्नु पनि हो । आफूसँग कति ज्ञान छ भन्ने ज्ञानको अज्ञानता पनि हो । तर बुझ्नु र बुझाउनुभित्र कुटिलताले गुँड लगाएको छ भने बुझेकोले नबुझे जस्तो गर्छ । अरुलाई बुझाउँदा गलत तरिकाले बुझाउँछ ।
अहिले संविधानको हलो संघीयताले अडाएको छ । किन ?
देशले संविधान किन पाएन भनेर सोध्दा उत्तर व्यक्तिपिच्छे फरक छ । यसको अर्थ देशको राजनीतिले असल शिक्षक पाएको छैन । जसलाई राजनीतिकै भाषामा नेता भनिन्छ । के साँच्चै देश नेताबिहिन छ त ? किन ?
यदि नेता हुन्थे र थाह हुन्थ्यो भने सबैबाट उस्तै उत्तर आउँथ्यो तर, यो प्रश्न दिन–प्रतिदिन पेचिलो बन्दै गएको छ । किन ?
कारण समान्य छ– संघीयता ‘किन’ भन्ने सबैभन्दा पहिलो प्रश्नको उत्तर नै खोजिएन । संघीयताका बारेमा बहस–छलफल, क्रिया–अन्तरक्रिया केही भएन । आवश्यकता, औचित्य र सम्भाव्यता तथा विकल्पहरुको खोजी गरिएन । विज्ञहरुको राय, सल्लाह, सुझाव लिइएन । किन ? किन ‘किन’ भन्ने प्रश्नलाई दबाइयो ।
अहिले त्यही ‘किन’ भित्रभित्रै पाकेर बल्झिदैछ । ‘किन’ले उत्तर नपाएपछि ‘कसरी’ले उपाय निकाल्न सकेन । संविधान बनेन ।
उपचार शुरु नै नगरी कोमामा कोचिएको ‘किन ?’ ले अहिले अर्को प्रश्न उमारेको छ– संघीयताका सैद्धान्तिक आधार के ? किन खोजिएन ?
नयाँ नेपालकालागि नयाँ संविधान बनाउन छानिएका ६०१ मध्ये कतिले बुझेका छन– संघीयता ? र, कतिले बुझाएका छन् जनतालाई ?
हामी कस्तो संघीयता चाहन्छौ ? कति र कस्ताकस्ता छन् संघीयताका मोडल ? हाम्रो देशको आकार, आयतन, आय र जातीय विविधता, सामाजिक सद्भाव, सँस्कृति र परम्पराका लागि कस्तो संघीयता आवश्यक छ ? वा छ कि छैन ? किन मौन छन् यी प्रश्न ?
भारत र पाकिस्तानको संघीयता फरक छ । अमेरिका र अष्ट्रेलियामा फरक फरक संघीयता छन् । यीभन्दा स्विट्जरल्याण्ड र बेल्जियमको फरक छ । १५ प्रान्तमा टुक्रिएको युरोपको एक सानो देश बेल्जियम अहिले किन संघीयताबाट फर्किन खोज्दैछ ? किन ?
विश्वका २५७ देशमध्ये किन २७ मा मात्र संघीयता छ ? किन ?
यी मध्ये सफल, असफल कति छन् ? सफलताका कारण के हुन् ? असफतलाका के हुन् ? यी २७ सँग हाम्रा समानता र असमानताहरु के के छन् ? हामी सफल हुन सक्ने र नसक्ने आधार र तथ्यहरु के के हुन सक्छन् ? खोजिएन, किन ?
भोलि संघीयतालाई धान्ने आर्थिक स्रोत के हो ? कति राज्य बनाए अनुमानित प्रशानिक खर्च कति हुन्छ ? त्यस्तो संघीयता धान्न सकिन्छ कि सकिंदैन ? जवाफ छैन, किन ?
राजनीतिक समस्या ढिलोचाँडो समाधान हुन सक्छन् तर, जातीय र धार्मिक अन्धतालाई राजनीति बनाइयो भने समाधान नपाउन सकिन्छ । कथित जातीय र वर्गीय मुक्ति तथा धार्मिक नारा दिएर नेपालीलाई जातजाति, धर्म र क्षेत्रमा विभाजन गरेर नेपाल कतै गृहयुद्धमा त धकेलिदैन ? सोचिएको छैन, किन ?
संघीयताको असफतलासँग जोडिएका जातीय, क्षेत्रीय र धार्मिक कलहले कङ्गो, बुरुण्डी, सोमालिया, इथियोपिया, नाइजेरिया, रुवाण्डा, सुडान, अफगानिस्तान, इराक, सिरियालाई कहाँ पुर्याएको छ ? हामीमा त्यो दर्दनाक नियतीको प्रवेश हुन सक्ने, नसक्ने कारणहरु के के हुन सक्छन् ? त्यहाँ कसरी भयो ? छैन खोजिनीति, किन ?
ती देशमा जातीय, क्षेत्रीय र धार्मिक युद्धका कारण करोडौं मानिसको हत्या भै सकेको छ । जाति र धर्मका नाउँमा जिउँदै जलाउनेदेखि खसीबोका काटे जसरी मान्छेका घाँटी छिमल्ने र रेट्ने काम भएका छन् । संघीयताका नाउँमा जातीय र धार्मिक कारणले भएको मानव विनासका दुःखद कथालाई खै कतिले अध्ययन गरेका छन् ?
आफूलाई हैन, देश र जनतालाई केन्द्रमा राखेर हर्ने हो भने संघीयताको आवश्यकता र ढाँचा के हो ? खै यी सबैको बारेमा लेखाजोखा ? खै बहस, चर्चा, छलफल ? खै जनतालाई जानकारी ? ६०१ सभासद्हरुले कति बुझेका छन् यी कुरा ? हौवा र भावनामा बगेर भविष्य निर्धारण गर्नु भनेको आत्मघातलाई आत्मसात गर्नु हो कि हैन ?
जातीय भेदभाव समाप्त हुनु पर्छ भन्ने फेरि जातीय राज्य भन्ने ? खै यसमा छलफल ?
मान्छेको पहिचान जात हो कि मानवता ? २१ औं शताब्दीमा राज्यलाई जात, धर्म र क्षेत्रका आधारमा भागवण्डा गर्दा मान्छेको पहिचान बाँकी रहला कि नरहला ?
एउटा जातिका नाउँमा एउटा राज्यको नामाकारण गरियो भने बाँकी जातिको पहिचान के हुन्छ ? मानौ काठमाण्डौं खाल्डोलाई नेवा राज्य बनाइयो, भोलि त्यहीं अर्को जातिले अर्को राज्य माग्दै मान्छे गिंड्न थाल्यो भने के गर्ने ? नेपालमा अहिले १४० भाषा बोल्ने १२४ जातजाति छन् ।
उदाहरणका लागि अरु जातिलाई राज्य दिंदा राउटे, मुसहर, बाँतर, धिमालले किन नपाउने ? यसको सौद्धान्तिक आधार के ? कुनै पनि राज्य जात, धर्म, क्षेत्र र सँस्कृतिको पक्षपाती हुनु हुन्छ कि हुदैन ? विभेद त्यहींबाट शुरु हुन्छ कि हुदैन ? खै ज्ञानचक्षुको प्रयोग ?
जनताले बुझ्ने गरी संघीयताका विषयवस्तु र परिभाषा किन कसैले दिएनन् ? किन ? नदिनुको कारण नबुझेको, नजानेको हो कि अरु केही हो ? कि आफूले नबुझे पछि अरुलाई बुझाउन नसकेको हो ? कि बुझीबुझी कुटिलतापूर्वक गलत तरिकाले बुझाइएको हो ?
संघीयतालाई किन व्यक्तिपिच्छे आफ्नै अनुकुल उरालिएको छ ?
जातीयताको ‘फण्डा’ लाई एमाओवादी समेतले अजेण्डा किन बनाएको छ ? राजेन्द्र महतोहरु, जो दोस्रो संविधानसभाको निर्वाचनमा आफूले बेहोरेको हारलाई भारतको हार भन्छन् तीसँग एमाओवादीको गर्धन जोडिनुले के संकेत गर्छ ? कमरेड पुष्पकमल दाहालका बारेमा त थाह छैन तर डाक्टर कमरेड बाबुराम भट्टराईलाई त्यसो गर्न कुन विवेकले दियो ?
‘विदेशी शक्तिहरुको फोन आइरहन्छ, हामीप्रति उनीहरु आश्वस्त छन्’ भन्ने जस्ता अभिव्यक्ति दिदै किन हिंडेका छन् दाहाल ? यसको अर्थ के ?
लाठी देखाएर जातीय राज्य घोषणा गराउने बलमिच्याइँ एमाओवादीको सैद्धान्तिक विचलन मात्र हैन वैचारिक स्खलन हो कि होइन ? हुन त माओवादभित्र जातिवाद घुसाउनु भनेको हात्तीका कोखमा गधाको गर्भ भने जस्तै हो ।
संघीयता भनेको बहकाउ हैन, आवेग हैन । संघीयतालाई कुनै पनि दलले दलीय राजनीतिको तुरुप सम्झिनु महामूर्खता हुने छ ।
संघीयता ‘किन’ भन्ने प्रश्नको सही उत्तर खोजे मात्र ‘कसरी’को आधार पनि भेट्न सकिने सम्भावना हुन्छ । समय अझै छ ।
अस्तित्ववादी लेखक अल्वर्ट कामु (१९१३ अल्जेरिया–१९६० फ्रान्स)ले भनेका छन्– मान्छेले मर्नभन्दा बाँच्नकै लागि बढी साहस गर्नु पर्छ । तर एमाओवादी बाँच्न डराइरहेछ । कारण– संघीयता ‘किन’ भन्ने प्रश्नको उत्तर नखोजी उसले संघीयता र संघीयताभित्र पनि जातीयतालाई तुरुपका रुपमा प्रयोग गरेर ‘कसरी’लाई उसले यी ‘यसरी’ भनेर लाठीमुङ्ग्री देखाउन थालेको छ । ती लाठीमुङ्ग्री भोलि उसैमाथि बज्रिनेछन् ।
यहाँ संघीयताको बिरोध हैन, एक सार्वभौम नागरिकाका हैसियतले आवश्यकता र औचित्यको खोजी हो ।
‘किन’ भन्ने प्रश्नलाई अझै दबाइयो भने भोलि यो घाउ झन् पिलिएर ‘ब्रष्ट’ हुन सक्छ । त्यतिबेला पीपको महानदीमा को को बग्छ थाह छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
